
२३ भदौ, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको पार्टी पुनर्निर्माण अभियान देशभर उत्साहपूर्ण रुपमा अघि बढिरहेको दाबी गरेका छन् ।
सशस्त्र जनयुद्धमा ज्यान गुमाएका तत्कालिन नेकपा माओवादीका पोलिट्ब्यूरो सदस्य सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोरखा आएका उनले वाइसीएलको कार्यक्रममा परिवर्तनको उपलब्धी रक्षा गर्न माओवादी सक्षम हुनुपर्ने बताए ।
‘अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ । अभियान देश भर उत्साहपूर्ण ढंगले अगाडि बढेको छ । यो अभियानमा संलग्न पार्टीका नेता कार्यकर्तालाई शुभकामना दिन चाहन्छु । ठूलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न प्रहरी यो अभियान सफल पार्न जरुरी छ’, उनले भने ।
प्रधानमन्त्री प्रचण्डले जनताको काम गर्ने एकमात्र पार्टी माओवादी हो भन्ने स्थापित गर्नुपर्ने पनि बताए । सरकारको नेतृत्वलाई आफूले चुनौतीपूर्ण अवसरको रुपमा लिएको भन्दै उनले सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रका श्रमिकको आवद्धता, राहदानी र सवारीचालक अनुमतिपत्र लिन लाग्ने लाइन हटाउने र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तनको सुरुवात गरिएको पनि दाबी गरे ।
भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भएपनि भष्ट्राचारमा रमाउनेहरू अत्तालिएको प्रधानमन्त्री प्रचण्डले बताए । उनले बूढीगण्डकी जलविद्युत आयोजनाको काम सुरुवात गरिएको, कर्णाली चिसापानी जस्तो गेम चेन्जर आयोजना सुरूवात गरिएको पनि दाबी गरे । छिट्टै चीन भ्रमण जान लागेको बताउँदै उनले नेपालको विकास र देशको उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका एजेन्डामा छलफल हुने बताए ।
प्रतिक्रिया 4