+
+

कोशीमा कांग्रेस र एमाले मिल्नु सबैभन्दा राम्रो : राजेन्द्र लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २३ गते १८:२६

२३ भदौ, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशीमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन सुझाव दिएका छन् ।

प्रदेश आफूहरुको प्राथमिकताको विषय नै नभएको भन्दै उनले अहिलेको व्यवस्थाका संस्थापकहरु नै मिलेर सरकार बनाउनु उचित हुने बताएका हुन् ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘सबैभन्दा पहिलो उपयोगी कुरा त अहिलेको व्यवस्थाको संस्थापकहरु मिलेर यो प्रदेशसभा जोगाए राम्रो, त्यो मौका अझै छ, (मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिन पाउने समय) ३० दिन, अर्को पनि धारा (सरकार गठन हुन सक्ने संविधानको धारा १६८ (५) बाँकी छ, मेरो शुभकामना छ कांग्रेस र एमाले मिल्नेछन्’ उनले भने ।

कोशीमा सत्तारुढ गठबन्धनमा रहेका दलहरु कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मिलेर उद्धव थापालाई मुख्यमन्त्री बनाए पनि दुबै पटक सर्वोच्च अदालतको आदेशमा पदमुक्त भएका छन् । उनले एक पटक सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेश गरेका कारण पदमुक्त भएका थिए भने दोस्रो पटक प्रदेशसभाको अध्यक्षता गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीको समर्थन लिएका कारण पदमुक्त भएका थिए ।

गत बिहीबार सर्वोच्च अदालतले थापाको मुख्यमन्त्री नियुक्ति बदर गर्दै ठूलो दलको संसदीय दलको नेताको हैसियतमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखका नाममा परमादेश दिएको थियो ।

सो आदेश अनुसार शुक्रबार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । तर ३० दिनभित्र विश्वासको मत लिन उनलाई पनि कठिन छ । यही परिस्थितिमा लिङ्देनले अहिलेको व्यवस्थामा संस्थापकहरु आपसमा मिलेमा सरकार गठनका लागि आफूहरुको सहयोग नै नचाहिने बताएका छन् ।

लिङ्देनको भनाइको सम्पादित अंश :

हामीले त सकेसम्म के भनेका छौं भने कांग्रेस र एमाले मिलेर सरकार बनाउनु स्थायीत्व चाहिएको हो भने ।

हाम्रो त प्रदेश प्राथमिकताको विषय नै होइन, हामीले बिद्रोहमा जानुभन्दा यो संविधानसँग सहकार्य गरेर, संविधानभित्रै बहुमत प्राप्त गरेर, संविधानको प्रावधान अनुसार नै आफ्नो मान्यता लेखाउनु उचित हुन्छ, देशले थप द्वन्द्व ब्यहोर्न सक्दैन भनेर संविधानको उपयोग गरेका हौं । त्यस अनुसार हामी केन्द्रमा पनि छौं प्रदेशसभामा पनि छौं ।

अहिले हामीले सरकारमा सामेल नहुँदा अर्थात हामी कुनै पक्षमा नलाग्दाखेरि यहाँ प्रदेशसभा नै विघटन हुन सक्ने परिस्थिति देखिन थालेको छ । तर त्यो कुनबेला हो भन्दाखेरि कांग्रेस र एमाले मिलेन भने । त्यो अवस्थामा मात्र हामी कतै लागिदिए हुन्थ्यो भन्ने कुरा हो ।

सबैभन्दा पहिलो उपयोगी कुरा त अहिलेको व्यवस्थाको संस्थापकहरु मिलेर यो प्रदेशसभा जोगाए राम्रो, त्यो मौका अझै छ, (मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिन पाउने समय) ३० दिन, अर्को पनि धारा (सरकार गठन हुन सक्ने संविधानको धारा १६८ (५) बाँकी छ, मेरो शुभकामना छ कांग्रेस र एमाले मिल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?