
बिहान लगभग ५ बजेतिर निद्राबाट आँखा खुल्दै थियो । सिरानीको नजिकै भएको मोबाइल बज्यो । यति बिहान कसले फोन गरेछ भन्दै फोन हातमा लिएँ । नम्बर परिचित नै लागे पनि ठम्याउन सकिनँ ।
‘हेलो मिस नमस्ते ! बिहान डिस्टर्ब गरें, सरी’ उताबाट आवाज सुनियो । आवाजबाट मैले उनलाई चिनिहालें र सोधें, ‘मलाई केही डिस्टर्ब भएको छैन । अहिले कस्तो छ ?’
‘मिस हजुरले हिजो राति फोन नउठाएको भए आज त मरिसकेको हुन्थें । हिजो राति हजुरलाई धन्यवाद भन्न बिर्सेछु । त्यही भएर अहिले धन्यवाद भन्नको लागि फोन गरेको । म फेरि भेटेर कुरा गर्छु’, उनले फोन राख्ने अनुमति मागिन् ।
यी शब्दले मेरो मुटुको बीचमा सियोले घोचे जस्तो भयो । फोन काटियो, यता मेरो मन पनि नराम्रोसँग काटिए जस्तो लाग्यो ।
उनले आफूले आफैंलाई मार्ने योजना बनाएकी रहिछिन् ।
कुनै पनि वेला गाह्रो भयो र मर्छु भन्ने विचार आयो भने मलाई सेयर गर्नु भनेको थिएँ । हिजो राति १२ बजे उनकोे फोन आएको थियो ।
त्यतिवेला मैले उनलाई सुनेको मात्र थिएँ । कुरा गर्दै जाँदा सहज महसुस गरेपछि केही समय कुराकानी गरेर भेटघाट सकिएको थियो । उनलाई सुनेको कारण नयाँ जीवन पाइन् । कामको सिलसिलामा यस्ता थुप्रै अनुभव सँगालेकी छु ।
मान्छे सबैभन्दा डराउने मृत्युसँग हो तर त्यही मृत्यु अँगाल्न बाध्य भएर आफ्नो जीवन समाप्त गरेका प्रशस्तै उदाहरण छन् । अहिलेको अवस्थामा झन् आत्महत्याको दर बढिरहेको पाइन्छ ।
आत्महत्या के हो ?
कुनै व्यक्तिले आफ्नो जीवन सक्नु वा आफूले आफूलाई मार्नु आत्महत्या हो । साधारण भाषामा व्यक्तिको दैनिक जीवनमा सामान्य कार्य कम हुँदै जाँदा आत्महत्या गर्ने डर हुन्छ । जब कुनै न कुनै कुराले जीवनलाई तनावग्रस्त बनाउँछ, त्यसलाई व्यवस्थापन गर्न नसक्दा आत्महत्याको जोखिम बढ्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष ७ लाख भन्दा बढी मानिसले आत्महत्या गर्दछन् । यीमध्ये ७० प्रतिशत निम्न र मध्यम आयसँग सम्बन्धित रहेका व्यक्ति हुने गर्दछन् । भनिन्छ, सामान्य कारणले पनि व्यक्तिले आत्महत्या गर्न सक्ने संभावना हुन्छ । आत्महत्याको कारण व्यक्ति अनुसार फरक हुनसक्छ ।
मनोरोगसँग सम्बन्धित भएर हेर्दा प्रत्येक व्यक्तिको सोचाइ, अनुभव र बुुझाइको दायरा फरक–फरक हुने गर्दछ । हरेक मानिस व्यक्तिगत रूपले फरक हुन्छ । एक व्यक्तिलाई सामान्य लाग्ने कुरा अर्को व्यक्तिको लागि जटिल बनिरहेको हुनसक्छ ।
इमाइल दुर्खेमको आत्महत्याको सिद्धान्तमा मानिसले चार अवस्थामा आत्महत्या गर्न सक्ने संभावना औंल्याइएको छ ।
इगोस्टिक सुसाइडः एक्लै बस्ने, आफ्नो कुरा कसैसँग सेयर नगर्ने समस्या देखिन्छ । उदासीनता र अर्थहीनता निम्त्याइरहेको हुन्छ ।
अल्र्टुस्टिक सुसाइडः समाजले बनाएको परिधिले व्यक्ति बाँधिएको हुन्छ जसले व्यक्तिलाई जोखिम बढाइरहेको हुन्छ ।
अनोमिक सुसाइडः एकदम धेरै महत्वाकांक्षी व्यक्तिले आफूले आशा गरे अनुसारको परिणाम नआउँदा आत्महत्या गर्ने सम्भावना हुन्छ ।
फटालिस्टिक सुसाइडः कुनै पनि थिचोमिचो र नियन्त्रणमा रहनुपरेको अवस्थामा पनि व्यक्तिले आत्महत्या गर्न सक्ने हुन्छ ।
आत्महत्या गर्ने व्यक्तिले केही न केही संकेतहरू देखाइरहेको हुन्छ । संकेतलाई विशेष गरेर तीन वटा कुरामा हेर्न सकिन्छ ।
सोचः मर्न पाए हुन्थ्यो, बाँचेर के हुन्छ भन्ने र धेरै समय मृत्युको बारेमा सोच्ने ।
भावनाः दिक्क लाग्ने, कमजोर महसुस हुने, छटपटी, एक्लोपन र निराशा हुने ।
व्यवहारः मर्ने योजना बनाइरहेको, निरन्तर गर्ने कामहरू छोडेको, साथीभाइ, आफन्तहरू कोही कसैलाई केही हिसाब सामान भए दिने ।
माथिका संकेत देखिएका मध्ये पनि केही व्यवहार भएका व्यक्तिले आत्महत्या गर्ने जोखिम बढी हुन्छ । जस्तो डिप्रेसन, एन्जाइटी, साइकोसिस, डिसोसिएटिभ डिसअर्डर, दुव्र्यसनीबाट प्रभावित व्यक्तिहरूमा धेरै जोखिम हुन्छ भनेर भनिन्छ ।
कहिलेकाहीं डोपामाइन र सेरोटोनी हर्मोनको गडबडीले पनि आत्महत्याको लागि भूमिका खेलेको हुन्छ । यो डोपामाइन र सेरोटोनी हर्मोनले हाम्रो शरीरको धेरै कार्यमा भूमिका खेलेको हुन्छ । जसले हामीलाई खुशी, शान्त बनाउन, राम्रो महसुस गराउन र भावनात्मक रूपमा स्थिर बनाउन मद्दत गरिरहेको हुन्छ ।
कुनै परिवारमा कुनै सदस्यले विगतमा आत्महत्या गरेको इतिहास थियो भने त्यो परिवारमा अरू कोही सदस्यको लागि पनि जोखिम हुनसक्छ ।
रोकथाम
१. आत्महत्या रोक्न पारिवारिक सहयोगको ठूलो हात हुन्छ । सामाजिक सहयोग जस्तै साथी, आफन्त नातेदारहरूसँग राम्रो सम्बन्ध भयो, एकअर्काबीच सहयोग सेयर हुने वातावरणले तनाव कम हुन्छ । यसले व्यक्ति आत्महत्याको अवस्थासम्म पुग्नबाट रोकिन्छ ।
२. स्व–स्याहारको योजना बनाउने र निरन्तर अभ्यास गर्नाले पनि मानसिक रूपमा स्वस्थ रहन मद्दत गर्छ ।
३. यदि कोही तनावमा छ, केही कुराले गाह्रो परेको छ भने उसको कुरा कुनै पूर्वाग्रह विना राम्रोसँग सुन्नुपर्छ ।
४. समस्यामा रहेको व्यक्तिले के सोचिरहेको छ, विचार गर्ने, संवाद गर्ने र भावनालाई सम्मान गर्दै उसलाई बुझ्ने प्रयास गर्ने ।
५. के कुराले गाह्रो भइरहेको छ उसको कुरामा ध्यान दिने र माया, सहयोग गर्ने ।
६. मनोपरामर्शको लागि प्रोत्साहन गर्ने र सम्बन्धित ठाउँसम्म पु¥याउने ।
७. आपत्कालीन र अलि जटिल अवस्था भएमा तुरुन्त मानसिक रोग उपचार हुने अस्पताल लैजाने ।
८. निगरानीमा राख्ने र सुरक्षित महसुस गराउने ।
आत्महत्या न्यूनीकरणका लागि चाल्नुपर्ने कदम
- आत्महत्या रोकथामको लागि विभिन्नस्तरमा निरन्तर तालिम र अभिमुखीकरण चलाउनुपर्छ ।
- मानसिक स्वास्थ्यको लागि पर्याप्त बजेट छुट्याउने, राष्ट्रिय कार्ययोजना बनाउने र कार्यान्वयन गर्नुपर्छ ।
- मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर राष्ट्रिय अभियान चलाउनुपर्छ ।
- राज्यले मानसिक रोगको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ ।
- प्रत्येक स्थानीय स्तर, स्कुल, कलेज र अस्पतालमा मनोविमर्शकर्ता तथा मनोविद्को व्यवस्था गर्नुपर्छ ।
- विभिन्न स्थानमा मनोविमर्श सेवा केन्द्र र हेल्पलाइनको व्यवस्था हुनुपर्छ ।
प्रतिक्रिया 4