
काठमाडौं । चलचित्र कलाकार संघले ३५ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाइरहेको छ । पहिलो दिन शनिबार उद्घाटन सत्रसँगै सम्मान, मानार्थ सदस्यता, अवधारणा प्रस्तुति र टिप्पणीका कार्यक्रम भए ।
दोस्रो दिन आइतबार योगगुरु राम पाण्डेद्वारा योगाभ्यास, विकासानन्दद्वारा प्रेरणादायी प्रवचन र श्याम खड्काद्वारा चिकित्सकीय परामर्शका कार्यक्रम हुनेछन् ।
शनिबारको कार्यक्रममा संविधानविद् तथा गीतकार भीमार्जुन आचार्य, धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक व्याञ्जु श्रेष्ठ, एक्सन कोरियोग्राफर राजेन्द्र खड्गी, दन्त चिकित्सक सुवास घिमिरे र खेलकुदकर्मी विष्णुगोपाल श्रेष्ठलाई संघको मानार्थ सदस्यता प्रदान गरिएको छ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी प्रमुख अतिथि थिए । उक्त अवसरमा संघलाई आर्थिक तथा भौतिक सहयोग गर्ने ध्रुव देवकोटा, मनोज खत्री, राजीव गिरी, डा. रुपक घिमिरे, प्रकाश पुरी र श्रीदेव बीएललाई आभारपत्र प्रदान गरियो । अन्तर्राष्ट्रिय नेपाल साहित्य समाज नेपाल च्याप्टरको अध्यक्ष चयन भएकोमा चलचित्रकर्मी तथा साहित्यकार राजेन्द्र केसीलाई बधाई पत्र प्रदान गरिएको थियो ।
उक्त अवसरमा ‘नेपाली चलचित्रको गुणस्तरमा पेशाकर्मीको भूमिका’ विषयक अवधारणापत्रलाई शान्तिप्रियले प्रस्तुत गरेका थिए । उक्त अवधारणापत्रमाथि अभिनेता तथा निर्माता रविन्द्रसिंह बानियाँ, फिल्म लेखक अभिमन्यू निरवी र निर्देशक तथा सञ्चारकर्मी संगीता श्रेष्ठले टिप्पणी गरेका थिए ।
प्रतिक्रिया 4