
२४ भदौ, काठमाडौं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषको रकम ७१ अर्ब ५ करोड ६१ लाख रुपैयाँ पुगेको छ । त्यसमध्ये ६ अर्ब ५५ करोड ४० लाख रुपैयाँ कोषले विभिन्न क्षेत्रमा लगानी गरेको छ ।
नेपाली सेनाको जंगीअड्डामा आइतबार आयोजित पत्रकार सम्मेलनमा सैनिक कल्याणकारी निर्देशनालयका सहायक रथी किरण केसीले २०७९ असार मसान्तसम्म कोषको नगद मौज्दात ६२ अर्ब ६८ करोड ८९ लाख रहेकोमा यस वर्ष ८ अर्ब ३६ करोड ७२ लाखले वृद्धि भएको बताए । यसअनुसार एक वर्षमा सेनामा कोषको रकम १३.३४ प्रतिशतले बढेको देखिन्छ ।
कोषको रकममध्ये ९९.७० प्रतिशत ‘क’ वर्गको वाणिज्य बैंकमा मौज्दात रहेको भनिएको छ । ०.०६ प्रतिशत ‘ख’ वर्ग र ०.२४ प्रतिशत ‘ग’ वर्गको बैंकमा रहेको केसीले बताए । कोषको रकम सेनाले सेनाचुली इमल्सन प्लाण्ट, सैनिक आवासीय महाविद्यालय चितवनको घर जग्गा खरिद, अक्सिजन प्लान्ट, स्वास्थ्य विज्ञान संस्थान, ईचंगुनारायणमा जग्गा खरिद र भवन निर्माण, खानेपानी प्लान्ट लगायतमा लगानी गरेको छ ।
सेनाको माज्दातमध्ये विघटनमा गएको युनाइटेड विकास बैंकको सम्पत्ति बाँकी नरहेकाले कोषले प्राप्त गर्नुपर्ने मध्ये एक करोड ५७ लाख रुपैयाँ असुली उच्च जोखिममा रहेको पनि सेनाले जनाएको छ । १० वर्षअघि सेनाको कोषमा २३ अर्ब रुपैयाँ थियो ।
एक दशकमा बढेर ७१ अर्ब पुगेको हो । कल्याणकारी कोषको सञ्चालनका लागि प्रधानसेनापतिको अध्यक्षतामा संरक्षक (प्रधानमन्त्री) र प्रधानसेनापतिले वहालवाला र भूतपूर्व सैनिक अधिकृतबाट मनोनिनत गर्ने दुई/दुई जना, अर्थ र रक्षा मन्त्रालयका एक/एक जना प्रतिनिधि सदस्य रहने व्यव्स्था छ ।
कोषको मुख्य आयस्रोत शान्ति सेनामा भाग लिएवापत प्राप्त हुने रकम रहेको सहायक रथी केसीले बताए । ‘बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप गरिएको रकमबाट प्राप्त हुने ब्याज र सेनाको स्वास्थ्य विज्ञान संस्थान, विद्यालय/महाविद्यालयहरुको शिक्षण शूल्क पनि कोषको आम्दानीको स्रोत हो’, केसीले भने, ‘त्यसबाहेक परिवार आवास भाडावापत प्राप्त हुने रकम, आयमूलक परियोजनाहरुबाट प्राप्त हुने रकम लगायत पनि स्रोत हुन् ।’
कोषमार्फत सेनाले आफ्ना वहालवाला तथा भूतपूर्व कर्मचारीलाई स्वस्थ्य, शिक्षा, सीप, स्वरोजगार, विभिन्नखाले सहुलियत र सुविधा दिइरहेको छ ।
प्रतिक्रिया 4