
२४ भदौ, पोखरा । बचतकर्ताहरुको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गरेको आरोप लागेका सूर्यदर्शन सहकारी संस्थाका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहित ७ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरेको छ ।
पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारीमार्फत बचतकर्ताको बचत हिनामिना गरेको भन्दै ९ सय ७१ जनाले उजुरी दिएका थिए । राईसहित सञ्चालक समितिका ७ जनाविरुद्ध आइतबार जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुर्यबहादुर रानाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीले साउन ३२ गते एक सूचना जारी गरी भदौ १५ गतेसम्म पीडितहरुलाई जाहेरी दिन आग्रह गरेको थियो । जाहेरी दिएकाबाट १ अर्ब ८ करोड ११ लाख रुपैयाँ फिर्ता माग भएको प्रहरी निरीक्षक रानाले जानकारी दिए । ‘संस्थाका सञ्चालक ७ जनाविरुद्ध प्रक्राउ पूर्जी जारी भएको छ । संस्थाबाट ठगिएकालाई उजुरी दिन यसअघि सूचना दिइएको थियो’. उनले भने ।
पोखरा महानगर ४, नालाकोमुखमा रहेको सहकारीका सञ्चालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेका र सहकारीको रकम हिनामिना तथा ठगी गरेर फरार रहेको भन्दै प्रहरीले अन्य बचतकर्ताहरूलाई जाहेरी दिन सार्वजनिक सूचना निकालेको थियो ।
प्रतिक्रिया 4