
२४ भदौ, काठमाडौं । छिमेकी मुलुकमा हुने आतंकवादी गतिविधिको असर नेपालसम्म आइपुग्नसक्नेमा आफूहरु सजग रहेको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाको जंगीअड्डामा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सेनाको युद्धकार्य निर्देशनालयका सहायक रथी प्रकाश देउजाले हालसम्म नेपालमा त्यति समस्या नदेखिएपनि छिमेकी मुलुकको प्रभाव देखिन सक्ने सजग रहेको बताए ।
‘हाम्रो राष्ट्रमा त्यति समस्या नभइसके पनि छिमेकी मुलुकहरुमा आतंकवादी गतिविधि भइरहेका छन्, कतै न कतै हामीमा पनि त्यसको असर पर्न नसक्ने होइन’, उनले भने, ‘यो अहिलेको हाम्रो मुलुकको एउटा सुरक्षा चुनौति हो, आतंकवादी गतिविधि बढ्न सक्नेमा सचेत र सजग छौं । त्यसैले विभिन्न अभ्यास पनि गरिरहेका छौं ।’
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख सहयाक रथी कृष्णप्रसाद भण्डारीले चाहिँ नेपाली सेना जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न पनि हरदम तयार रहेको बताए ।
‘सेनाको हकमा अन्तर्राष्ट्रिय मान्यता नै के हो भने कि सेनाले युद्ध गर्छ, कि तालिम गर्छ, त्यसकारण सेना हरहमेसा परिस्थितिको सुक्ष्म विश्लेषण गरेर तयारी अवस्थामा रहन्छ’, भण्डारीले भने, ‘जटिल परिस्थितिको सामनालाई विचार गरेर विभिन्न अभ्यास तालिम लगायत नियमित भइरहेका हुन्छन् ।’
अहिलेको सन्दर्भमा सीमा सुरक्षा देशको मुख्य सुरक्षा चुनौति रहेको पनि युद्धकार्य निर्देशनालयको विश्लेषण छ । निर्देशनालयका सहायक रथी देउजाले उत्तरतिर सीमा नियन्त्रित भएपनि दक्षिणमा खुला हुँदा राष्ट्रिय सुरक्षामा चुनौति रहेको बताए ।
‘खुला सीमाले क्रसबोर्डर संगठित अपराधको चुनौति बढाएको छ, अवैध व्यापार, लागूऔषध, हतियार तस्करी र मानवबेचबिखन लगायतका चुनौति हामीसामू छन्’, उनले विश्लेषण सुनाए, ‘सीमापार संगठित अपराधलाई नियन्त्रण गर्न सीमामा कडाइ गर्नुपर्छ । अन्य सुरक्षा निकायसहित संयुक्त रुपमा कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे सोच्नुपर्छ ।’
देशमा अहिले साइबर सुरक्षा पनि गम्भीर चुनौतीका रुपमा आएको उनले बताए । ‘त्यसका लागि गम्भीरतापूर्वक तयारी गर्नुपर्ने अवस्था छ’, उनले भने । संगठित रुपमा भइरहेको सुन तस्करी लगायतका विषयहरुलाई सेनाले नियाली रहेपनि अनुसन्धानका भइरहेको विषय भएकाले आफूहरुको छुट्टै धारणा नहुने सैनिक प्रवक्ताले बताएका छन् ।
प्रतिक्रिया 4