+
+

असोज २ मा राष्ट्रिय शिक्षा दिवस, पदकचाहिँ तयार भएन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते १२:५८

२५ भदौ, काठमाडौं । पछिल्लो तीन वर्ष रोकिएको राष्ट्रिय शिक्षा दिवस यो वर्षदेखि मनाइने भएको छ । नेपाल विद्या भूषणका साथै नेपाल प्रविधि विद्याभूषण पाउनेहरुको नाम घोषणा हुनेछ ।

२०३१ सालदेखि १२ फागुनमा राष्ट्रिय शिक्षा दिवस मनाउन सुरु गरिएको थियो । २०६२/६३ आन्दोलन सफल भएसँँगै राजाले शुरुवात गरेका धेरै कार्यक्रमहरु मनाउन छोडियो । २०६३ सालको १२ फागुनमा शिक्षा दिवस मनाइएन ।

२०६४ सालमा तत्कालीन सरकारले राष्ट्रिय शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवस एकै दिन मनाउने निर्णय गर्‍यो । सोही अनुसार २०६४ सालदेखि २०७६ सालसम्म ८ सेप्टेम्बरको दिन राष्ट्रिय शिक्षा दिवस मनाउन थालियो ।

२०७७ सालमा तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले राष्ट्रिय शिक्षा दिवसको महत्व फरक रहेकाले फरक मितिमा मनाउनुपर्ने भन्दै ८ सेप्टेम्बरमा हुने दिवस स्थगित गरे । शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्मा भन्छन्, ‘अन्तर्राष्ट्रिय साक्षरता दिवस र राष्ट्रिय शिक्षा दिवसको महत्व अलग छ त्यसैले फरक मितिमा मनाउनुपर्छ भनेर स्थगित भएको थियो ।’

त्यसपछि कहिले मनाउने भन्ने विषयमा मन्त्रालयले सुझाव संकलन गरेपनि नयाँ मिति तय भएन, जसले गर्दा २०७७, ०७८ र ०७९ मा शिक्षा दिवस नै मनाइएन ।

यसवर्ष भने ९ जेठको मन्त्रिपरिषद्को बैठकले अनिवार्य निशुल्क शिक्षा ऐन-२०७५ जारी भएको दिन २ असोजलाई राष्ट्रिय शिक्षा दिवसको रुपमा मनाउने भनेर निर्णय गरेको छ । राष्ट्रिय शिक्षा दिवसको दिन नेपाल विद्याभूषण (उत्कृष्ट विद्यार्थीलाई दिइने पदक) क, ख, ग, नेपाल छात्रा विद्या पदक क, खका साथै यस पटकदेखि नेपाल प्रविधि विद्याभूषण पदक दिने तयारी थियो ।

२१ साउनदेखि ३ भदौसम्म आवेदन माग गरेको थियो । तर प्राविधिक कारणले नामावली प्रकाशन रोकिएकाले राष्ट्रिय शिक्षा दिवसका दिन पदक वितरण नहुने मन्त्रालयले जनाएको छ । अधिकारीहरुका अनुसार दिवसको दिन पदक पाउनेहरुको नाम घोषणा हुनेछ । पदक चाहिँ तयार भइनसकेकाले पछि मात्र प्रदान गरिनेछन् ।

ककसले पाउने छन् पदक ?

दिवसको अवसरमा विश्वविद्यालयस्तरीय सर्वोत्कृष्ट विद्यार्थी र राष्ट्रिय स्तरका सर्वोत्कृष्ट विद्यालय छनोट गर्दै आइएको छ । सर्वोत्कृष्ट विद्यार्थी र विद्यालयहरुलाई नेपाल विद्या भूषण पदक तथा नगद राशीले सम्मान गरिन्छ ।

नेपाल विद्या भूषण ‘क’ बाट विद्यावारिधी गर्ने विद्यार्थी (विदेशी शैक्षिक संस्थाबाट गरेर आएकालाई समेत) लाई सम्मान गर्ने, नेपाल विद्या भूषण ‘ख’ स्नातकोत्तर तहका विधागत सर्वोत्कृष्ट विद्यार्थीलाई र नेपाल विद्या भूषण ‘ग’ स्नातक तह तथा कक्षा ११, १२ का सर्वोत्कृष्टलाई सम्मान गर्ने प्रचलन छ ।

यसपटकदेखि विज्ञान प्रविधिमा उत्कृष्ट गर्ने विद्यार्थीलाई नेपाल प्रविधि विद्याभूषण प्रदान गर्ने भएको छ । विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कृषि, पशु विज्ञान, बन विज्ञान र चिकित्सा शिक्षामा स्नातकोत्तर तह माथि विद्यार्थीले गरेको उत्कृष्ट सोधको आधारमा विद्यार्थीलाई पदक प्रदान गर्ने जनाएको छ ।

विद्यार्थीको हकमा विश्वविद्यालयको सम्बन्धित डीन कार्यालयले र विद्यालय तहको राष्ट्रिय परीक्षा बोर्डले उत्कृष्ट ठहर गरेको विद्यार्थीलाई सम्मानित हुनेछन् । गणतन्त्र घोषणापछि राष्ट्रपतिबाट गर्न थालिएको थियो ।

विद्यालयको हकमा राष्ट्रिय पुरस्कारमा देशभरबाट छनोट भएको सर्वोत्कृष्ट तीनलाई क्रमश तीन लाख, दुई लाख र एक राशीबाट पुरस्कृत गरिने मन्त्रालयका प्रवक्त दिपक शर्माले बताए ।

सर्वोत्कृष्ट विद्यालय छनोट गर्न भर्ना विद्यार्थी संख्या, एसईईको पछिल्लो तीन वर्षको नतिजा लगायतलाई आधार मानिएको छ । त्यस्तै समाज कल्याण शिक्षा पुरस्कार (व्यक्ति वा संस्था) लाई पुरस्कृत गर्ने लगायतको कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?