
२५ भदौ, काठमाडौं । सरकारले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोजिनीमा निर्माण हुने सबस्टेसन प्रभावितको जायज माग सम्बोधन गर्ने विश्वास दिलाएको छ ।
सबस्टेसन निर्माणको कामलाई अगाडि बढाउने र स्थानीयको माग सम्बोधनका लागि सामाजिक उत्तरदायित्वका विभिन्न काम समेत सुरु गरिने भएको छ । त्यसमा के कस्ता विषय समेटिने भन्ने विषयमा छिट्टै सहमति जुटाइनेछ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा मंगलबार आयोजित सरोकारवाला पक्षसँगको छलफलमा मन्त्री शक्तिबहादुर बस्नेतले स्थानीयबासीको जायज माग सम्बोधन गर्ने विश्वास दिलाउँदै सवस्टेशन निर्माणको काम अगाडि बढाउन दिन आग्रह गरे ।
काठमाडौं उपत्यकाको विद्युत प्रवाहका लागि महत्वपूर्ण मानिएको सो सवस्टेसन निर्माणमा जति दिन ढिलाइ हुन्छ, त्यति नै दिन समस्या झनै बढ्दै जाने उल्लेख गर्दै मन्त्री बस्नेतले स्थानीय स्तरमा गर्नुपर्ने विकास निर्माण तथा अन्य कामलाई सरकार र आयोजनाका तर्फबाट अबिलम्ब अगाडि बढाइने बताए ।
स्थानीयबासीको माग सम्बोधन गरिने र हालको अवस्था भन्दा सबस्टेसन निर्माण भएपछि थप सहज जनजीवन निर्माणका लागि सरकारको तर्फबाट सक्दो पहल गरिने मन्त्री बस्नेतको भनाइ छ ।
उनले सामाजिक उत्तरदायित्व, प्रसारणलाइन प्रभावितको समस्या समाधानका लागि सरकारले नीतिगत रुपमा नै प्रबन्ध गर्ने र त्यसले अन्य आयोजनामा सहज वातावरण बनाउने विश्वास व्यक्त गरे ।
काठमाडौं उपत्यकाभित्र नै विद्युत कटौती गर्नुपर्ने अवस्थाको सिर्जना आएकोले बाध्यकारी स्थिति पैदा भएको उल्लेख गर्दै मन्त्री बस्नेतले यसको गम्भिरतालाई सम्मान गरेर काम गर्न दिने वातावरण बनाउन मन्त्री बस्नेतले आग्रह गरे । उनले आयोजनाबाट पर्ने प्रभावलाई सकेसम्म कम गर्ने तथा गराउनेतर्फ सरकारको तर्फबाट अधिकतम प्रयास गरिने बताए ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले परिस्थितिको बाध्यतालाई बुझेर आयोजनालाई सहजरुपमा अगाडि बढ्ने वातावरण बनाइदिन आग्रह गरे । उनले स्थानीयले उठाएका मागको अधिकतम सम्बोधन गरिने र त्यसका लागि सरकारको तर्फबाट पूर्ण प्रतिबद्धता रहेको बताए ।
तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्ति गर्न लप्सीफेदीमा ४००/२२०/१३२/११ केभी क्षमताको सबस्टेसन निर्माण गर्न लागिएको हो ।
सबस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभी प्रसारणलाइन जोडिने छ । नयाँ खिम्ती–बाह्रबिसे–लप्सीफेदी ४०० केभी प्रसारणलाइन निर्माणको अन्तिम चरणमा छ । लम्सीफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारणलाइन र सबस्टेसन निर्माणाधीन छन् । चाँगुनारायणमा १३२ केभी क्षमताको सबस्टेसन सम्पन्न हुने चरणमा छ । सबस्टेसनका लागि ५० जना जग्गाधनीहरुको एक सय ७२ रोपनी जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । एक जना जग्गाधनीबाहेक सबैले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेका छन् । मुआब्जा तथा क्षतिपूर्ति बापत करिब ५० करोड रुपैयाँ वितरण गरिएको छ ।
क्षतिपूर्ति नपाएको एक जनाको हकमा कानुनी समस्या उत्पन्न भएको छ । उक्त व्यक्तिले भोगचलन गरिरहेको भएता पनि पर्ती जग्गाको रुपमा रहेकोले मुआब्जा दिन समस्या छ । नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडीबी) को ‘विद्युत प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’मार्फत प्रवाह भएको सहुलियतपूर्ण ऋणमा सबस्टेसनहरु तथा प्रसारणलाइन निर्माण भइरहेको हो ।
छलफलमा ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्रालयका सचिव घिमिरे, सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित, शंखरापुर ३ का वडा अध्यक्ष सूर्यबहादुर तामाङलगायतको सहभागिता थियो ।
प्रतिक्रिया 4