
२६ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा एमालेका उपाध्यक्ष एवं पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक व्यक्त गरेका छन् ।
घिमिरेले शोक वक्तव्य निकालेर नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेको बताएका छन् ।
‘उहाँको निधनले नेपालको संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ’ घिमिरेले शोक वक्तव्यमा लेखेका छन्, ‘प्रतिनिधि सभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु ।’
२०४८ सालमा राष्ट्रिय सभामा निर्वाचित भएपछि संसदीय क्षेत्रमा अविराम योगदान गरेका नेम्वाङले संविधान निर्माणको ऐतिहासिक नेतृत्व गरेको घिमिरेले स्मरण गरेका छन् ।
नेम्वाङले नेपालको सहमतीय राजनीतिमा खेलेको भूमिका, संविधान निर्माण तथा कानून निर्माणमा गरेको योगदान इतिहासमा अभिलेखीकरण भएको भन्दै सभामुख घिमिरेले भनेका छन्, ‘शान्त, शालीन र भद्र राजनीतिज्ञका रूपमा परिचित उहाँको निधनले नेपालको न्याय क्षेत्रले कानूनका ज्ञाता गुमाएको छ ।’
प्रतिक्रिया 4