+
+
नाडा अटो शो :

पेट्रोल गाडीमाथि बिजुलीको वर्चस्व

हतोत्साही हुन थाले पेट्रोलियम गाडी बिक्रेता

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० भदौ २६ गते २०:१४

२६ भदौ, काठमाडौं । सोमबार सुरु भएको र ३१ भदौसम्म चल्ने सवारी साधनको प्रदर्शनी ‘नाडा अटो शो–२०२३’ मा विगतको भन्दा विल्कुलै अलग दृश्यहरू देखिए । मूल रूपमा यो वर्ष नाडा अटो शो ‘विद्युतीय सवारीको प्रदर्शनी’ जस्तो बन्न पुगेको छ ।

बीवाईडी, एमजी, नेटा र वुलिङ लगायत ब्रान्डले विद्युतीय सवारी मात्रै प्रदर्शनीमा राखेका छन् । कतिपय ब्रान्डले आफ्ना कम्पनीका पेट्रोलियम गाडीलाई भन्दा विद्युतीयलाई नै प्राथमिकता दिएका छन् । टाटा, हुन्डाई, किया, ग्रेटवाल, निसान लगायत ब्रान्डले पेट्रोलियम र विद्युतीय दुबैथरिलाई प्रदर्शनमा राखेका छन् ।

पेट्रोल र डिजल गाडी मात्रै बेचिरहेका टोयोटा, मित्सुबिसी, रेनो, जीप, होन्डा, भक्सवागन, स्कोडा, इसुजु, सुवारु, पिगो, माज्दा, बीएमडब्ल्यू जस्ता ब्रान्डले सहभागिता नै जनाएका छैनन् ।

सन् २०१९ को अटो शो मा हुन्डाइले कोना, कियाले सोल ईभी र निरो, बीवाईडी र पिगोले बिजुली कारहरू बिक्रीमा राखेका थिए । त्यतिबेला बिजुली गाडीको बुकिङ निराशाजनक थियो ।

नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाका अनुसार यसपटक नाडामा विद्युतीय गाडीको वर्चश्व छ ।  घरेलु विद्युतको उपयोगमा वृद्धि, सञ्चालन र मर्मत खर्च कम र वातावरणमैत्री भएकाले नेपालमा विद्युतीय सवारी साधनको माग बढ्दो क्रममा छ । ‘माग र चासो बढेकाले यसपटक विद्युतीय सवारीहरू नै नाडामा बढी देखिए’, उनी भन्छन्, ‘उपभोक्ता पनि विद्युतीय सवारीतिर बढी चाख देखाइरहेका छन् ।’

नाडामा विद्युतीय गाडी छान्न खोजिरहेका कुलेश्वरका विश्वकान्त ढकाल पछिल्ला वर्षमा एक पटकको चार्जमा लामो रेन्ज दिने विद्युतीय गाडीहरु आइरहेकाले विद्युतीयमा जाने निर्णय लिएको बताउँछन् । ‘साथीहरूले बिजुली गाडी किनेपछि गाडीमा खर्च नै भएन भन्छन्, पेट्रोल गाडीमा खर्च वर्षै साल बढ्दो दरमा हुन्छ’, उनले भने, ‘धेरै जनाले चढेको देखेपछि बल्ल पेट्रोल गाडी बेचेर बिजुली गाडी चढ्ने आँट आएको छ ।’

बिजुली गाडी हेरिरहेका शुभ वैद्य ५ वर्षअघि बिजुली गाडीको ब्याट्री फेर्दा लाग्ने खर्चबारे सुनेर आँट गर्न नसकेर पेट्रोल गाडी नै किनेको सम्झन्छन् । अहिले बिजुली गाडी नचढे ‘संसार नै नबुझेको मान्छे’ भन्ने जस्तो देखिन थालेपछि बिजुली गाडी नै किन्न खोजेको उनी बताउँछन् ।

‘ब्याट्री प्रविधिमा भइरहेको विकासले भविष्यमा ब्याट्री फेर्दाको लागत कम हुने अध्ययनहरू रहेछन्’, उनले भने, ‘थुप्रै चार्जिङ स्टेसनहरू पनि खुल्न थालेकाले पनि अब त बिजुली गाडीमा जानुपर्छ भन्ने भएको हो ।’

नेपाल विद्युत् प्राधिकरणले देशभर ५१ वटा चार्जिङ स्टेसन स्थापना गरेको छ भने थप १० वटाको तयारी गरिरहेको छ । त्यसबाहेक दिगो, बीवाईडी, एमजी, हुन्डाई, किया, टाटा लगायत ब्रान्डका आधिकारिक बिक्रेता कम्पनीहरूले निजी स्तरबाट राजमार्ग र शहरहरूमा केही चार्जिङ स्टेसन बनाएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार्जिङ पूर्वाधार पर्याप्त बन्न थालेकाले ग्राहकमा यस्तो आत्मविश्वास बढेको मान्छन् । उनका अनुसार प्राधिकरणले देशभर थप ५०० वटा चार्जिङ स्टेसन निर्माण गर्ने योजना बनाएको छ ।

‘क्रमैसँग निजी क्षेत्रलाई पनि चार्जिङ स्टेसन सञ्चालनका लागि प्रोत्साहित गर्दै जानुपर्छ’ उनी भन्छन्, ‘सञ्चालन खर्च कम भएकाले अब क्रमैसँग निजी मात्रै हैन, सरकारी तवरमा पनि विद्युतीय सवारीको प्रयोग बढाउनुपर्छ ।’

पछिल्लो ३ वर्षमा बिजुली गाडीमा यसरी आकर्षण बढेर गएको छ कि आगामी वर्षहरूमा हुने ‘नाडा अटो शो’ विद्युतीय सवारीका ब्रान्डहरूले नै कब्जा गरे भने अचम्म मान्नु नपर्ने नाडाकै पदाधिकारीहरू बताउँछन् ।

नाडा अटो शोका करिब ६० प्रतिशत स्टल विद्युतीय गाडीसँग जोडिएका ब्रान्डहरूले लिएको नाडाका अध्यक्ष थापाले बताए । ‘विद्युतीय सवारी नै चढ्ने विश्वव्यापी ट्रेन्डलाई नेपाली बजार र उपभोक्ताले पछ्याएको देखिन्छ’ उनी भन्छन्, ‘नाडामा यसपटक विद्युतीय सवारी र त्यसको उपभोक्ताको बढी उपस्थिति देखियो, तर यसको मतलब अन्य सवारीमा आकर्षण छैन भन्ने हैन ।’

ग्रेटवाल गाडीको आधिकारिक बिक्रेता भिजी इम्पेक्सका उपाध्यक्ष रूपेश शर्मा भट्ट यसपटक अटो शो विद्युतीय सवारीको प्रदर्शन, अवलोकन र खरिद–बिक्रीमा केन्द्रित हुने बताउँछन् । ‘धेरैको ध्यान विद्युतीयतर्फ नै गएको देखियो’ उनले भने, ‘कारण जेजस्तो भए पनि धेरै उपभोक्ताले विद्युतीय गाडी किन्न चाहिरहेको देखियो, यसले बिजुली गाडीको बजार फैलाउँदै लैजाने छ ।’

नाडाका पूर्वअध्यक्ष कृष्णप्रसाद दुलाल पनि विद्युतीय सवारीप्रतिको आकर्षणले यसपटक विद्युतीय सवारीको प्रयोगमा नेपाली उपभोक्ता उत्सुक रहेको देखाएको बताउँछन् । ‘विद्युतीय गाडीमै धेरैको ध्यान छ’, उनले भने, ‘अपेक्षित भन्दा सस्तो मूल्यमा पनि बिजुली गाडी पनि प्रदर्शनीमा राखिएकाले यस्तो भएको हो ।’

दुलालको भनाइमा विगतमा उपभोक्तामा बिजुली गाडी महँगो हुन्छ भन्ने थियो । तर, सरकारले तल्लो रेन्जमा १० प्रतिशत मात्रै भन्सार तोकेकाले ती सवारी तुलनात्मक रूपमा धेरै महँगा नभएको उनले बताए ।

‘कर जति बढी लाग्यो, सवारी उति धेरै महँगो हुने हो’ पूर्वअध्यक्ष दुलाल भन्छन्, ‘सबै वर्गले चढ्न सक्ने बिजुली गाडीहरू उपलब्ध भएकाले अहिले मान्छे त्यतै तानिएका हुन् ।’

आफूसँग विद्युतीय गाडी उपलब्ध नभएकाले कतिपय स्थापित ब्रान्डले अटो शोमा सहभागी हुन नै इच्छा नदेखाएका र त्यसको लाभ कमजोर बिजुली गाडी ब्रान्डका सवारीले उठाएको नाडाका एक कार्यकारी सदस्यले बताए ।

‘स्वेच्छिक कुरा हो, यसपटक आफूसँग विद्युतीय गाडी नहुँदा पनि सुजुकी, महिन्द्रा जस्ता ब्रान्डले मात्रै सहभागिता जनाउने आँट देखाए’ उनले भने, ‘तर, कम संख्यामा सवारी बिक्ने पेट्रोलियम ब्रान्डहरूले त यसपटक नाडामा आएर खर्च गर्न नै चाहेनन् ।’

नाडामा टाटाले २१ लाख ९९ हजार रुपैयाँ पर्ने ‘टियागो ईभी’ सार्वजनिक गरेको छ । टाटाको नेक्सन ईभीका विभिन्न भेरियन्टले अहिले पनि बजारमा बिजुली गाडीको उपस्थितिलाई बाक्लो बनाइरहेकै छन् ।

अब नाडाबाट उदाएको टियागो ईभीले ‘इन्ट्री’ लेभलका बिजुली गाडीका उपभोक्तालाई थप विकल्प दिनेछ ।

नाडाअघि नै एमएडब्ल्यू वृद्धिले सेरेस ब्रान्डको विद्युतीय गाडीको ब्रान्डलाई ल्याएको छ । जसले बजारमा १३ लाख ९९ हजार रुपैयाँमै विद्युतीय गाडी उपलब्ध गराउन थालेको छ । सेरेसको ‘मिनी ईभी’ हेर्न नाडामा ठूलो भीडभाड छ ।

१४ लाख रुपैयाँमा नै विद्युतीय सवारी चढ्न पाइने थाहा पाएका उपभोक्ताका लागि नाडामा यो गाडी विशेष आकर्षणको केन्द्रमा छ । यसबाहेक बीवाईडी, नेटा ईभी, एमजी, ग्रेटवाल मोटर्स, वुलिङलगायत ब्रान्डका विद्युतीय सवारीमा उपभोक्ताहरू झुम्मिएका छन् ।

रोचक त के छ भने नाडामा मालबालक र यात्रुबाहक विद्युतीय गाडीहरु पनि राखिएको छ । पछिल्लो समयमा पेट्रोलियम ब्रान्डमा माइक्रो बसहरूलाई टक्कर दिइरहेका साना आकारका बिजुली बस सहित कमर्सियल ईभी ट्रकहरू नाडामा राखिएका छन् ।

कमर्सियलतर्फ स्थापित कमर्सियल ब्रान्डले नाडामा आउन चाहेको देखिएन । फोटोन, सीजी केवाईसी, किंगलंग, एसआरएम जस्ता ब्राण्डका कमर्सियल विद्युतीय सवारी समेत नाडामा छन् ।

यति मात्रै हैन, दुइपांग्रे सवारीतर्फ पनि नाडामा यसपटक विद्युतीय सवारीकै बोलवाला छ । पेट्रोल मोटरसाइकलमा नाम चलेको यामाहाले नाडामा स्टल नै राखेको छैन । बरु यसअघि कम नाम सुनिएका विद्युतीय स्कुटर र मोटरसाइकल बेच्ने ब्रान्डहरू नाडामा छन् । उनीहरूका स्टलमा ग्राहकको बाक्लो उपस्थिति रहनुले दुई पांग्रे सवारीमा पनि उपभोक्ताको चासो उच्च रहेको देखाउँछ ।

नाडामा निउ, इभोक, एनमोटो, प्योर, इल्मो, इवान, सुनरा, सेग्वे, ओकाया, याडिया जस्ता ब्रान्डहरूले २ लाख २० हजारदेखिकै मूल्यमा विद्युतीय स्कुटर बाइकहरू नाडामा बुक गर्न सकिने देखिन्छ ।

पेट्रोलियम सवारी बेचिरहेका व्यवसायीहरू भने यस्तो दृश्यबाट खुसी छैनन् । ‘सरकारले भन्सार छुट सहित विभिन्न सुविधा दिएर विद्युतीय सवारीको मात्रै प्रवर्द्धन गर्‍यो’ विद्युतीय सवारी बिक्रीमा संलग्न नरहेका एक व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘विद्युतीय सवारीमा फाइनान्सिङ धेरै सहज छ, अरू सवारीलाई मौद्रिक नीतिबाटै कसिएको छ ।’

विद्युतीय सवारीमा बैंकहरूले मूल्यको ८० प्रतिशतसम्म हायर पर्चेज कर्जा उपलब्ध गराइरहेको भीजी इम्पेक्सका उपाध्यक्ष भट्ट बताउँछन् । ‘पेट्रोलियम सवारीमा फाइनान्सिङको सुविधा थोरै र जटिल छ’, उनले भने, ‘यसले पनि उपभोक्तालाई विद्युतीय सवारीमा तानिरहेको छ ।’

विद्युतीय सवारीमा उपभोक्ताको चर्को चाख देखेर नाडाकै पदाधिकारी अचम्मित छन् । अध्यक्ष थापा नाडामा विद्युतीय सवारीका ब्रान्डको उपस्थिति र ग्राहकको रुचि हेर्दा निकट भविष्यमा नै नेपाल विद्युतीय सवारीको प्रयोगका हिसाबले राम्रो अवस्थामा पुग्ने देख्छन् । उनी भन्छन्, ‘नाडाको दृश्यले नै नेपालभित्र विद्युतीय सवारीको भविष्यलाई देखाएको छ ।’


फोटो/भिडियो :शंकर गिरी/अनलाइनखबर 

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?