डिप्रेसनको औषधि खाइरहेका व्यक्तिको मनमा यस्ता प्रश्न आउन सक्छन् । डिप्रेसनको औषधिले कतै साइड-इफेक्ट पो गर्ला कि ? यो औषधि खान थालेपछि जीवनभर खानु पो पर्छ कि ?
कति बिरामी त औषधि जीवनभर खानुपर्छ भन्ने डरले उपचारको लागि अस्पताल नै पुग्दैनन् । डिप्रेसन र अन्य मानसिक रोगको बारेमा अझै पनि चेतनाको अभाव छ ।
डिप्रेसनको औषधि एकपटक सुरु गरेपछि जीवनभर खानुपर्छ भन्ने धेरैलाई लाग्छ । सबै डिप्रेसनका बिरामीले जीवनभर औषधि खानुपर्छ भन्नेमा सत्यता छैन । रोगको प्रकृति, आवश्यकता र शारीरिक मानसिक अवस्था हेरेर औषधि कति समय खाने भन्ने कुरा निर्धारित हुन्छ ।
पहिलो पटक कोहीलाई डिप्रेसन निदान भएपछि ६ देखि नौ महिनासम्म औषधि चलाइन्छ । समस्या बिस्तारै ठीक हुँदै गएपछि औषधि घटाउँदै बन्द गर्न सकिन्छ । कुनै केशमा यो भन्दा कम समयमा पनि औषधि छुट्न सक्छ ।
डिप्रेसनको प्रभाव व्यक्तिपिच्छे फरक हुन सक्छ र औषधिको आवश्यकता पनि फरक हुन सक्छ । त्यसैले एउटा बिरामीले ६ महिना औषधि खान्छ भने अर्को बिरामीले पनि ६ महिना नै खानुपर्छ भन्ने हुँदैन । कडाखाले मानसिक रोग सिजोफेर्नियाको प्रभाव दीर्घ समयसम्म रहन सक्छ । त्यसैले बिरामीको अवस्था हेरेर औषधि दीर्घकालीन रूपमा चलाउनुपर्ने हुन सक्छ ।
औषधि कति समय खाने, कुन डोजको खाने भन्ने कुरा चिकित्सकको निरन्तर परामर्शमा मात्र गर्नुपर्छ ।
डिप्रेसनको औषधिको लत लाग्छ ?
डिप्रेसनको औषधि कुनै लत हुन सक्ने पनि हुन्छन् । बेन्जोडाइजेपाइन्स जस्ता औषधि लामो समय चिकित्सकको सल्लाह बिना खाइयो भने यसको लत लाग्ने सम्भावना पनि हुन्छ । तर अन्य मानसिक स्वास्थ्यका औषधिहरू चिकित्सकको सल्लाह अनुसार घटाउँदै गएर छोड्दा लत लाग्ने हुँदैन ।
डिप्रेसनको उपचारमा औषधि र परामर्श दुवै उत्तिकै महत्त्वपूर्ण
डिप्रेसनको उपचारमा औषधि मात्र प्रयोग र परामर्श मात्र भन्दा औषधिसँगै परामर्श पनि राम्रो भएको अवस्थामा बिरामीको समस्या छिटो समाधान हुन्छ ।
औषधिसँगै बिरामीलाई स्वहेरचाह, तनाव व्यवस्थापन पनि सिकाइयो भने समस्या छिटो कम हुँदै जान्छ । त्यसैले बिरामीले मनोचिकित्सकको सल्लाहमा क्लिनिकल साइकोलोजिस्टसँग परामर्श लिनु राम्रो हुन्छ ।
औषधिको साइड इफेक्ट
औषधिको प्रकृतिअनुसार केहीको साइड इफेक्ट देखिन सक्छ । कुनै औषधिले तौल बढ्ने, थकान महसुस हुने, मुख सुख्खा हुने, कब्जियत र कोलेस्टेरोलको मात्रा घटबढ गराउने सम्भावना रहन्छ । यद्यपि सबै औषधिको सबैलाई साइड इफेक्ट हुन्छ भन्ने होइन ।
कुनै औषधिको सेवनले टाउको दुख्ने, हातखुट्टा झमझमाउने जस्ता साइड इफेक्ट पनि देखिन सक्छन् । तर मनोचिकित्सकले राम्ररी जाँच गरेर दिएको औषधिले के कस्तो साइड इफेक्ट हुन सक्छ भन्ने कुरा बिरामीलाई पहिले नै जानकारी गराउनुपर्छ । साइड इफेक्ट देखिए त्यसलाई निवारण गर्न विभिन्न उपाय अपनाउन सकिन्छ । जस्तै, कुनै औषधिले मोटोप बढ्छ भने व्यायाम गर्ने, सन्तुलित खाना खाने गरेर मोटोपनबाट बच्न सकिन्छ ।
लामो अध्ययन अनुसन्धान गरेर मात्र औषधि बनेको हुन्छ । त्यसैले साइड इफेक्ट हुन्छ भनेर औषधि प्रयोग गर्न डराउन भने हुँदैन ।
सबैखाले डिप्रेसनमा औषधि खानैपर्छ भन्ने छैन
डिप्रेसन तथा अन्य मानसिक स्वास्थ्यसम्बन्धी समस्यामा औषधि प्रयोग गर्नैपर्छ भन्ने पनि हुँदैन । कतिपय समस्या परामर्श मात्रले पनि निको हुन्छन् ।
औषधि प्रयोग गर्नुपर्छ कि पर्दैन, कति मात्रामा गर्नुपर्छ भन्ने कुरा चिकित्सकले बिरामीको गम्भीरता र आवश्यकता हेरेर निर्धारण गर्छन् । यदि औषधिको प्रयोगबिना परामर्श मात्र निको हुन्छ भने पनि चिकित्सकले परामर्श सुझाउँछन् ।
(त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मनोचिकित्सक डा. सगुनबल्लभ पन्तसँग अनलाइनखबरकर्मी सुमित्रा लुइँटेलले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4