
काठमाडौं । दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘नांगो गाउँ’लाई रेडकार्पेट प्रिमियर गरिएको छ । काठमाडौंको सीतापाइलास्थित सीके सिनेमाजमा आयोजित प्रिमियरमा सेलिब्रिटीको उपस्थिति रह्यो ।
टोरन्टो फिल्म फेस्टिभलमा ‘गाउँ आएको बाटो’को वर्ल्ड प्रिमियरमा सहभागी भएर काठमाडौं फर्किएका दयाहाङलगत्तै ‘नांगो गाउँ’को प्रिमियरमा पुगेका हुन् । प्रिमियरमा उनलाई मिडियासामु प्रस्तुत हुन अभिनेत्री मगर र गायक राजेशपायल राईले साथ दिए ।
हरियो सर्ट र कालो जिन्स पाइन्टमा दयाहाङ देखिए भने मिरुना चाहिं गाढा नीलो सारीमा सजिएकी थिइन् । प्रिमियरमा सञ्चारकर्मीसामु उनीहरु प्रफुल्ल देखिन्थे । प्रिमियरमा सहभागी हुन अन्य कलाकार पनि सीतापाइला पुगेका थिए ।
शुक्रबार देशव्यापी प्रदर्शन तयारीमा रहेको दीपेन्द्र लामा निर्देशित यो सोसियो-पोलिटिकल ड्रामामा दयाहाङ र मिरुनाको शीर्ष भूमिका छ । ‘कबड्डी ४’ र ‘जारी’जस्ता ब्लकबस्टर फिल्ममा यी दुईलाई जोडीको रुपमा हेरेका दर्शकले ‘नांगो गाउँ’मा पनि उनीहरुलाई देख्न पाउनेछन्, जहाँ उनीहरुले जोडीकै भूमिकामा अभिनय गरेका छन् ।
दयाहाङको पछिल्लो कार्य तालिका निकै व्यस्त देखिएको छ । ‘नांगो गाउँ’ रिलिजपछि उनी ‘डिग्री माइला’ र ‘रंगेली’ फिल्मको छायांकनमा व्यस्त हुनेछन् । असोज २ गतेदेखि ‘डिग्री माइला’को छायांकन सुरु हुँदैछ, जसलाई रामबाबु गुरुङले निर्देशन गर्दैछन् ।
प्रतिक्रिया 4