
२७ भदौ, काठमाडौं । नेपालमा मेला, सभा–सम्मेलन र विवाह जस्ता गतिविधिमार्फत हुने पर्यटकीय गतिविधि (माइस टूरिजम) प्रवर्द्धन गर्न कार्ययोजना बन्ने भएको छ । माइस टुरिजमको बढ्दो माग परिपूर्तिका लागि कार्ययोजना तयार गर्न लागिएको होटल संघ नेपाल (हान)ले जनाएको छ ।
होटल संघ नेपालको वार्षिक कार्ययोजना अनुसार यस कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल माइस पर्यटनका लागि उपयुक्त गन्तव्यको रुपमा स्थापना गर्न सघाउ पुर्याउने व्यवसायीको विश्वास छ ।
प्रकृतिले प्रचुर साथ दिएको नेपालमा पर्यटन बढाउन ‘माइस’ पर्यटनको विकास गर्न अपरिहार्य रहेको भन्दै हानले व्यापारिक समुदायबीचमा प्रवर्द्धन गर्न लागिएको बताएको छ । सोही प्रयोजनका लागि हानले ३१ भदौमा एक कार्यक्रम समेत आयोजना गरेको छ । सरोकारवालाबीच हुने छलफलबाट कार्यनीति बनाइने हानले जनाएको छ ।
अन्तर्राष्ट्रिय स्तरको मेला, सभा/सम्मेलनसँगै व्यापार व्यवसायको प्रवर्द्धनका लागि विदेश भ्रमणमा पठाउने प्रचलन विश्वव्यापी रुपमा रहेको छ । त्यसमा नेपालका छिमेकी मुलुक भारत र चीनमा यस्तो चलन बढेको छ । भारत लगायत देशबाट वर्षेनी हजारौंको संख्यामा विवाह गर्ने जोडी र उनीहरुको परिवारका सदस्य नेपाल आउने क्रम बढेको समेत हानले जनाएको छ । पर्यटनको यस विधालाई थप लोकप्रिय र फराकिलो बनाउन होटल संघ नेपालले पहल थालेको बताएको छ ।
यस्ता मेला, सभा/सम्मेलन, गन्तव्य विवाह तथा प्रोत्साहन भ्रमणका कार्यक्रमलाई नेपालको पहाडी तथा तराईका गन्तव्य, प्राकृतिक ट्रेकिङ क्षेत्र र धार्मिक तथा सम्पदा स्थलहरूका विभिन्न प्याकेज बनाइ कर्पोरेट कम्पनीहरूलाई आकर्षित गर्न सक्ने सम्भावना प्रवल रहेको संघले उल्लेख गरेको छ । यसका लागि सरकारी नीति नियम, थप पूर्वाधार, जनशक्ति र प्रभावकारी प्रवर्द्धनका कार्यक्रमहरुको आवश्यकता रहेको संघको भनाइ छ ।
प्रतिक्रिया 4