२७ भदौ, काठमाडौं । ब्राजिल र टोटनहममा फरवार्ड रिचार्लिसनले अन्तर्राष्ट्रियक ब्रेक सकाएर इंग्ल्याण्ड फर्केपछि मनोवैज्ञानिक सहयोग खोज्ने बताएका छन् ।
विश्वकप छनोट अन्तर्गत शनिबार बोलिभिया विरुद्ध ब्राजिल ५-१ विजयी भएको खेलमा सब्सिच्युट भएपछि रिचार्लिसनको आँखामा आँसु भरिएको थियो ।
उनले मैदान बाहिरका घटनाहरुका कारण आफू भावुक भएको बताएका छन् ।
‘दुःखको त्यो क्षण नराम्रो खेलेकोबारे थिएन,’ रिचार्लिसनले भने, ‘मेरो विचारमा, मैले बेलेममा खराब खेल खेलेको छैन । यो मेरो प्रणालीबाट पिच बाहिर भइरहेका चीजहरूलाई बाहिर निकाल्ने बारेमा थियो ।’
रिचार्लिसनले गत समरमा एभर्टनबाट ६० मिलियन पाउण्डमा टोटनहममा अनुबन्ध भएयता ४० खेल खेल्दै जम्मा चार गोल गरेका छन् ।
‘म पछिल्ला पाँच महिनामा पिच बाहिरको अशान्तिपूर्ण समयबाट गुज्रिरहेको छु’, उनले ब्राजिलको अखबार ओ ग्लोबोलाई भने, ‘अब घरमा सबै कुराहरु अलि स्थिर छन् । मेरो पैसामा मात्र नजर राख्ने मानिसहरू अब मेरो नजिक छैनन् ।’
उनले अब टोटनहममा आफूले राम्रो खेल्ने र फेरि सबै कुरा राम्रो हुने विश्वास राखेका छन् । ‘म इङ्ल्यान्ड फर्कने छु र मेरो दिमागलाई बलियो बनाउन मनोवैज्ञानिकसँग मनोवैज्ञानिक सहयोग खोज्नेछु । बलियो भएर फर्किनका लागि आवश्यक कुरा यही हो ।’
रिचार्लिसनले बेलेममा भएको बोलिभिया विरुद्धको खेलमा ७१ औं मिनेटमा सब्सिच्युट हुनुअघि ठूलो मौका गुमाएका थिए र मंगलबार लिमामा पेरुलाई १-० ले पराजित गरेको ६४ मिनेटमा सब्सिच्युट भएका थिए ।
ओ ग्लोबोको रिपोर्ट अनुसार रिचार्लिसन लामो समदेखिको एजेन्ट रेनाटो भेलास्कोसँग पनि छुट्टिएका छन् ।
उनले अब ब्राजिलको अर्को खेलमा टिममा पर्नेबारे आफूले सोचेको बताए र त्यसमा काम गरिरहेको बताए ।
उनले टोटनहममा पनि राम्रो गर्ने र आफूलाई सबै कुरा मिलाउनका लागि राम्रो खेल आवश्यक रहेको बताए ।
ब्राजिलले अब अक्टोबर १३ मा भेनेजुएला र अक्टोबर १८ मा उरुग्वेसँग विश्वकप छनोटको खेल खेल्नेछ । प्रिमियर लिगको दोस्रो स्थानमा रहेको टोटनहमले आउने शनिबार शेफिल्ड युनाइटेडसँग खेल्नेछ ।
प्रतिक्रिया 4