
काठमाडौँ । शिल्पी थिएटरमा नाटक ‘ह राम पण्डित’को मञ्चन सुरु भएको छ । बारत लिम्बू निर्देशित नाटकलाई बुधबार प्रिमियर गरियो । मानिसको कर्मको आधारमा मृत्युपछि स्वर्ग वा नर्कमा स्थायी रूपले जानुपर्ने कुरा हिन्दु धर्ममा रहेको लोक विश्वास नाटकले प्रस्तुत गर्छ ।
‘मानिस मरेपछि पनि कसरी उसको पाप र धर्मको लेखाजोखा हुन्छ, क–कसले यो काममा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्छन् ? यो प्रणालीमा कसरी मृतकले विशेष गरी चित्र गुप्तको कार्यालयमा प्रशासनिक रूपमा जे जस्ता झन्झट झमेलाको सामना गर्छ ? यिनै कुरालाई नाटकमा प्रस्तुत गरिएको छ,’ निर्देशक लिम्बूले भने ।
दैलो प्रोडक्सनको प्रस्तुति र भैरव पुरस्कार गुठीको सहकार्य रहेको नाटकमा श्रवण राना मगर, विकास जोशी, सवीर चुरौटे, सविन कट्टेल, निल्सन राई, रोशन, सन्तोष गिरी, रोशन लोहोरुङ राई, उज्ज्वल राई, सुनिल राई, सम्झना राई र क्षितिज सन्तोष माझी कलाकारको रुपमा छन् ।
नाटकमा प्रत्यक्ष संगीत नरेश गजुरेल र अर्पन महर्जनको रहनेछ भने र सेट निर्माण हुम बीसी र सेट डिजाइनिङ प्रवीण खतिवडाको छ । स्वर्गीय भैरव अर्यालको लेखन रहेको काउकुती, जयभुँडी, इतिश्री निबन्ध संग्रहभित्रको निबन्धकै आधारमा रहेर नाटक तयार पारिएको निर्देशक लिम्बूले बताए । असोज १३ गतेसम्म यो नाटक प्रत्येक दिन साँझ सवा ५ बजे नियमित मञ्चन हुने जनाइएको छ ।
तस्वीर सौजन्य : राधा चालिसे
प्रतिक्रिया 4