
काठमाडौं । दयाहाङ राईसँग आँचल शर्माले अभिनय गर्न लागेको फिल्म ‘डिग्री माइला’को छायांकन असोज २ गतेदेखि सुरु हुँदैछ । यसबाहेक पञ्चामृत, वर एण्ड वधु, ह्वाइट हाउस उनका आगामी फिल्म हुन् ।
आँचलले अभिनय गर्ने यी सबै फिल्म रोमान्टिक र सामाजिक कथामा आधारित छन् । तर आँचलले बिहीबार बेलुका सामाजिक सञ्जालमा किक–बक्सिङ सिकिरहेको भिडियो पोस्ट गर्दै आफू एक्सन अवतारमा उत्रिन लागेको सन्देश दिएकी छन् ।
भिडियो हेर्दा लाग्छ, किक-बक्सिङ कला सिक्नका लागि निकै मेहनत गरिरहेकी छन् । ट्रेनरले यो लडाकु शैली सिक्नका लागि उनलाई सहयोग गरिरहेको देखिन्छ । के आँचलले एक्सन फिल्म गर्नैका लागि कतै किक–बक्सिङ सिकिरहेकी त हैनन् ? मिडिया कुराकानीमा उनले यसबारे प्रतिक्रिया दिएकी छन् ।
आफूले फिल्म विशेषका लागि भन्दा नियमित अभ्यासका लागि एक्सन सिकिरहेको आँचलले बताइन् । ‘अहिले नै मलाई एक्सन फिल्मको अफर त आएको छैन, तर भोलिका दिनमा तपाईंले एक्सन फिल्म गर्नुपर्यो भनेर प्रस्ताव राखेमा त्यसका लागि अहिले नै तयारी गरिरहेकी हुँ,’ उनले भनिन्, ‘यसका लागि जिम्न्यास्टिक, फ्लाइङ किक र बटरफ्लाइ किक लगायतका तरिका सिकिरहेकी छु ।’
प्रतिक्रिया 4