+
+

माधव नेपाललाई पार्टीभित्रै गुटबन्दी गरेको आरोप

खनाल निकट नेताहरुका अनुसार अपानि कार्यान्वयनमा जाने अवस्था छैन, तर माधव नेपालको चाहना त सार्वजनिक भएको छ । उनीहरूको आशंका छ, दशौं महाधिवेशनबाट फेरि अध्यक्ष बन्ने गरी अध्यक्ष नेपालले अपानि तयार पारेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते २२:५०

२९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हस्ताक्षर राखेर बिहीबार सार्वजनिक भएको अन्तरपार्टी निर्देशन–११ प्रति चर्को असन्तुष्टि देखिएको छ । नेताहरुको जिम्मेवारी हेरफेरसहित जारी ३४ पृष्ठ लामो अपानिप्रति पूर्वप्रधानमन्त्री झलनाथ खनाल आफैले सार्वजनिक असन्तुष्टि जनाएका छन् ।

नेताहरुका अनुसार, अध्यक्ष नेपालले आफ्ना विश्वासिला नेताहरुलाई प्राथमिकतामा राखेर एक्लौटी जिम्मेवारी हेरफेर गरेको भन्दै खनाल र उनी निकट नेताहरुको अपानिप्रति असन्तुष्टि देखिएको हो । नेता खनाल त अपानि नसच्याए पार्टीमा ठूलो समस्या आउन सक्ने बताउँछन् ।

‘पार्टीको सम्मानित नेता मलाई थाहा छैन । कुन कमिटीबाट निर्णय भएको भन्ने थाहा छैन’ अनलाइनखबरसँग खनाल भन्छन्, ‘सार्वजनिक भएको अपानि मान्न सकिने अवस्था छैन । सच्चिएन भने के होला भन्ने त्यसपछि थाहा हुन्छ ।’

आगामी १४–१८ माघमा दशौं राष्ट्रिय महाधिवेशन गरिने मिति उल्लेख गरेर अपानि सार्वजनिक भएपछि केही नेताले पार्टी परित्यागकै घोषणा गरेका छन् । पार्टी छोडेको घोषणा गर्ने मध्ये रुपन्देहीका राजु गुरुङलाई अपानिले लुम्बिनी प्रदेश सचिवको जिम्मेवारी दिइएको छ । गत चुनावमा रुपन्देही–२ बाट उम्मेदवार रहेका उनी प्रदेश अध्यक्षकै चाहनामा थिए ।

तर अपानिमा लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारी सोमप्रसाद पाण्डेलाई दिइएको छ । पाण्डे आर्थिक विभाग प्रमुख र महाधिवेशन आर्थिक संकलन समिति सदस्य समेत छन् । पाल्पा–२ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लडेका पाण्डे यसअघि आर्थिक विभाग प्रमुख थिए । अध्यक्ष नेपालले आफ्ना नातेदार पाण्डेलाई तेहोरो जिम्मेवारी दिदै अपानि जारी गरेको भन्दै गुरुङले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

‘अपानि पुरापुर एक्लौटी छ । माधव नेपाललाई प्रश्न गर्नेहरुलाई भित्तामा पुर्याउने काम गरिएको छ’, खनाल निकट एक नेता भन्छन् । तर आफूलाई साथ दिने जतिलाई कुनै मापदण्डको वास्ता नगरी जिम्मेवारीको चाङ लगाइएको उनी बताउँछन् ।

पार्टी सचिव रामकुमारी झाँक्रीले पाएको जिम्मेवारी एउटा बलियो उदाहरण भएको ती नेता बताउँछन् । अपानि अनुसार, झाँक्रीले प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन तथा यूरोप, अमेरिका र ल्याटिन अमेरिकाको इन्चार्जको भूमिका पाएका छन् ।

पार्टी गठनमा माधव नेपाललाई साथ दिएपनि पछिल्लो सार्वजनिक रुपमै प्रश्न उठाउन थालेपछि जनसम्पर्क कम हुने क्षेत्रको जिम्मेवारी दिइएको उनी बताउँछन् । ‘रामकुमारी झाँक्रीले संगठन बलियो बनाउनेगरी आवश्यक भूमिका माग्नुभएको थियो । तर प्रवासको जिम्मेवारी दिइयो, त्यसमा पनि एउटा क्लस्टरको मात्रै’, ती नेता भन्छन् । तर अध्यक्ष नेपाल निकट रहेका अरु पदाधिकारीले महत्वपूर्ण र एक भन्दा बढी जम्मेवारी पाएको उनी बताउँछन् ।

तर अध्यक्ष नेपाल निकट नेता सोमप्रसाद पाण्डे भने यो अपानिलाई लिएर धारणा नबनाउने आग्रह गर्छन् । ‘यो गृहकार्य मात्रै हो, अन्तिम रुप दिएको अपानि नै होइन’ पाण्डे भन्छन्, ‘फाइनल नभएको अपानि कसैले सार्वजनिक गरिदिएछ ।’ १ असोजमा बस्ने सचिवालय बैठकबाट अपानिले अन्तिम रुप पाउने उनी बताउँछन् । ‘यो फाइनल कपी होइन भनेपछि थप कुरा गरिरहनै परेन’ पाण्डे भन्छन् ।

मापदण्डमाथि प्रश्न

नेता खनाल निकट नेताहरुले अपानि कार्यान्वयनमा नगएपनि अध्यक्ष नेपालप्रति प्रश्न उठेको बताउँछन् । ‘कार्यान्वयनमा जाने अवस्था छैन, तर माधव नेपालको चाहना त सार्वजनिक भयो’, खनाल निकट अर्का नेता भन्छन् ।

ती नेता, दशौं महाधिवेशनबाट फेरि अध्यक्ष बन्ने गरी अध्यक्ष नेपालले अपानि तयार पारेको आशंका गर्छन् । ‘फागुनमा माधव नेपाल ७१ वर्ष लाग्नु हुन्छ, त्यसैले माघमै महाधिवेशन गर्नेगरी आफ्ना विश्वास पात्रहरुमा जिम्मेवारीको थुप्रो लगाउनु भएको देखियो’, उनी भन्छन् ।

अध्यक्षमै रहिरहन सामान्य मापदण्डको समेत वास्ता नगरिएको खनाल निकट नेताहरुको बुझाइ छ । उनीहरुको दाबी अनुसार, अहिलेको अपानिमा उल्लेख भएको प्रदेश इन्चार्जको जिम्मेवारी दिने निर्णय चाहिँ पार्टी बैठकले गरेको थियो । जसअनुसार, हरी पराजुलीलाई सचिव मनोनयन गरेर लुम्बिनीको इन्चार्ज बनाउने, बागमतीको इन्चार्ज गंगालाल तुलाधार, गण्डकीको इन्चार्ज तुलबहादुर गुरुङ र जीवनराम श्रेष्ठ केन्द्रीय कार्यालय सचिव हुने थिए ।

तर अपानिमा त्योभन्दा अगाडि बढेर आफू निकट नेताहरुलाई दोहोरो÷तेहोरो जिम्मेवारी दिइएको भन्दै खनाल पक्षले असन्तुष्टि जनाएका छन् । उनीहरुले २१ जना केन्द्रीय सदस्य मनोनीतदेखि संघीय सरकारका दुई मन्त्री वेदुराम भुसाल र प्रकाश ज्वालासहित प्रमेश हमाल, नागेन्द्र चौधरी, गरिमा शाह, सोम पाण्डे लगायतलाई प्राथमिकतामा राखेर दिइएको जिम्मेवारीमा प्रश्न उठाएका छन् ।

उपाध्यक्ष हमाललाई विदेश विभाग उपप्रमुख, पार्टी स्कूल विभाग प्रमुख र महाधिवेशन आर्थिक संकलन समितिको संयोजकको जिम्मेवारी दिइएको छ । सचिव गरिमा शाह अनेम संघको सहइन्चार्ज र सुदूरपश्चिम प्रदेशको इन्चार्ज छन् । ‘एउटा पार्टी सचिवलाई यति महत्वपूर्ण र धेरै जिम्मेवारी छ । अर्को सचिव (रामकुमारी) लाई कहिले मन्त्री बनेको भन्दै पार्टी जिम्मेवारी नदिने र दिँदा पनि प्रवासतिर दिने गर्नुले प्रश्न त उठ्छ’, खनाल नजिकका एक केन्द्रीय सदस्य भन्छन् । पहिले मन्त्रीलाई जिम्मेवारी नदिने भन्ने नीति भएपनि अहिले चाहिँ तेहोरोसम्म जिम्मेवारी दिने काम भएको उनी बताउँछन् ।

अपानिअनुसार, कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाललाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कर्णाली प्रदेश इन्चार्ज र संगठन विभागको उपप्रमुखको समेत जिम्मेवारी दिइएको छ ।

अध्यक्ष नेपालका पार्टी अर्का सचिव नागेन्द्र चौधरी मोर्चा फाँटको सहइन्चार्ज, आदिवासी जनजाति महासंघको इन्चार्ज र स्वास्थ्य विभागको प्रमुख छन् । तर कम विश्वास भएका, खनालतिर निकट रहेका र सार्वजनिक प्रश्न गर्नेहरुलाई भएकै जिम्मेवारीबाट पनि हटाउने गरिएको असन्तुष्टहरुको भनाइ छ ।

केन्द्रीय सदस्य मेटमणि चौधरी, अपानप्रतिको असन्तुष्टिमा दुई समस्या रहेको बताउँछन् । ‘अपानिमा कहीँ काहीँ मिलेको छैन, ध्यान नपुगेकै हो’ चौधरी भन्छन्, ‘अर्कातिर आफूले खोजे जस्तो नहुँदाको पनि असन्तुष्टि देखियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?