+
+
किताब :

‘अन्तर’ को अन्तरकुन्तर

गणेश कार्की गणेश कार्की
२०८० भदौ ३० गते १३:४०

यौनिक तथा लैंगिक अल्पसंख्यकको बिषयमा लेखिएको उपन्यास हो, रमेश सायनको ‘अन्तर’ । उपन्यास त्यतिमा सीमित भने छैन । उपन्यासको मुलकथासँगै समाजको भोगाइ, सोचाइ पनि समेटिएको छ । जस्तो कि :

क. केही अगाडिको समाज: समयले छोटो समयमा लामो फड्को मार्‍यो । केही अगाडिसम्म मात्रै पनि नेपाली समाज अलग चरित्रको थियो । दिनचर्या अलग हुन्थ्यो । मान्छेको रमाइलो र उत्सवको संरचना अलग्गै हुन्थ्यो । बर्खे बिदामा केटाकेटीहरुको दिनचर्या फेरिएको छ । गुलेली बोकेर चरा ताकेर हिँड्ने, धापमा दुवाली छेकेर माछा मार्ने केटाकेटीहरु मोबाइलमा अल्मलिएका छन् । प्रविधि हातहातमा पुगेको छ र परम्परागत खेल, बसिबियाँलोहरु फेरिएका छन् ।

उपन्यासले हामीबाट छुटेको त्यो समय, त्यो मौलिकताको सुवास ल्याइदिएको छ । बालापनको रमाइला पलहरुले गाउँले जीवन भोगेकाहरुलाई त्यही ठाउँमा पुर्‍याउन सक्छ । अन्तिम सिट र मेलामा रमन जस्ता घटनाक्रमहरुले परम्परागत मनोरञ्जनबाट आधुनिक मनोरञ्जनमा फड्किदै गरेको संक्रमणकालीन समयको मज्जा दिन्छ । यस्ता धेरै प्रसंगहरुले थाहै नपाई हामीलाई केही अगाडिको नेपाली समाजको अनुभव गराउँछन् ।

ख. नयाँ ‘समस्या’: अल्पसंख्यक र फरक विशेषता भएकाहरुलाई खुल्न, सार्वजनिक हुन अनुकुलता बढ्दैछ । तर अझै पनि यस्ता धेरै विषयहरु छन्, जसलाई समाजले नयाँ समस्याका रुपमा लिएको छ । त्यहीमध्येको एक बिषय हो, समलैंगिकता । समलिंगीपनलाई समस्याका रुपमा लिने सामाजिक स्वभाव बलियो छ । समलिंगी सम्बन्धका, विवाहका र सँगसँगै विभेदका समाचारहरु बाहिरिन थालेका छन् ।

उपन्यासले समलिंगीले भोग्नुपर्ने अफ्ठ्यारा र गर्नुपरेका संघर्षको कथा भनेको छ । उपन्यास  पढेर सकेपछि लाग्छ, समलैंगितालाई समस्या ठान्ने समाजको मनस्थिति चाहिँ समस्या हो । समाजको मनस्थिति परिवर्तन हुने हो भने यसमा कुनै पनि किसिमको समस्या छैन । यसैले उपन्यासले समाजको नयाँ ‘समस्या’को पहिचान गरेको छ ।

कथाक्रम

उपन्यासको मूलकथा एक समलिंगी किशोरको भोगाइ र उसको बढ्दो उमेरसँगै बढ्ने अन्यौल र संघर्षमा आधारित छ । त्यसबाहेक यसमा उपस्थित हरेक पात्रको आफ्नै स्वभावगत चरित्रहरु छन् । तीमध्येका केही उपकथाहरुले उपन्यासलाई बलियो बनाएका छन् । समाज र मूलपात्रको चरित्रलाई उकेरा लगाएका छन् ।

१. शब्दको कथा

एकछिन मूलपात्र शब्दको अनुभूति र मानसिक संघर्षलाई थाती राखिदिने हो भने शब्दको कथानक यस्तो हुन्छ । एउटा बालक विस्तारै किशोरावस्थामा प्रवेश गर्दैछ । उसका अनुभूतिहरु आफ्ना समवयीका जस्ता छैनन् । सँगैका अरु साथीले जस्तो उसलाई किशोरीहरुले आकर्षित गर्दैनन्, उनीहरुको शरीरबाट आउने प्राकृतिक गन्धले उसमा सुवास छर्दैन ।

उसका सपनामा किशोरीहरु आउँदैनन् । गाउँकै स्कुलमा साथीहरुको लहैलहैमा उसको पनि अनुजासँग ‘लभ पर्छ’ । तर गाउँले फुपु साइनो पर्ने आफ्नी प्रेमिकालाई उसले प्रेमिकाभन्दा फुपू नै देख्न चाहन्छ । भन्छ, ‘तिमी साइनोको मात्र फुपू हैन, साँच्चिकै फुपू बन । फुपूले गर्ने माया गर । प्रेमिकाले गर्ने माया नगर (पेज १००) ।’

आफ्नै प्रेमिकाको उप्रतिको प्रेम बुझ्दैन । र सोच्छ, उसकी प्रेमिका उसका लागि स्कुलको झोलाजस्ती हो, बोक्दिनँ भन्न नपाइने, छाड्छु भन्न नपाइने (पेज ५०) । बरु प्रेमिकाको प्रेमलाई ऊ दिदीले भन्दा भाइले सुनेको जस्तो सोच्छ । आमाले भन्दा छोराले सुने जस्तो सुन्छ । ऊ आफ्नै फुपू हो र उसको खुट्टा ढोग्नुपर्छ भने जस्तो भाव प्रकट गर्छ (पेज ९५) । जब आफ्नै निकट साथीसँग ऊ आकर्षित भएपछि अन्तरका बारेमा सोच्न थाल्छ ।

‘किन अमनको नाङ्गो जिउले अनौठो सुखबोध गरायो ? किन उसको जिउ छुन मन लाग्दैछ ? (पेज ६०)’ । ‘अनुजाले छुँदा दुख हुन्छ । अमनले छुँदा किन सुख भयो ? (पेज ६२)’ । बरु एक निकट किशोर साथीप्रति ऊ आकर्षित हुन्छ । अनि थाहा पाउँछ, आफू अरु किशोरभन्दा अलग रहेको । अनुभूतिको तुलनापछि थाहा पाएको अन्तरले उसले निष्कर्ष निकाल्छ प्रेमको । ‘अनुजाले मेरो कम्बरमा समातेझैं बेलाबेला उसको (अमनको) कम्मर समातेँ । थाहा पाएँ, अनुजा किन मलाई यसरी समात्छे (पेज ७७) ।’

त्यसपछि सुरु हुन्छ उसको वास्तविक अन्तरको कथा । एउटा मान्छेभित्र एक र बाहिर अर्कै भएर बाँच्नु पर्दाको उकुसमुकुसको कथा । कसैसामू भन्न नसक्ने उसको अन्तरको कथा । दुई मान्छे भएर बाँच्नजति गाह्रो यो संसारमा अरु के होला ? (पेज १५५) । त्यही गाह्रो भोगाइको कथा ।

ऊ थप अध्ययनका लागि काठमाडौँ पुग्छ । पढाइमा अब्बल ऊ आफूभित्रको उकुसमुकुसमा गुम्सिन थाल्छ । त्यहि गुम्साइमा गाँजाको अम्मली बन्छ ।

‘मभित्रको अर्को मान्छे एक्लै छटपटाइरहेको छ । त्यो मर्‍यो भने म पनि मर्छु (पेज १६०)’ भनेर साथीलाई भन्न तयार हुन्छ । कसै न कसैलाई नभनी बाँच्न गाह्रो हुने अवस्थामा पुगेपछि उसले नजिकको साथीलाई आफ्नो वास्तविकता भन्छ । तर साथीले अरुलाई सुनाउँछ र ऊ शब्दबाट छक्का बन्छ । आफ्नो पहिचानको गुम्स्याइ, गाँजाको अम्मल र घरको जिम्मेवारीबीच पिसिँदा ऊ आत्महत्याको लागिसम्म तयार बन्छ । दिक्क भएर मन्दिर र गुम्बा चहार्छ । साधु भेट्छ । साधुसँगको सामिप्यताबाट उसले साधुभित्रको उजस्तै अन्तर थाहा पाउँछ र पुन: आफ्नै संसारमा फर्किन्छ, संघर्ष गर्न तयार भएर ।

साथीबाट प्रेरणा पाएर उसले आफ्नो बाबुलाई पत्रमार्फत आफ्नो अन्तर सुनाउँछ । तर जवाफमा केही पनि आउँदैन ।

विश्वविद्यालयमा उसले महिला अधिकारवादी महिलाको संगतबाट थाहा पाउँछ कि समलिंगीहरु अल्पसंख्यकभित्र पनि अल्पसंख्यकमा पर्छन्, दलितभित्रका पनि दलितमा पर्छन् र बन्धनमा परेकाहरुबाट पनि बाँधिएकामा पर्छन् । अनि, सफलताको एउटा मञ्चमा पुगे पछि उसले सार्वजनिक गर्छ, आफ्नो संघर्षको बारेमा । भन्छ, ‘मैले सारा डर त्यागिसकेँ । घरपरिवारको इज्जतको ठेक्का बिसाइसकेँ । म मेरो जीवनको मात्र जिम्मा लिन्छु । मेरो जीवन, मेरो अधिकार । मेरो शरीर, मेरो हक । मेरो अनुभूति, मेरो विश्वास । म म हुँ र म तपाईभन्दा अलग छु, गलत छैन’ (पेज २३७) । ऊ गर्व साथ भन्न तयार हुन्छ, ऊ समलिंगी हो (पेज २३७) ।

२. उपकथाहरु

क. बा आमाको कथा

बा अर्थात श्यामनाथ अर्थात बिबिसी हुलाकी । आमा अर्थात शर्मिला । शब्द अर्थात श्यामनाथ र शर्मिलाको छोरो । श्यामनाथले ढाड कुप्रिन थालेपछि मात्रै सन्तानसुख भोग्न पाए । बुढ्यौलीमा जन्मिएको उनको छोरोलाई उनी बुढो भएको मन पर्दैन थियो । उनीबाट छोरो टाढिन चाहन्थ्यो । कारण हो, ‘भुरा साथीहरुले उसलाई भन्थे, ‘तेरा बाउ बुढो छ । हजुरबा भन् ।, (पेज ३)’ ।

तर उपन्यासको कथा श्यामनाथ र शर्मिलाको होइन । उनीहरुको छोरा शब्दको हो । तर उपन्यासभरि बाआमाले छोरोको कथालाई प्रभाव पारिरहन्छन् ।

बा श्यामनाथलाई आफ्नो छोरोलाई एसएसलसीपछि काठमाडौँमा पढाउनु छ । यसैले काठमाडौँमा मेलम्चीको पानी आउन लागेको समाचारले गाउँमा रहेका उनको ओठमा मुस्कान छरिन्छ । उनी समाचार सुनेर खुसी भएर भन्छन्, ‘अब पानीको दु:ख नहुने रैछ है काठमाडौँमा’ (पेज ९) ।

उनी औसत बा हुन् । उनलाई छोराले अरु भन्दा धेरै प्रगति गरेको हेर्नुछ । उनी छोरालाई पुर्‍याउन सँगै काठमाडौँ पुग्छन् । शहरबाट छोराले कम्प्युटरमा टाइप गरेर चिठी पठाइदिए गर्वले गाउँभरि चिठ्ठी देखाउँदै हिड्न सक्छन् । र भन्न सक्छन्, ‘तँलाई म घरखेत बेचेर पनि पढाउँछु ।’ (पेज १३६) । तर छोराले आफ्नो जीवनको त्यत्रो अन्तरको उनलाई खबर दिँदा दु:खमा उनी मौनतामा डुबिदिन्छन् । निराशाले बिरामी बन्छन् ।

फोनमा एकदिन आमाले सुनाउँछिन्, ‘बालाई के भयो, भयो । खाना राम्रो खानुहुदैन । कोहीसँग बोल्नुहुदैन । गाउँ डुल्नुहुदैन । एकतमासको हुनुभएको छ । जागिर छाड्नुभयो । धेरै दुब्लाउनु भएको छ । धामीकोमा जाउँ भन्छु, मान्नु हुन्न । डाक्टरकोमा जाउँ भन्छु, कुनै बिमार छैन भन्नुहुन्छ (पेज २३०) ।’

आफ्नै अन्तरको संघर्षमा रहेको शब्दलाई त्यसमा पनि पश्चाताप हुन्छ । सोच्छ, ‘मैले बाको जीवनमा आगो झोसिदिएँ । (पेज २३१) ।’

तर आमा स्वभावैले बाभन्दा फरक छिन् । तर आमाको औसत स्वभाव उनीसँग पनि छ । बिहेमा आएको एउटा ऐना आफ्नै छोराले फुटाइदिदा उसको जन्ममा नै खोट देखाएर भन्छिन्, ‘केही बाँकी नराख्ने भइस्, के जन्मिस् के ?’ (पेज ३१) तर उही छोराले सार्वजनिक मञ्चबाट म समलिंगी हुँ भन्दा भन्न सक्छिन्, ‘तँ मेरो सन्तान होस् । तँ जे भए पनि हुन्छ मलाई । (पेज २३८) ।’

यसैले उपन्यासमा औसत बाआमाको कथा छ । जसले आममानिसको जीवनमा समलिंगी सन्तान हुँदाको परिवर्तनका बारेमा पृष्ठभूमि बनाउन सहयोगी बनेको छ ।

ख. अमनको कथा: अमन शब्दको बालखैदेखिको साथी हो । खोलामा नांगै पौडी खेल्दा होस् वा ऐनाका अगाडि नांगै उभिएको अनुभव सुनाउँदा होस् वा प्रेमिकालाई चिठ्ठी लेनदेन गर्दा होस् वा म समलिंगी हुँ भनेर शब्दले सुनाउँदा होस् वा विश्वविद्यालय ‘टप’ गरेपछि आमालाई ल्याउने बेलामा होस्, शब्दसँग अमन साथै रहन्छ ।

अमनको आफ्नै कथा छ । ऊ किशोर हुँदै एउटै स्कुलकी छात्रा स्वस्थानीलाई मन पराउँछ । उनीहरुको प्रेम हुन्छ । स्वास्थानीले उसलाई थाहै नदिई अन्तै बिहे गर्छे । ऊ पनि उमेर भएपछि बिहे गरेर आफ्नै घरसंसारमा रमाउँछ ।

शब्दको जीवनका अधिकतम मुख्य घटनाहरुमा अमन सधैं साथै रहन्छ । त्यो बाहेक अमन त्यस्तो मान्छे हो जसले शब्दलाई पहिलो पटक स्पष्ट रुपमा समलैंगिकताको अनुभूति दिलाएको हुन्छ । शब्द अमनप्रति यति धेरै आकर्षित हुन्छ कि उसलाई अमनको प्रेमिकाप्रति इर्ष्याभाव रहन्छ । उसलाई किशोर अवस्थाभर अमनमा आफ्नो मात्रै हक लाग्ने अनुभव हुन्छ । पछि स्वामी तेजले शब्दलाई आफ्नो प्रेमको बारेमा भनिरहदा अमनले तुलना गर्छ । ‘म अमनप्रति जति आकर्षित भएँ, त्यति नै मप्रति स्वामी तेज पनि आकर्षित भइरहेका रहेछन् । (पेज १८२)’

अमनले शब्दको अन्तर थाहा पाएपछि शब्दलाई ढाडस दिन्छ र भन्छ, ‘पहिला नै भन्न पर्थ्यो नि (पेज १८७) ।’ आफ्नो बारेमा थाहा पाएपछि घरमा अब सबै कुरा बिग्रियो भन्ने सोचेर ‘आमाको भान्सामा अब कहिल्यै खिर पाक्नेछैन । (पेज २२६)’ भनेर शब्द निराश भएको बेला शब्दका लागि शब्दको घर गएर सम्झाउने (पेज २३४) अमन नै थियो ।

यति भन्नै पर्छ कि अमन पात्र एउटा आदर्श साथी हो ।

ग. रमन, अनुजा, बलदेव र अम्बिकाको कोलाज: रमन पनि शब्दकै क्लासमेट हो । तर उमेर केही बढी । सुरो । आँटिलो । स्वछन्द । रमनले अम्बिकालाई मन पराउँछ । प्रेम प्रस्ताव राख्छ । हातमा ब्लेडले चिरेर अम्बिकाको नाम लेख्छ । यसैले उसले सधैं शब्दलाई झस्काइरहन्छ कि ऊ किन रमन जस्तो छैन । शब्दलाई आफूमा केही अलग भएको अनुभूति दिने रमन नै हो । किशोरावस्थामा शब्दका लागि रमन आदर्श किशोर हुन्छ । मेलामा कसैलाई जोगाउने हुँदा ऊ जेल पर्छ । त्यसपछि स्कुल नफर्किएको रमनको उपन्यासमा भूमिका छैन ।

अनुजाले सधैं शब्दलाई निशर्त प्रेम गर्छे । शब्दसँग बिहे गर्न चाहन्छे तर उसलाई थाहा छ, परिवारको मञ्जुरी बिना त्यो सम्भव छैन । सामाजिक विभेदका बारेमा ऊ जानकार छे । ऊ भन्छे, ‘नमानेर कहाँ हुन्छ । दिदीले पनि मानेकी थिइन, बिहे भयो । काकाकी छोरीले पनि मानेकी थिइन, बिहे भयो । मैले नमानेर मेरो बिहे रोकिदैन । मेरो बिहेमा मेरो के अधिकार? हामी छोरी हौँ । (पेज १००) ।’ उही अनुजा पछि माओवादीमा लागेर भूमिगत छापामार बन्छे । ‘पछाडि पारिएका सम्पूर्ण वर्ग एकजुट हुनुपर्छ (पेज १३४)’ भन्दै भाषण गर्ने हुन्छे । र, पछि शहीद हुन्छे (पेज १८९) ।

बलदेव त्यही साथी हो, जोसँग शब्दको क्याम्पसमा पहिलो पटक मित्रता भएको हुन्छ । भिन्न किसिमको आत्मीयता हुन्छ । आफूभित्रको अन्तर, गाँजाको लत र परिवारको जिम्मेवारीबीचमा पिल्सिएर मानसिकरुपमा शब्द क्षतविक्षत हुन्छ । उसले आडभरोसाका लागि बलदेवसामू पहिलो पटक खुल्छ र भन्छ, आफ्नो वास्तविकता । तर बलदेवले क्याम्पसमा अरुका सामू थेत्तरो पारामा हल्ला गरिदिन्छ । मानसिक रुपमा शब्द झन् व्यथित बन्छ । ‘हावा, पानी, माटो, ढुंगा सबले मलाई छक्का भनेर गिज्याएझैं‌ लाग्न थाल्यो । (पेज १६८)’ भनेर ऊ आत्महत्याको असफल प्रयास गर्छ ।

अम्बिका पनि शब्दकै स्कुलकी साथी हो । रमनले प्रेम प्रस्तावको चिठ्ठी अम्बिकालाई लेख्यो । अम्बिकाले जवाफ दिई, ‘असती मुर्दार, तेरो घरमा दिदीबैनी छैनन् ! (पेज १६)’ । त्यसपछि पनि रमनले अम्बिकाको पिछा छोडेन । तर त्यही बर्षको दशैँ बिदापछि अम्बिका स्कुल आइन (पेज १७) । पछि एक्कासी शब्द विश्वविद्यालय भर्ना भएपछि परिचयका क्रममा अम्बिका भेटिइ (पेज १९४) । ऊ महिलावादी छे । पुरुष र महिलाबीचको विभेद हटाउने क्रान्तिमा समाहित छे ।

तर जब शब्दले समलिंगी अधिकारको लागि पनि आवाज उठाउँछ, उसले भन्छे, ‘कहिलेबाट ती छक्काहरुको अधिकारबारे चासो गर्न थाल्यौ ? (पेज २२८)’ । यसपछि शब्दमा शंका बढ्छ कि बलदेवकै इतिहास दोहोरिन्छ भन्ने । उसलाई लाग्छ, ‘मलाई बुझिदेली भन्ने लागेको थियो । मैले उसलाई मेरो कथा भन्नै नपाई ऊ मेरो कथा सुन्न नसक्ने प्रमाणित भई । मैले उसलाई म को हुँ भनेर बुझाउन नपाई ऊ नबुझ्ने अफ्ठ्यारी भई । (पेज २२९)’ शब्दले आफू समलिंगी भएको घोषणा गर्दा अम्बिका छक्क परेकी छ ।

रमन, अनुजा, बलदेव र अम्बिकाको चारित्रिक कोलाजले अलग अलग तर सामाजिक स्वभावहरुको चरित्र चित्रण गरेका छन् । रमन जसले शब्दको लागि पुरुषको मानक स्थापित गर्छ । अनुजा जसले रमनमार्फत बनेको मानकसामू शब्दको अन्तरलाई अंकुरित गरिदिन्छ । बलदेव जसले शब्दको वास्तविकतालाई हल्ला र नकारात्मक धारणा बनाउँछ । र, अम्बिका जसले अल्पसंख्यकभित्र पनि वर्ग विभाजन गरेर दलितभित्रका दलितहरुको समस्यालाई नजरअन्दाज गरिदिन्छ । यी चरित्रहरुले अन्तर उपन्यासलाई बिषयप्रति थप मुखरित बनाएका छन् ।

घ. स्वामी तेजको कथा: यो उपकथा छोटो तर अर्थपूर्ण छ । सांसारिक जीवनबाट वाक्क भएर स्वामीहरुप्रति आकर्षण भएको शब्दलाई स्वामी तेजले फेरि सांसारिक जीवनमा फर्काइदिन्छन् । स्वामी तेजसँग हाइकिङ गएपछि थाहा पाउँछ, स्वामी तेज पनि समलिंगी हुन् । र, उनी शब्दसँग आकर्षित छन् ।

छोटो उपकथामा आफ्नै कोठामा आगोले पोलेको घाउ र त्यही औँलामा ढोका बन्द गर्दा पुन: लागेको घाउ बिम्बात्मक रुपमा पुरानो अवस्थालाई देखाउन सफल भएका छन् । त्यसपछि रगत बग्दै गरेको घाउ च्यापेर शब्दले ‘म पछाडि नफर्की अगाडि-अगाडि दगुरिरहेँ । (पेज १८३)’ भन्नुले ऊ पुन: सांसारिक संसारमा फर्किएको मिठो विम्ब सिर्जना गरिएको छ ।

ङ. गोमा एक्लीको कथा : गोमा गाउँकी महिला हुन् जसले आफ्नो सम्पन्न श्रीमान छोडेर माइती आएर एक्लै बसेकी छन् । यसैले उनलाई एक्ली भनेर बोलाउँछन् । उनले श्रीमान छोड्नु पछाडिको कारणका रुपमा फरक फरक अफवाह र अनुमानहरु छन् । तर जब बुढ्यौली टेक्दै गरेकी एक्लीसँग शब्दले संवाद गर्छ तब शब्दको अनुमान फेरिन्छ ।

उसलाई आफू र एक्लीले भोगिरहेको अन्तरका बारेमा हेक्का हुन्छ । ‘फारु नगरी हास्ने, फारु नगरी बोल्ने (पेज ३३)’ एक्लीसँग संवादपछि शब्दले सोच्छ, ‘के मैले जे भोगिरहेको छु, त्यैबाट गुज्रेर बुढी भएकी हुन् गोमा दिदी पनि ? (पेज २११)’ । ती एक्ली मान्छे चुपचाप गाउँबाट बिदा भएर बुढेसकालमा देवघाट आश्रमतिर लाग्छिन् (पेज २३०) ।

उपन्यासमा एक्ली गोमाको उपकथाले समलिंगीहरुको एक्लो संघर्षलाई चरित्र चित्रण गरेको छ । ‘अरुसँग जुध्नुअघि मान्छेले आफैसँग जुध्नुपर्छ । गोमा दिदी आफूसँग जुधिन् । आफूलाई जितिन् । खुसी भइन् । (पेज २११)’ । उनको जीवन भोगाइ देखेर शब्दलाई संघर्षका लागि थप तयार पारेको देखिन्छ ।

लेखक सायनले अन्तरमार्फत यस्तो संवेदनशील बिषयलाई छोएका छन्, जसमा केही गलत लेखिदा विभेदको र अपमानको पीडामा परेका वा पर्छु भनेर डराएकाहरुलाई थप पीडा दिन सक्छ । तर पुरै उपन्यास पढिसक्दा सायनले पीडा दिएका छैनन्, बरु उनीहरुको सम्मानित जीवन र उनीहरुको अस्तित्वको स्वीकार्यताको लागि आवाज बुलन्द बनाएका छन् ।

आफूभन्दा अगल पहिचान र त्यसमा पनि अलग यौनिक पहिचानको बारेमा लेख्दा देखाउनुपर्ने सावधानीको कारणले सायनले कतै न कतै लय बिगार्छन् कि भन्ने डर मलाई किताब सक्नु अघिसम्म भयंकर थियो तर पढेर यति चाँडै सकियो कि मैले धेरै डराइरहनुपरेन । मुद्दा र कला दुबैका दृष्टिकोणले अन्तरको सम्पूर्ण अन्तरकुन्तर टड्कारो छ । जीवन्त छ । सुन्दर छ ।

उपन्यासका केही संरचना र शैलीले पाठकको मन बिझाउने ठाउँ खोजे अवश्य भेटिन्छन् । फिल्मी झैँ लाग्ने गरी कमसल पात्रका पुनरागमनका घटनाक्रम पनि छन् । नपत्याए कथाको अन्त्यमा महिला अधिकारवादी देखाइएकी अम्बिकालाई नै हेर्नुस् । बाल्यकालका पाठकले सजिलै बिर्सने गरी बिलाएकी साथी अम्बिकालाई नै पछि कथामा ल्याइराख्न जरुरी थिएन । अम्बिकाको चरित्रका लागि अन्य कोही युवती नै भए पनि उत्तिकै बलियो र प्रभावकारी हुन सक्थ्यो ।

उपन्यासमा यौनिकता र अन्तरमा पूर्वीय दर्शन र सभ्यताको बिषय उपन्यासमा छैन । पुस्तक पढेको निकै समय पछि त्यो विषय छुट्यो कि भन्ने लाग्न सक्छ ।

कथाको अलगपन अनि सायनको शब्दको जादूले ज्यादै तानिएर पनि होला मैले कथाका सबै अवयवलाई ध्यान दिन सकिनँ । मेरो मानवीय त्रुटि वा औसत पाठकीय चरित्र हुन पर्छ । कतिपय सन्दर्भमा ईच्छा हुँदाहुँदै पनि त्यसरी ध्यान दिने अवसर समेत पाइनँ ।

सचिन यगोल श्रेष्ठले बनाउनुभएको किताबको आवरण गज्जब राम्रो छ । लेआउट उमेश काफ्लेले गर्नुभएको छ । किताब यही बर्ष जेठमा प्रकाशित भएको हो । उपन्यास २३८ पेजको छ । मूल्य ५५५ रुपैया छ ।

पुस्तकमा भूमिका लेखाउने दुख गरिएको छैन । त्यस्तै कसले सम्पादन गर्‍यो, कसले शुद्दाशुद्दी हेर्यो भन्ने जानकारी पनि किताबमा दिइएको छैन ।

नेपाली साहित्यमा राम्रो उपन्यास पढ्न चाहनेहरुले, सामाजिक विभेदका बारेमा जान्न चाहनेहरुले, अल्पसंख्यक त्यसमा पनि यौनिक अल्पसंख्यकहरुका बारेमा जान्न चाहनेहरुले पढ्न पर्ने उपन्यासको सूचिमा राख्छु म ।

लेखकको बारेमा
गणेश कार्की

वातावरण विज्ञान र व्यवस्थापन विषयका अध्येता कार्की विभिन्न सामाजिक बिषयवस्तुमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?