
३० भदौ, पोखरा । साहित्यकार रमेश सायनकृत उपन्यास ‘अन्तर’को शनिबार पोखरामा चर्चा गरिएको छ । र्यान्डम रिडर्स सोसाइटीले आफ्नो शतक शृंखलामा ‘अन्तर’को चर्चा गरेको हो ।
उपन्यासको परिचर्चा गर्दै गणेश कार्कीले राम्रो उपन्यास पढ्न चाहनेका लागि ‘अन्तर’ महत्वपूर्ण कृति भएको दाबी गरे । सामाजिक विभेद तथा यौनिक अल्पसंख्यकबारे जान्न चाहेका लागि अन्तरले उठाएका विषय महत्वपूर्ण रहेको जिकिर गरे ।
‘सायनले अन्तरमार्फत् यस्तो संवेदनशील विषयलाई छोएका छन्, जसमा केही गलत लेखिँदा विभेदको र अपमानको पीडामा परेका वा पर्छु भनेर डराएकाहरूलाई थप पीडा दिन सक्छ’, कार्कीले भने, ‘तर पूरै उपन्यास पढिसक्दा सायनले पीडा दिएका छैनन्, बरु उनीहरूको सम्मानित जीवन र उनीहरूको अस्तित्वको स्वीकार्यताको लागि आवाज बुलन्द बनाएका छन् ।’
मुद्दा र कला दुवैका दृष्टिकोणले ‘अन्तर’को सम्पूर्ण अन्तरकुन्तर सुन्दर रहेको कार्कीको भनाइ थियो । उपन्यासले समलिंगीले भोग्नुपर्ने अप्ठेरा र गर्नुपर्ने संघर्षको कथा उधिनिएको बताउँदै उनले भने, ‘उपन्यास सकेपछि समलैङ्गिकतालाई समस्या ठान्ने समाजको मनस्थिति नै समस्या हो भन्ने निष्कर्षमा पुगेको छु ।’
उपन्यासकार सायनले आफ्नै घरमा छोरा र छोरीबीच देखेको विभेदबाट प्रभावित भएर फरक विषयमा कृति लेख्ने प्रेरणा पाएको सुनाए ।
कतिपय वौद्धिक वर्गका मानिसले नै समलिंगी हुनुलाई प्राकृतिक कुरा नभई मानसिक समस्याका रूपमा लिने गरेकोसमेत उनको भनाइ थियो । ‘वास्तवमा समाजका लागि यस्तो सोच जटिल समस्या हो’, उनले भने ।
पाठकहरूले राखेका जिज्ञासाको जवाफ दिँदै उनले सरल शैलीमा फरक लैंगिक विशेषता भएको वर्गको कथा लेखेको बताए । उनले यौनिकताका सम्बन्धमा सामाजिक मनोविज्ञान परिवर्तन हुनुपर्नेमा जोड दिए ।
कृतिका पात्रहरूले बोकेको चरित्रको अवस्था केही मात्रामा परिवर्तन भए पनि अझै पनि लुकिरहनुपरेको आफूले देखेको भन्दै सायनले कृति लेखनका क्रममा यौनिक अल्पसंख्यकसँग प्रशस्त भेटघाट गरेको अनुभव सुनाए ।
लैंगिक अल्पसंख्यक अगुवा रजनी थकालीले आम प्रचलनमा आएका रचना र चलचित्रहरूमा लैंगिक अल्पसंख्यकहरूलाई हाँसोको पात्र बनाइने गरेकोमा दुःख व्यक्त गरिन् ।
‘तेस्रोलिंगीको अवस्थामा क्रमशः परिवर्तन भएको अवस्था ‘अन्तर’मा देखाइएको छ’, उनले भनिन् । यस्ता विषयमा कृति तयार पार्दा सम्बन्धित पक्षसँग समन्वय गर्न पनि उनले आग्रह गरिन् ।
यसअघि भागेर भूगोलभरि (कविता संग्रह) र छुटेका अनुहार (निबन्ध संग्रह) प्रकाशन गरिसकेका सायनको तेस्रो कृति अन्तर उपन्यास बजारमा ल्याएका हुन् ।
प्रतिक्रिया 4