+

मुस्ताङ गल्फ च्यालेन्जको उपाधि श्यामलाई

२०८० भदौ  ३० गते २०:१२ २०८० भदौ ३० गते २०:१२
मुस्ताङ गल्फ च्यालेन्जको उपाधि श्यामलाई

३० भदौ, पोखरा । दोस्रो मुस्ताङ गल्फ च्यालेन्जको उपाधि डिफेन्डिङ च्याम्पियन श्याम तामाङले जितेका छन् । ९ होल ३६ पारमा भएको खेल श्यामले एक अन्डर १९ अंकका साथ उपाधि जितेका हुन् ।

शनिबार सर्वाधिक उचाई ४६४५ मिटरमा भएको खेलमा पोखरेली गल्फर लिलाजंग गुरुङ दोस्रो भएका छन् । उनले लेवल पार १८ अंक जोडे ।

प्रतियोगितामा महिलातर्फ पोखरकै जुनी गुरुङ विजयी भएकी छन् । उनले १५ स्कोर गर्दा काठमाडौंकी गल्फर सुष्मा सिंह १३ अंकका साथ दोस्रो भइन् ।

रविन राना ग्रस च्याम्पियन भएका छन् । समान अंक जोडेका याम राना र पीवी राईलाई ब्याक काउन्टमा रवीनले पराजित गरेका हुन् । तीनै जनाले ११ अंक जोडेकोमा अन्तिम होलमा रविनले २ अंक जोडेपछि उपाधीको छिनोफानो भएको हो ।

सर्वाधिक बर्डिजको उपाधि आत्मराम सिंखडाले जिते भने लंगेस्ट ड्राइभ माधव सिंखडाले हिर्काए । सिनियर तर्फको पुरस्कार भने पोखराका बलराम थापाले पाए । ६१ वर्षका थापाले १६ स्कोर गरेका थिए । उनी गतवर्षको उपविजेता हुन् ।

४ हजार ६ सय ४५ मिटरको उचाईको कोर्षमा भएको प्रतिस्पर्धामा तामाङले ९ होलमा १९ स्कोर बनाए । उनले एक अन्डर खेल्दै उपाधि उचाल्दा पोखराका लिलाजंग भने १८ अंकसहित दोस्रो स्थानमा चित्त बुझाए ।

लिलाजंगले लेभलपार १८ को स्कोर बनाएका थिए । २४ पुरुष गल्फर सहभागिता रहेको प्रतिस्पर्धाको ग्रस तर्फ रविन राना च्याम्पियन बने । उनले पोखराका याम रानालाई पछाडि पारे । क्लोजेष्ट टु दी पीन मेजर विजय लामाले पाए ।

होल इन वान कसैले पनि जित्न सकेन । होल इन वानका लागि घोडा र ५० कार्टुन स्याउ पुरस्कार राखिएको थियो ।

२४ पुरुष र ४ महिला गरी २८ गल्फर सहभागी खेल स्टेवल फोर्ड फर्म्याटमा खेलाइएको थियो । अघिल्लो वर्ष निर्माण गरिएको कोर्सलाई विश्व गिनिज बुकमा रेकर्ड गराउने प्रयास गरिएको छ ।

त्यसैका लागि मुस्ताङ गल्फ कोर्स दर्ता गरेर जग्गा प्राप्तिको प्रक्रिया थालिएको प्रवन्ध निर्देशक तथा पूर्व सांसद इन्द्रधारा विष्टले जानकारी दिए । उनले नेपालमा नयाँ पहिचान थप्ने सपना अनुसार काम गरिरहेको बताए ।

‘सर्वोच्च शिखर सगरमाथा र लुम्बिनीसँगै विश्वले अव सर्वाधिक उचाईमा रहेको गल्फ कोर्स रहेको भूमि का रुपमा पनि नेपाललाई चिन्नेछ,’ उनले भने, ‘त्यसैलाई सघाउन प्रवर्द्धनात्मक गल्फ प्रतियोगिता गरिएको हो ।’

खेलकुद गल्फ मुस्ताङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय