
३१ भदौ, बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी (ट्रक) समिति बुटवलले सामुदायिक विद्यालयमा अध्ययनरत १९ जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
रुपन्देही, कपिलवस्तु, नवलपरासी, अर्घाखाँची, नवलपुर र स्याङ्जाका सरकारी विद्यालयमा अध्ययनरत ट्रक चालकका छोराछोरी र विद्यालयको सिफारिसका आधारमा अन्य गरी १९ जनालाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति रकम प्रदान गरिएको हो ।
समितिका पूर्वअध्यक्ष अर्जुन रानाभाट, कोषाध्यक्ष लालबहादुर श्रेष्ठ र पूर्वअध्यक्ष गणेश पन्थले समितिबाट आफूले पाउने पारिश्रमिकको रकमबाट स्थापना गरेको कल्याणकारी कोषबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको कार्यक्रम संयोजक प्रतापबहादुर कार्कीले बताए ।
छात्रवृत्ति वितरण गर्दै नेपाल यातायात व्यवसायी महासंघका पूर्वअध्यक्ष अर्जुन रानाभाटले गरीब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा प्रोत्साहनका लागि अक्षयकोष स्थापना गरेर छात्रवृत्ति वितरण सुरु गरिएको बताए ।
समितिका अध्यक्ष यमप्रसाद पाण्डेले अक्षयकोषलाई वृद्धि गरेर थप विद्यार्थीलाई छात्रवृत्ति दिइने बताए । सो अवसरमा दुर्घटनामा परी मृत्यु भएका चालकको परिवारलाई समितिले ३ लाख रुपैयां बीमा रकम प्रदान गरेको छ ।
प्रतिक्रिया 4