+
+
ब्लग :

तीजको दर, लट्टे अनि मुङ्ग्रे केरा

गाउँघर रित्तिन थाले । अनदी फल्ने खेत बाँझो भए । विकासका नाममा रैथाने मुङ्ग्रे केराको बोट मासियो । दिदीका आफ्नै छोरी माइत आउने भए । मितिनी दिदीले संसार छाडिसक्नुभयो । सुवास दाइ र ज्ञानु दिदी अहिले विदेश छन् ।

सुशीलचन्द्र अधिकारी सुशीलचन्द्र अधिकारी
२०८० भदौ ३१ गते १४:१७

असारको रोपाइँ सकेपछि साउने संक्रान्तिबाट चाडबाडको मेहेरो सुरु हुन्थ्यो, मेरो गाउँघरमा । सडकले नछोएको आफ्नै मौलिक पहिचान थियो, लमजुङको दोर्दी १ स्थित सानो गाउँ लामिस्वाराको ।

गुचुमुच्च र छरिएका घरहरू । भक्ति थापाको जन्मस्थान मोहोरियाकोट र राइनासकोट आँखै अगाडि । मिलेको समाज । मुख्य पेशा खेतीपाती र पशुपालन । भजन, बालन, तीज गीत मुख्य मौलिक संस्कृति ।

अहिलेको जस्तो टेलिफोनको जमाना थिएन । टाढाटाढा रहेका आफन्तको अवस्था थाहा पाउनका लागि प्रत्यक्ष भेट्नु नै पर्ने थियो वा कसैलाई समाचार पठाएर नै जानकारी लिने-दिने प्रचलन थियो । वर्षात्को समय खोलानाला बढ्ने र सबै खेतीमा व्यस्त हुने भएकाले भेटघाट गर्न सहज नहुने ।

साउनको पहिलो साता । अग्लो कदका, सेतो कछाड, आस्कोट र पछाडि छाता भिरेर हिंडेपछि टाढाबाट पनि सहजै चिन्न सकिन्थ्यो नयाँघरे जेठाऊ ।

साउने टपरो बोकी निस्कन्थे छोरी-चेली भेट्न । साउन महिनामा भेटघाट गर्न कोसेलीको रूपमा सेल रोटीको उपहारलाई साउने टपरो भनिन्थ्यो ।

बिहान झिसमिसेमा उठेर घाँस काँट्ने, दिउँसो स्कुल जाने र बेलुका घाँस काट्ने दैनिकी थियो हाम्रो । शनिबार मेलापर्म गरेर भदौरे महिनाको सिमसिमे पानीमा स्याँखु ओढेर खेत गोड्ने र साथीहरूसँग रमाइलो गर्ने बेला थियो ।

चाडपर्वको लागि समय व्यवस्थापन गर्न नजिकै घाँस पाल्ने प्रचलन हुन्थ्यो । तीज व्रत बस्नेका लागि काम नलगाउने प्रचलन । बस्तुभाउका लागि थोरै परिवारका सदस्यले पनि काम भ्याउन सजिलो बनाउन साँचेर राखिन्थ्यो घाँस ।

कुशेऔंसीको दिनदेखि तीजले छुन थाल्यो । टाढाटाढा भएका छोरीचेली लिन जाने चलन थियो । यातायातको सुविधा नहुने । हिंडेर जानुपर्ने । सकभर साथी मिलेर जाने चलन थियो । म, गल्लीमाथि माइला दाइ, पल्लाछेउको ठूलो कान्छो । हाम्रो समूह बन्यो । चेपेपारि दिदीबहिनी भएकाको ग्रुप ।

मेरो दिदीको घर गोरखा हर्मी । हिंडेर जाँदा ७ घण्टा लाग्थ्यो । बीचमा तार्दी खोला र चेपे खोला तर्नुपर्ने । राइनासको उकालो बाटो । पात्लेपानी देखिमाथि डाँडाको चौतारोसम्म जुका लाग्ने स्याउँस्याउँती । त्यसमा पनि सिमसिमे भदौरे झरी । टिमुरको धुलो, नून र तितेपातीको सहायताले जुका भगाउँदै अगाडि बढेका थियौं ।

जङ्गलतिर भेडाबाख्रा भेटिन्थे । बटुवाका लागि आधार लाग्थ्यो । गिद्दे पहराको जङ्गल, अनकन्टार थियो । माथि ठूलठूला पहरा । टाउको सेतो भएको चराको समूह तोरी गाँडेको खलबलले पटक–पटक मुटु चस्स हुन्थ्यो । जसोतसो छिचोलेर अगाडि बढियो ।

वर्षायामको चेपे नदी जाँगर तर्न नसकिने । घुमाउरो बाटो भएर बोराङघोलाको पुल तरेर चेपे पारि पुगियो । त्यहाँबाट सबै आफ्ना दिदीबहिनीको घर जान छुट्टिन्थ्यौं ।

सबैको फरक फरक स्थान । भोलिपल्ट भेट हुनका लागि जो चाँडै आए पनि पाती मुन्टा टिपेर त्यसमाथि ढुङ्गो राखेपछि आएको थाहा हुने गरी सङ्केतको व्यवस्था मिलाइएको थियो । साँझ परेपछि दिदी घर पुगियो ।

भोलिपल्ट सविता भान्जीलाई काँधमा बोकेर दिदीसँग त्यही बाटो फर्कियो । घर आउँदा साँझ पर्थ्यो । माहोल निकै रमाइलो, सबैका घरमा छोरीचेलीले भरिपूर्ण । हाम्रा हुजुरबुवाका नातिनातिना धेरै ।

तीजको जमघट निकै रमाइलो । भान्जी दिदी लोकगीत गाउन र नाँच्न सिपालु । गाउँघर उज्यालो । वर्ष दिनमा भेट हुने दिदीबहिनी । रमाइलो भेटघाट । अन्तरमनका कुरा बिसाउने थलो ।

तीजको एक हप्ता अगाडि साँचेर राखेको मुुङ्ग्रे काटियो । बाबरी, धुस्रु र परालले बेरेर थुन्सेमा राखिएको थियो केरा पकाउन । आँगनको डिलमा थाँक्रामा अड्काएर राखिएका थिए मादले काँक्रा । भकारामा थियो लैनो भैंसी । एक भदालो दूध दिन्थ्यो ।

मुहाने गरा र ढापमा अनदी धान रोपिन्थ्यो । तीजको लागि लट्टे पकाउन चामल । तीजको अघिल्लो दिन दर खाने । घिरौंलाको तरकारी, अनदीको लट्टे अनि भैंसीको दूध । सबैभन्दा मिठो र मौलिक परिकार ।

सबैभन्दा नजिकको नाता मितेरी । बाको मितिनी दिदीको घर लाँकुरीभञ्जाङमा थियो । उहाँ डाक्टर्नी दिदीको नामले परिचित हुनुहुन्थ्यो भारतेमा ।सम्मानित र सहयोगी व्यक्तित्व । तीजको दरखाने दिन बेलुका मितिनी दिदी आउनुहुन्थ्यो । हामीलाई मिठाई र बिस्कुट ल्याइदिनुहुन्थ्यो । दिदीसँग ज्ञानुदिदी र सुवास दाइ आउनुहुन्थ्यो । सुवास दाइलाई मुङ्ग्रे केरा निकै मन पर्ने ।

सबै जम्मा भएर बेलुका लट्टे खाइन्थ्यो । राति उठेर घिउ हालेको भात दरको रूपमा खाइन्थ्यो ।

तीजको दिन दिदीबहिनी जम्मा भएर भारतेको स्कुलमा नाचगानका लागि जाने र बेलुका दूध, केरा, काक्रो खाइन्थ्यो । दूध तथा केरा नभएकोले एकआपसमा बाँडेर खाने चलन थियो ।

ऋषिपञ्चमीका दिन सबै तार्दी खोलामा नुहाउन जाने र आइडाँडाको चौतारोमा वर–पीपलको दर्शन गरी एकछिन नाचगान गरेर आउनुहुन्थ्यो । दिउँसो पूजा र नाचगान गरेर तीज सकिन्थ्यो ।

मलाई पनि तीजमा दिदीहरूले गाएको गीत सुन्न र नाचेको हेर्न औधी मनपर्छ । समय बित्दै गयो । तीज त्यसैगरी हरेक वर्ष आउन थाल्यो । समयसँगै तीजको महत्व मनाउने चलन बदलिंदै गयो । अहिले गाउँ शहरमा एक महिना अघिदेखि तीजको रमझम गर्ने चलन आयो ।

मौलिकता हरायो । चौतारा र मन्दिरमा बसेर गाउने गीत पार्टी प्यालेसमा यूट्युबबाट बज्न थाल्यो । भड्किलोपन र विकृतिले मौलिकता हरायो ।

गाउँघर रित्तिन थाले । अनदी फल्ने खेत बाँझो भए । विकासका नाममा रैथाने मुङ्ग्रे केराको बोट मासियो । दिदीका आफ्नै छोरी माइत आउने भए । मितिनी दिदीले संसार छाडिसक्नुभयो । सुवास दाइ र ज्ञानु दिदी अहिले विदेश छन् । उहाँहरूसँग म्यासेन्जरमा कुरा हुँदा तीज, दर अनि मुङ्ग्रे केराको अनुभूति साट्नुहुन्छ ।

हाम्रो पुस्ता मौलिकता र आफ्नोपनसँगै तीजमा रमाउन पाइयो । ती मौलिक र भव्य तीज अब स्मरणमा मात्र बाँकी छन् । अब त्यो मौलिकता फर्किएला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?