
३१ भदौ, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक फेरिएका छन् । सरकारले पुष्पराज शाहीलाई सम्पत्ति शुद्धीकरण अनसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ ।
२९ भदौमा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका सहसहिचव शाहीलाई प्रधामनन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेर पठाएको थियो । उनै शाहीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकको जिम्मेवारी पाएका हुन् ।
विभागका हालका महानिर्देशक तारानाथ अधिकारीलाई नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा आर्थिक मामिला हेर्ने कूटनीतिज्ञ (इकोनोमिक मिनिस्टर) का रुपमा काम गर्ने गरी सरुवा गरिएको स्रोतले जानकारी दियो । अधिकारीले परराष्ट्र मन्त्रालय अन्तरगत रहेर दिल्लीमा काम गर्नेछन् । हालसम्म उक्त पद रिक्त थियो ।
अधिकारी २८ भदौ २०७९मा विभागको महानिर्देशक बनेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको यो विभागमा प्रधानमन्त्रीले चाहेअनुसार नै महानिर्देशक खटाउने गरिएको छ ।
अधिकारीभन्दा अघि विभागमा प्रेमप्रसाद भट्टराई महानिर्देशक थिए । असोज २०७८ मा विभाग पुगेका भट्टराईले एक वर्ष पनि काम गर्न पाएका थिएनन् । त्यसपछि अधिकारीले विभागको नेतृत्वमा रहेर काम गरे पनि सरकार उनीबाट सन्तुष्ट रहन सकेन ।
फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को एशिया प्यासिफिक ग्रुप (एपीजी)ले तेस्रो पारस्परिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा वित्तीय सहयोग नियन्त्रणसम्बन्धमा नेपालका विभिन्न कमजोरीहरु औंल्याएका बेला विभागको महानिर्देशक फेरिएको छ ।
प्रतिक्रिया 4