+
+

एक महिनामा नेपाल भित्रिने रेमिट्यान्सले राख्यो कीर्तिमान, २६ प्रतिशतले वृद्धि

वैदेशिक रोजगारीमा जाने घट्दै

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १७:२६

३१ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै १ खर्ब १६ अर्ब विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक पहिलो महिनाको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनका अनुसार गत वर्षको साउनको तुलनामा रेमिट्यान्स २५.८ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्ष २०७९/८० को साउनमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । साउनमा आएको रेमिट्यान्स अहिलेसम्म कुनै पनि महिनामा भित्रिएको सबैभन्दा बढी रेमिट्यान्स हो ।

साउनमा ८७ करोड ९८ लाख अमेरिकीडलर बराबर रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । डलरमा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.५ प्रतिशतले रेमिट्यान्स बढेको हो ।

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन हुँदा पनि नेपाली रुपैयाँमा रेमिट्यान्सको वृद्धि धेरै देखिएको हो ।

यसअघि २०७९ फागुनमा १ खर्ब ९ अर्ब रेमिट्यान्स आएको थियो । कोभिड–१९ महामारीमा भएको लकडाउनसँगै केही महिना घटेको रेमिट्यान्स पहिलो पटक २०७७ असारमा १ खर्ब नाघेको थियो । पछिल्लो ९ महिनादेखि भने लगातार १ खर्बभन्दा बढी रेमिट्यान्स आइरहेको छ ।

कोभिडपछि गएको दुई आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दा त्यसको प्रभाव रेमिट्यान्समा देखिएकोहो ।

तर, चालु आर्थिक वर्षको पहिलो महिनामा भने वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएको छ ।

साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३९ हजार १५२ रहेको राष्ट्र बैंक्ले जनाएको छ । जुन गत आर्थिक वर्षको साउनको तुलनामा १२.१ प्रतिशतले हो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि १९.५ प्रतिशतले घटेको छ । साउनमा वैदेशिक रोजगारीक लागि १६ हजार ४२३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?