३१ भदौ, काठमाडौं । अनोज खड्का र सुष्मा यादवले तेस्रो चेल्सी अन्तरविद्यालय रोड रेसमा आइतबार स्वर्ण पदक जितेका छन् । ४.५ किलोमिटर दूरीको छात्र दौडमा अनोज तथा छात्रामा सुष्मा पहिलो भएका हुन् । दुवै बूढानीलकण्ठ स्कुलका हुन् ।
चेल्सी वर्ल्ड स्कलद्वारा आयोजित प्रतियोगितामा अनोजले निर्धारित दूरी १६.५१ मिनेटमा पूरा गरे । विजय बुढा मगर १६.५२ मिनेटमा दोस्रो तथा विवेक लामा १६.५३ मिनेटमा तेस्रो भए । विजय र विवेक पनि बूढानीलकण्ठकै हुन् ।
सुष्माले निर्धारित दूरी तय गर्न २१.४१ मिनेट समय खर्चिन् । २२.३७ मिनेटसाथ बूढानीकलकण्ठकी सुजाता केसी दोस्रो तथा २३.४० सेकेन्डमा दौड पूरा गरेकी हाइली क्रिएटिभकी सभ्यता खड्का तेश्रो बने ।
प्रतियोगितामा बूढानीलकण्ठ समग्रमा टिम च्याम्पियन बन्यो । बूढानीलकण्ठले १९ अंक जोड्यो । विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल, कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर, चेल्सीका संस्थापक प्रिन्सिपल डा. सुधिरकुमार झा, चेल्सी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द आदित्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतियोगितामा विभिन्न २० विद्यालयका ३ सय ५० प्रतिस्पर्धीको सहभागिता रहेको चेल्सीका इसीए इन्चार्ज राजन न्यौपानेले जनाएका छन् । दौड अत्तरखेलस्थित नेपाल मेडिकल कजेज चोकबाट सुरु विभिन्न भागको परिक्रमा गरी अत्तरखेलस्थित आयोजक चेल्सीको प्राङ्गणमा आएर टुंगिएको थियो ।
प्रतिक्रिया 4