
३१ भदौ, काठमाडौं । अध्यागमन विभागका महानिर्देशक सहसचिव झलकराम अधिकारी सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग सम्बन्ध देखिएपछि विवादमा मुछिए ।
गृह मन्त्रालयले उनलाई जिम्मेवारीबाट समेत हटायो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीसँग बयान कागज गर्यो । तर, अधिकारीलाई प्रतिवादी भने बनाएन ।
तर, आरोपी दावा छिरिङलाई बयान गराउँदै ब्यूरोले झलकराम अधिकारीसँग गरिएको संवादबारे सोधेको छ । अनुसन्धानका क्रममा अधिकारीले पानी तान्ने पम्पको फोटो दावालाई पठाएको देखिएको थियो ।
अनुसन्धानका क्रममा चिनियाँ नागरिकको समूहले ब्रेक प्याडमा मात्र होइन, अन्य विभिन्न उपकरणभित्र राखेर सुन तस्करी गरेको खुलेको थियो । त्यसैले यसमा अधिकारीको समेत संलग्नता आशंका गरिएको थियो ।
तर, दावाले बयानका क्रममा अधिकारीले गाउँका मान्छेलाई पानी तान्ने पम्प आयात गर्नुपर्ने भएकाले आयात गर्ने कोही मानिस छ कि भनेर आफूलाई त्यो फोटो पठाएको बताएका छन् । ‘केरुङ भन्सारबाट चिनियाँ रक्सी, चुरोट लिलाम गर्दैछ भन्ने थाहा पाएर त्यसको विषयमा कुरा गर्नका लागि राजश्व अनुसन्धान विभागका तत्कालीन कार्यालय प्रमुख अधिकारीलाई मैले म्यासेज गरेको थिएँ’, उनले भनेका छन् ।
उनको बयानबाट दावालाई विद्युतीय सिगरेट (भेप) मा लुकाएर तस्करी भएको सुनबारे पनि थाहा भएको खुल्छ । प्रहरीले उनको मोबाइलमा सुनसहितको भेप भएको सुटकेशको फोटो समेत बरामद गरेको थियो ।
‘त्यो सुटकेसको फोटो विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिए पश्चाम चिनियाँ नागरिक ली फुचेनले पठाएका थिए’, उनले भनेका छन्, ‘फोटो पठाएर उनले त्यसबारे भन्सार कार्यालयमा बुझिदिनु भनेका थिए ।’
उनले सुनमा संलग्न आरोपीहरुलाई होटलमा राखे पनि आफू तस्करीमा संलग्न नरहेको दाबी गरेका छन् ।
प्रतिक्रिया 4