+
+

तीजको पर्याय नै बनेको ‘तीजको रहर आयो बरिलै’

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १ गते १२:५८

गाऔं स्वर खोलेर दिदी र बहिनी

नाचौं न मिलेर दामली सैनी

तीजको रहर आयो बरिलै

तीजको रहर आयो बरिलै

तीज भन्नेबित्तिकै फिल्म ‘कन्यादान’को यो चर्चित गीत मानसपटलमा आइहाल्छ । २०४८ सालको उक्त फिल्ममा समावेश यो गीत आजपर्यन्त पनि उत्तिकै कालजयी र मर्मस्पर्शी छ ।

त्यसयता यो गीतमाथि सयौं रिमेक (परिमार्जन) बने । तर अहिले पनि तीज भन्नेबित्तिकै उक्त गीत धेरैको रोजाइमा पर्छ । त्यतिबेलाको समाज र सम्बन्ध दर्शाउने यो गीतलाई चेतन कार्कीले लेखेका हुन् । मनोहरि सिंहको संगीत र सुष्मा श्रेष्ठ (पूर्णिमा)को स्वर रहेको यो गीत तीन दशकपछि पनि उत्तिकै लोकप्रिय छ ।

बसुन्धरा भुसाल, शुभद्रा अधिकारी, गौरी मल्ल लगायतले अभिनय गरेको यो गीतको नृत्य निर्देशन वसन्त श्रेष्ठले गरेका हुन् । गौरी एकल महिलाको भूमिकामा, शुभद्रा सासु र बसुन्धरा गाउँले साथीको भूमिकामा गीतमा फिचर्ड छन् । यी तीन पात्रको मनोविज्ञानमा तयार पारिएको गीतले नाच्न र रमाउन महिलालाई आह्वान गर्छ ।

हरेक तीजमा सदाबहार गीतको रुपमा यो गीत गाउँदेखि सहरसम्म बज्छ । तीजको बेला सबैभन्दा बढी रिमेक गरिएको यो गीतलाई युट्युबमा करोडौं पटक हेरिएको छ ।

सो गीतमा अभिनय गरेकी बसुन्धरा भुसाल फिल्म ‘कन्यादान’को उक्त गीतलाई कसैले जित्न नसक्ने बताउँछिन् । ‘वर्षको एकचोटि महिलालाई यो गीत नभई हुँदै हुँदैन । ओल्ड इज गोल्ड भन्छन् नि । पुरानो भनेको पुरानै हो । पोखराको डाँडामा गरेको गीत कहिल्यै बिर्सन सकिंदैन,’ उनी भन्छिन्, ‘धेरैले रिमेक गरे तर हाम्रो कन्यादानको यो गीतलाई कसैले जित्न सकेनन् । मनले जित्न पनि सक्दैनन् र मायाले पनि जित्न सक्दैनन् । यो गाना त्यति फेमस भएको छ ।’

पोखराको एक डाँडामा खिचिएको यो गीतको छायांकनको रमाइलो सम्झना बसुन्धरालाई अहिले पनि छ । ‘हामीले नाचिरेहका थियों । तर गौरी सेतो लुगा लगाएर आएको हुन्छ । सासुको भूमिकामा रहेकी शुभद्रा दिदीले झ्याम्म गालामा हानेपछि गौरीको आँखाबाट आगो निस्किएको थियो । साँच्चिकै चोट लागेपछि निर्देशक प्रकाश थापाले शुभद्रा दिदीलाई सम्झाउनुभएको थियो,’ उनी सुनाउँछिन् ।

पछिल्लो समयका तीज गीत मर्मस्पर्शीभन्दा दोहोरी खेलेको जस्तो प्रतीत हुने भुसालको बुझाइ छ । ‘घरमा सासु, नन्दले दुःख दिएको गीत हुन्थ्यो त्यतिबेला । अहिले यस्ता सयौं गीत बनेका छन् । तर त्यो जत्तिको देखिन मैले । तीजको गीतमा यसले उसलाई गाली गर्छ, यसले उसलाई गाली गर्छ । त्यो त दोहोरी खेल्या जस्तो भयो । त्यसो गर्नु हुँदैन भन्ने लाग्छ,’ भुसालले भनिन् ।

उक्त गीतको कोरियोग्राफी वसन्त श्रेष्ठको हो । उनी आफूले जीवनको सबैभन्दा ठूलो पुरस्कार नै यही भएको बताउँछन् । ‘अचम्मै भयो त्यो गाना, त्यतिबेला हामीले यतिबेला हिट होला भन्ने सोचेका थिएनौं । यो गीत हिट हुनु पछाडि गीत एकदमै राम्रो छ । कलाकारले अति नै राम्रो काम गर्नुभएको छ । मैले सक्दो काम गर्‍या छु । त्यसअनुसार नै यो लोकप्रिय भएको हो ।’

नृत्य गर्ने सबै कलाकार काठमाडौंबाटै लगेको र दुई दिनमा त्यो गीत सकिएको उनले सम्झिए । ‘आफूले गरेको कामको प्रशंसा हुनु भन्दा खुसीको कुरा के हुन्छ र ? सबैभन्दा ठूलो पुरस्कार नै यही हो,’ श्रेष्ठ भन्छन् ।

लोकसंगीतका अध्येता डा. गोविन्द आचार्य कुनै पर्वमा गाइने गीतमा शब्द, संगीत र प्रस्तुति झल्किनुपर्ने बताउँछन् । उनी तीज गीत र तीजको बेला गाइने गीतमा भिन्नता हुने बताउँछन् । विद्यावारिधिको बेला एक सयभन्दा बढी तीज गीतको अध्ययन गरेका अध्येता आचार्य यो गीतको संगीतमा तीजको रङ र मर्म प्रशस्त रहेको बताउँछन् । उनको बुझाइमा तीज गीत पौराणिक कथाबाट प्रेरित भएर गाइन्छन् ।

यसबाहेक युट्युबमा ‘सोचेझैं जिन्दगी रैनछ’ गीतलाई दुई करोड पटक हेरिएको छ भने ‘चिटिक्कै भाछु रे’ बोलको गीतलाई २ करोड २० लाख पटक हेरिएको छ । सामाजिक सञ्जालले यी गीतको भ्युज बढेपछि कन्यादान फिल्मको उक्त सदाबहार गीत अहिले मर्मस्पर्शी सुनिन्छ ।

युट्युबको व्यापकता नहुँदै हरिदेवी कोइराला, बीमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ, प्रजापति पराजुली, विष्णु माझी लगायतले गाएका गीत हिट थिए । ती गीतको भ्युज युट्युबमा कम पाइन्छ । तर पछिल्लो समय सार्वजनिक थुप्रै गीतले युट्युबमा करोड भ्युज पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?