+
+
६० किलो सुन तस्करी प्रकरण :

सुनसहितको स्मार्ट वाच भन्सारबाट हराउन थालेपछि ब्रेक प्याडमार्फत तस्करी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १ गते १४:१३

१ असोज, काठमाडौं । मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर सुन तस्करी गरेको गिरोहले २०२३ को मार्चदेखि नेपालमार्फत तस्करी गर्न थालेको भेटिएको छ । सुरुवातमा उनीहरुले स्मार्ट वाचमा सुन राखेर तस्करी गरेको अनुसन्धानका क्रममा खुलेको हो ।

तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बेलाबेला केही घडी हराउन थालेपछि ब्रेक प्याड र सेभर (दाह्री काट्ने मेसिन) मा राखेर सुन ल्याउन थालेको सुन प्रकरणमा पक्राउ परेका आरोपी लि जेक्वाङले बताएका छन् ।

सरकारी वकिलको रोहबरमा उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘एक पटक ८ वटा घडी हराएपछि सेभर र ब्रेक प्याड लगायतमा राखेर सुन ल्याउन थालेको हो ।’

उनले बयानमा भनेअनुसार एउटा घडीमा २० ग्राम सुन हुन्थ्यो भने सेभरमा ५० ग्राम सुन आएँथ्यो । ‘ती सामानमा कहिले सुन राखेर त कहिले सुन नराखी आउने गरेको थियो’, उनले भनेका छन्, ‘ब्रेक प्याडमा आएको सामान कहिल्यै हराउँदैनथ्यो र एकसेट ब्रेक प्याडमा ५ सयदेखि ६ सय ग्राम सुन आउने गरेको थियो ।

चिनियाँ नागरिक चोङ चिङ छह्रवाङ, चोङ चेनह्रवा, पिङ र एलेक्स भनिने याओ पुचेङ लगायतले ती सामग्री रेडी ट्रेड प्रालिमार्फत ल्याउने गरेको उनले बताएका छन् । प्रहरीका अनुसार जेक्वाङले बालुवाटार र लाजिम्पाटको गोदामको व्यवस्थापन गर्ने गरेका थिए ।

‘मलाई जानकारी भएसम्म घडीमा एक पटक ७५ वटामा सुन आएको थियो, सेभरमा एकपटकमा ७५÷७६ वटा गरेर दुई पटक आएको थियो’, उनले भनेका छन्, ‘ब्रेक प्याडको हकमा १९÷२० पटक सुन राखेर आएको थियो ।’

चेक्वाङले चीनबाट आफूलाई निर्देशन दिएअनुसार आफूले विभिन्न व्यक्तिलाई सुनको ढिक्का दिने गरेको पनि खुलाएका छन् । ‘कहिले ५ रुपैयाँ त कहिले १० रुपैयाँको नोटको फोटो आउँथ्यो, त्यसको नम्बर हेरेर त्यो नोट लिएर आउने व्यक्तिलाई डेलिभरी दिन्थें’, उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?