
१ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर राख्ने र गठबन्धनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।
‘आज गठबन्धनलाई धारे हात लगाएर, यसलाई कमजोर पार्नका लागि अनि यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नका लागि जुन किसिमको षड्यन्त्र भइरहेको छ, त्यसबाट होशियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छु’ उनले भने, ‘त्यसैले गठबन्धनलाई बलियो बनाउने हाम्रो जिम्मेवारी हो ।’
अहिलेको गठबन्धन निर्माणमा आफूहरुको अग्रणी भूमिका रहेको भन्दै उनले कसैले तानेर गठबन्धनमा नल्याएको जिकिर गरे । त्यसैले गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी पनि आफूहरुको रहेको अध्यक्ष नेपालले बताए ।
‘हामीले गठबन्धनलाई जोगाउने, बढाउने काममा भूमिका खेल्नुपर्छ । कमजोरी भएका छन् भने आलोचना गर्न सकिन्छ । बेठीक भए त्यसको आलोचना गर्न सकिन्छ । आलोचना गर्नु भनेको कमजोरीलाई सुधार गर्नका लागि हो, मिलेर अघि बढ्नका लागि हो’, उनले भने ।
अध्यक्ष नेपालले व्याख्यात्मक घोषणाको रुपमा एमसीसी पास नगरेको भए नेपालको हात तल पर्ने र नेपालको स्वाभिमानले नतमस्तक हुनुपर्ने स्थिति आउने बताए ।
‘यदि हामीले व्याख्यात्मक घोषणाको रुपमा थप्ने काम नगरेको भए एमसीसी यथास्थितिमा पास हुनेथियो । नेपालको हात तल पर्ने थियो, नेपालको स्वाभिमानले नतमस्तक हुनुपर्दथ्यो’, उनले भने ।
अध्यक्ष नेपालले केही मानिसले अमेरिकी सहयोग परियोजना (एमसीसी) अस्वीकार गर्नुपर्थ्यो भने पनि त्यो व्यावहारिक नहुने बताए । एमसीसी अस्वीकार गरेका कारण पार्टीको हैसियत सुधार हुन नसक्ने उनको टिप्पणी छ ।
‘एमसीसीको घोर विरोध गरेको मजदुर किसान पार्टी विरोध गरेको कारण वाहवाही पाउँथ्यो भने देशव्यापी फैलिसक्थ्यो । एमसीसी विरोधकै आधारमा हुने भए मोहनविक्रमजीहरुको पार्टीलाई सारा देशका जनताले भोटै भोट खसालेर सय सिट दिन्थे । हुँदो रहनेछ’, उनले भने ।
प्रतिक्रिया 4