+
+

पार्टी एकताका लागि माओवादी केन्द्र नाम फेर्न तयार

दिपेश शाही दिपेश शाही
२०८० असोज १ गते १६:३७

१ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्र अन्य कम्युनिष्ट घटकसँग पार्टी एकताका लागि नाम परिवर्तन गर्न तयार देखिएको छ ।

पार्टीको २५ भदौमा बसेको केन्द्रीय कार्यालयको बैठकले छलफलमा रहेका अन्य पार्टीसँगको एकतालाई सफल पार्नका लागि नामको पछाडि कोष्टमा रहेको (माओवादी केन्द्र) को बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय लिन सकिने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरी तल्ला कमिटीमा पठाएको उक्त सर्कुलरको २ नम्बर बुँदामा माओवादी केन्द्रले यस विषयमा स्पष्ट उल्लेख गरेको छ ।

‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढङ्गले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ’, जारी सर्कुलरमा माओवादी केन्द्रले भनेको छ ।

हाल पार्टी रुपान्तरणको तीन महिने अभियानमा रहेको माओवादी केन्द्रले यसलाई तल्ला कमिटीमा पनि छलफल गर्ने उद्देश्य राखेको छ । सबै नेता कार्यकर्ताबाट पार्टीको नाम परिवर्तन गरी अन्य पार्टीसँगको एकतालाई सफल तुल्याउन तयार पार्न खोजेको छ ।

माओवादीले तीन महिने अभियान सकिएलगत्तै आगामी मंसिरमा विधान महाधिवेशन गर्ने र त्यसपछि विशेष महाधिवेशन गर्ने निर्णय गत १७ देखि २१ साउनसम्म राजधानीमा चलेको केन्द्रीय समिति बैठकबाट गरेको थियो ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका र त्यहाँबाट सीधै छिमेकी मुलुक चीनको भ्रमणमा निस्कनुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले यस्तो निर्णय गरेको हो ।

‘छलफल गरेर यसलाई महाधिवेशनबाट टुंगो लगाउन सकिने भनेको हो’, माओवादीका एक पदाधिकारीले भने, ‘नामको अगाडि रहेको नेकपामा कुनै परिवर्तन हुँदैन । एकताका क्रममा माओवादी केन्द्र भन्दा नमान्ने हुनसक्छन् भन्ने भएर कोष्टकभित्र रहेको नामलाई परिवर्तन गरेर माओवादी केन्द्रको स्थानमा क्रान्तिकारी स्पिरिटलाई समेट्ने गरी नाम राख्न सकिन्छ भन्ने हो ।’

पार्टी एकताको उद्देश्यसहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपाबीच गत ४ असारमा समाजवादी मोर्चा घोषणा भइसकेको छ । पार्टी एकता गर्ने उद्देश्य राखेको उक्त मोर्चाले भर्खरै मात्रै देशका सात वटै प्रदेशमा सन्देश सभा सम्पन्न गरेको छ । हाल उक्त मोर्चाको अध्यक्षता एकीकृत समाजवादीले गरिरहेको छ भने नेतृत्व अध्यक्ष माधव नेपालले गरिरहेका छन् ।

मोर्चा गठन अघि र पछि निरन्तर यी पार्टीहरूबीच एकताका विषयमा छलफल भइरहेको भए पनि टुंगो लाग्न सकेको छैन । माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पार्टी एकताको बारेमा वार्ता गर्ने समिति बनाएको छ ।

यसअघि पार्टी प्रवक्ताको जिम्मेवारीमा रहेका उपाध्यक्ष महरालाई हाल पार्टी एकता र समाजवादी मोर्चाको प्रमुखको जिम्मेवारी समेत दिइएको छ ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?