
धेरै मानिसका लागि आफ्नो सपनाको घर खरिद गर्नु स्वैर कल्पना जस्तै बनिरहेको हुन्छ । किनकि घरजग्गाको भाउ संसारभर नै चुलिइरहेको छ ।
ऋण लिएर घर खरिद गरेका कतिपय मानिसहरु जीवनभर त्यही ऋण तिरिरहन बाध्य भएका हुन्छन् । तर यो दुनियाँमा एउटा यस्तो ठाउँ छ जहाँ साढे १० करोडभन्दा धेरै मूल्यका फ्ल्याटहरु केवल डेढ सय रुपैयाँ बराबरको मूल्यमा बिक्री भएका छन् ।
डेली एक्सप्रेसको रिपोर्ट अनुसार यस्तो सुन्दैमा आनन्द लाग्ने घटना बेलायतमा भएको हो । त्यहाँको कर्नवाल काउन्सिलले ६ लाख ४० हजार पाउण्ड मूल्य तोकिएका दोस्रो श्रेणीका फ्याटहरू केवल एक पाउण्ड मूल्यमा बेच्ने निर्णय गरेको छ ।
यही सेप्टेम्बर १३ मा काउन्सिलले लू क्षेत्रमा रहेका ११ वटा फ्ल्याटहरुको स्वामित्व केवल एक पाउण्डको दरमा सामुदायिक भूमि कोषमा हस्तान्तरण गर्न स्वीकृति दिएको हो ।
मानिसहरुलाई आवासको उच्च लागतबाट छुटकारा दिएर सुपथ मूल्यका आवास उपलब्ध गराउने योजना अनुरुप यस्तो निर्णय गरिएको हो ।
उप काउन्सिल नेता डेभिड ह्यारिसका अनुसार ती फ्ल्याटलाई खुल्ला बजारमा बेचिएको भने होइन । यो त्यस्तो क्षेत्र हो जहाँ घरलाई भाडामा वा स्वामित्वमा समेत दिन सकिन्छ । त्यहाँ अधिकांश त्यस्ता घरहरु छन् जहाँ मानिसहरु छुट्टी मनाउन आएर बस्दछन् ।
ती भवनहरुको उच्च मर्मत लागतका कारण केवल सांकेतिक मूल्य लिएर बिक्री गर्ने निर्णय काउन्सिलले गरेको बताइन्छ ।
अब सामुदायिक भूमि कोषले ती फ्ल्याटहरु जिर्णोद्धार तथा मर्मत गर्नेछ र त्यसमा १० लाख पाउण्ड खर्च हुनेछ र समुदायमै वितरण गरिनेछ ।
प्रतिक्रिया 4