
३ असोज, पोखरा । कक्षा ८ मा पढ्दाताकाको कुरो हो । देशमा माओवादी संघर्ष चर्किएको थियो । उनको गाउँमा नयाँ मान्छे आउने, जाने चलिरहन्थ्यो । उनीहरु विद्रोहका कुरा गर्थे, क्रान्तिका कुरा गर्थे ।
टुकी बालेर गृहकार्य गरिहेकी मैया नेपालीलाई उनीहरुको कुरा चाख लाग्न थाल्यो । पढाइभन्दा बढी घरमा आएका नयाँ मान्छेका गफ सुन्न थालिन् । उनीहरुको कुराकानी प्रायः जातीय विभेदविरुद्ध हुन्थ्यो, वर्गीय विभेदविरुद्ध हुन्थ्यो । उनका नजिकका दिदी, दाइहरु पनि युद्धमा सामेल भइसकेका थिए ।
मैयालाई पनि माओवादी लडाकू बन्ने रहर जाग्यो । तत्कालीन जनमुक्ति सेनाहरु घरमा आउँदा उनलाई पनि लडाकु भएर हिँड्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । एकपटक उनी घर छोडेर ‘जंगल’ पस्नै लागेकी थिइन् । तर, बाले राके ।
‘उहाँहरुको कुरा सुन्दा मलाई पढ्नमा भन्दा उहाँहरुको राजनीतिक धारणा सुन्न मजा आउँथ्यो । त्यसले पनि मलाई केही राजनीतिक चेत दियो,’ मैयाले भनिन्, ‘मैले समाजमा बच्चैदेखि जे भोगिराखेकी थिएँ, उहाँहरुले त्यही बोलिदिँदा हो रैछ भन्ने परेको थियो’ उनले भनिन् ।
सशस्त्र युद्धमा सामेल हुन नपाएपछि मैयाले १० कक्षासम्मको पढाइलाई निरन्रता दिइन् । तर, १० कक्षामा पढ्दापढ्दै अभिभावकले बिहे गरिदिए । त्यसपछि गृहिणी बन्न पुगिन्, छोरीबाट बुहारी ।
तर, सानै उमेरमा मैयाको मस्तिष्कमा पलाएको राजनीतिक चेत भने हराउन सकेको थिएन । जुन ठाउँमा उनी बिहे गरेर आइन्, त्यहाँ एमालेको राम्रो प्रभाव थियो । ‘उस्तै उस्तै थियो । दुवै कम्युनिस्ट धारको, त्यसपछि एमालेतिर लागें’, उनले सुनाइन् ।
आफ्नै वडाध्यक्षविरुद्ध विद्रोह
पोखरा महानगरपालिका–२४ कास्कीकोटकी मैयाँ नेपाली २०७४ सालमै वडासदस्य लड्न चाहन्थिन् । दाबी पनि गरेकी थिइन् । तर, अन्तिममा टिकट पाइनन् । ०७९ मा भने उनले आफ्नो जिद्धि छोडिनन्, दलित महिला वडासदस्य टिकट पाइन् । निर्वाचित पनि भइन् ।
आफूले भूइँतहबाटै उठाइरहेको आवाज निर्णायक तहमै पुगेपछि समाधान गर्न सजिलो होला भन्ठानेकी उनी त्यतिबेला रन्थनिइन्, जतिबेला आफ्नै वडाध्यक्षबाटै पटकपटक अवहेलनामात्रै होइन, जातीय विभेद नै सहनुपर्यो ।
सुरुमा बानीमा सुधार होला भनेर सहेरै बसे पनि गत पुस महिनामा एउटा सार्वजनिक कार्यक्रममा जातीय विभेदजन्य गालीगलौजमा उत्रिएपछि भने मैयाँले सहिनन् । उनले कानुनी उपचार खोज्ने निर्णय गरिन् ।
‘वडामा आउँदा सुरुमै ठेस लाग्यो । त्यतिबेला यसैका लागि राजनीति गरेको हो भने किन खेपेर बस्ने भन्ने भयो । मै चुप लागेर बसें भने अरुले के गर्लान् भन्ने भयो’, मैयाँले सुनाइन्, ‘म त हिजोका जुन भोग्दै आएँ, आजसम्म पनि मेरो समाजले त भोग्दै आएको छ । बद्लिएको त छैन । अब चुप लागेर बस्नुहुँदैन भनेर आवाज उठाएँ ।’
मैयाँले जातीय विभेद गरेको भन्दै उजुरी दिएपछि वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परे । हाल उनी जिल्ला अदालत कास्कीको आदेश अनुसार १ लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।
‘संविधान नआएको भए…’
संविधानमा दलित, महिला तथा सीमान्तकृत वर्गको हकअधिकारबारे लेखिएर नआएको भए आज मैयाँ नेपाली कहाँ हुन्थिन् ? प्रष्ट जवाफ उनीसँग छैन । तर, उनलाई यति थाहा छ, ‘सायद संविधानमै समानताको हक यसरी तोकिएरै नलेखिएको भए, यो अवसर सजिलै पाउने थिएन ।’
संविधानले समावेशिताको हक प्रत्याभूत गरे पनि राजनीतिक दलका नेतृत्वको चेतनास्तर अझै नबदलिएको मैयाको अनुभव छ । महिला त्यसमाथि पनि दलित महिला जनप्रतिनिधि भएर काम गर्न एकदमै गाह्रो हुने उनी सुनाउँछिन् ।
‘यो त एउटा कोटाबाट आएको हो । ऊ आफैं आएको होइन, ल्याइएको हो’ भन्ने मानसिकता, दृष्टिकोण छ’, मैयाँ भन्छिन्, ‘उठाएर ल्याइएकाहरुले के नै पो गर्न सक्छन् र ? उनीहरुको क्षमता नै छैन, हामीले त केवल समेट्नेमात्रै हो भन्ने हेराइ अहिले पनि छ ।’
अझै पनि महिलालाई दोस्रो दर्जामै राख्ने र छिट्टै विश्वास गरिहाल्न सक्ने अवस्था नरहेको मैयाँ सुनाउँछिन् । वडामा पनि महिला वडासदस्यलाई अझै पनि विकास निर्माण तथा योजनाहरुमा बेवास्ता गरिँदै आइएको उनको तीतो अनुभव छ ।
‘वडाका ५ जना जनप्रतिनिधि हुँदा पनि हामी महिलाहरुसँग सुझाव नै लिन चाहँदैनन् । हामीले नै बाठो भएर यस्तो होइन, त्यस्तो हो भन्यौं भने सुन्नुहुन्छ’, उनी दुखेसो पोख्छिन्, ‘तर, हामीले राखेका कुराहरु पनि ‘महिलाले राखेका कुरा’मै सीमित राख्न खोज्नुहुन्छ । वास्तवमा समान हैसियत बनाउन अझै गाह्रो छ ।’
तर, मैयाँ जनप्रतिनिधि भएर आएपछि भने संविधान हुनुभन्दा पहिले र अहिले आकास पातालको फरक भइसकेको अनुभव गरिसकेकी छन् । पहिले आफ्नो कुरा राख्न धक मान्नेहरु अहिले निर्धक्क आफ्ना आफ्ना नेतृत्वहरुसँग सवालजवाफ गरेको देख्दा उनलाई खुसी लाग्छ ।
‘हिजो हामी बाहिर निस्केर बोल्दा पनि कसले केही गरिहाल्छ कि भन्ने डर हुन्थ्यो, आज खुल्ला रुपले बोल्न पाएका छौं । चाहे त्यो जातको आधारमा होस्, चाहे त्यो लैंगिक आधारमा होस् । कम्तीमा कानुन छ भन्न पाएका छौं’, उनी सुनिन्छिन्, ‘तर, संविधानले दिएको वाक स्वतन्त्रता अहिले अराजकतातिर मोडिएको हो कि भन्ने पनि लाग्छ ।’
संविधानले दिएको अधिकारअनुरुप नै आफूले बच्चादेखि भोग्दै आएको पीडा, विभेद पोख्ने ठाउँ पाएको मैयाँ सुनाउँछिन् । समाज विस्तारै परिवर्तन हुँदै जान थालेकाले जातीय र लैंगिक विभेदविरुद्ध बोल्न पनि संविधानले नै दिएको उनको भनाइ छ ।
‘अब संघर्ष गर्नुपर्छ, बोल्नुपर्छ, विभेद चिर्नुपर्छ भन्ने ठाउँसम्म यो संविधानको व्यवस्थाले नै ल्याइदिएको हो । मान्छेको मन हो, कुटेर बदलिँदैन, चेतना, विचारले नै बदलिने हो,’ उनले भनिन्, ‘आज म जुन ठाउँमा आइपुगें, योचाहिँ संविधानको सुन्दर पक्ष हो भन्ने लाग्छ ।’
प्रतिक्रिया 4