
३ असोज, विराटनगर। मोरङ कानेपोखरी गाउँपालिका उपाध्यक्ष हुँदासम्म कानेपोखरीकी राजमती इङ्नाम सर्वस्वीकार्य नै थिइन् । पालिका अध्यक्षको चुनाव जित्दा भने केही फरक थियो ।
सामुन्नेमा मुखै खोलेर कसैले चुनौती नदिए पनि कतिपयको व्यवहारमा उनी सहजता पाउन्नथिन् । पछिल्तिर घोचपेच र छेडखानी गरेको भने उनी चाल पाउँथिन् । महिला अध्यक्ष भएर इङ्नामले यत्रो पालिका कसरी चलाउलिन् भन्ने आशंका उनीहरूमा व्याप्त थियो ।
‘सधैं पुरुषलाई देखिरहेको कुर्सीमा महिला देख्दा गाह्रो हुँदोरहेछ’ उनले भनिन्, ‘बाहिर सामान्य देखिए पनि भित्र मनबाट परिवर्तन ल्याउन चाहिं समय लाग्ने रहेछ । कतिले भन्न नमिल्ने खालका कुरा पनि गर्दारहेछन्, तर यस्ता कुरा पचाएर आफ्नो काम गरेको गर्यै गर्नुपर्छ ।’
२०७२ को संविधानले दिएको अधिकारकै कारण वर्षौंदेखि पुरुष बस्ने कुर्सीमा महिलाले अवसर पाएको उनको ठम्याइ छ । ‘सधैंभरि त्यो कुर्सीमा पुरुषैपुरुष बसेका थिए राणाकालदेखि नै, अहिले संविधानले दियो र हामीले बस्न पायौं’ उनले भनिन्,‘संविधानले व्यवस्था नगरेको भए त त्यो अध्यक्षको कुर्सीमा मात्र होइन, उपाध्यक्षको कुर्सीमा पनि पुरुष नै बस्नुहुन्थ्यो होला ।’
संविधान जारी भएपछि २०७४ सालको पहिलो स्थानीय तह चुनावमा कानेपोखरी गाउँपालिका उपाध्यक्ष चुनिएकी इङ्नामले २०७९ को दोस्रो स्थानीय तह निर्वाचनबाट अध्यक्ष जितेकी थिइन् ।
१७ वटा स्थानीय तह रहेको मोरङमा पालिका प्रमुख जित्ने उनी एक मात्रै महिला हुन् । १३७ स्थानीय तह रहेको कोशी प्रदेशमा ६ वटा पालिका महिलाको नेतृत्वमा छ ।
नेतृत्वमा आएपछि इङ्नामले पालिकामा केही नयाँ कार्यक्रम सुरु गरेकी छन् । उनले सुरु गरेका योजनालाई समाजले स्वीकार गरेको छ ।पालिका भित्र कक्षा ११ र १२ मा ‘निःशुल्क शिक्षा पालिकाको इच्छा’ कार्यक्रम सञ्चालित छ । यो योजना अन्तर्गत पालिकाभित्र रहेका चार वटा स्कुलले कक्षा ११ र १२ मा निःशुल्क पढाउँछन् । पालिकाले चालेको अर्को योजना ‘सासूको इच्छा बुहारीलाई शिक्षा’ पनि हो ।
उनी नेतृत्वमा आएपछि पालिकामा गुन्द्रुक ब्रान्डिङको काम सुरु भएको छ । जसका लागि ‘आमाको सीप सन्तानलाई अर्गानिक गुन्द्रुक मोरङलाई’ अभियान सञ्चालित छ । यो अभियान अन्तर्गत पालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई प्रोत्साहन गरिरहेको उपाध्यक्ष भोला अधिकारीले जानकारी दिए । पालिकाले ‘आफ्नै बारी, अर्ग्यानिक पोखरी’ अभियान पनि सञ्चालन गरिरहेको छ ।
इङ्नाम उपाध्यक्षको कार्यकालमा काम गरेका कारण अध्यक्षमा पार्टीले टिकट दिएपछि चुनाव जितेको बताउँछिन् ।२०७४ सालमा पालिका उपाध्यक्ष निर्वाचित भएकी उनले अनुगमन र समाजमा भएका विवाद मिलाउन ध्यान दिइन् । त्यसकै परिणामस्वरुप उनलाई एमालेले २०७९ सालको स्थानीय तहको दोस्रो निर्वाचनमा पालिका अध्यक्षको टिकट दियो । उनले चुनाव जितिन् ।
उपाध्यक्ष अघि महिला स्वयंसेविकाको रूपमा काम गरेकी उनको अध्यक्ष निर्वाचित भएपछि भने जिम्मेवारी फेरिएको छ । पहिले विवाद मिलाउने, अनुगमन गर्ने लगायत काम गरेकी उनी अहिले नीतिगत निर्णय गर्नुपर्ने जिम्मेवारीमा छन् ।
‘अध्यक्ष र उपाध्यक्षको काम, कर्तव्य फरक-फरक छन्, अध्यक्षको काम नीतिगत निर्णय गर्ने हुन्छन्, उपाध्यक्षको काम अनुगमन गर्ने न्यायिक समिति लगायत छन्’ उनले भनिन्, ‘संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर काम गर्दा समस्या हुँदैन ।’
पहिलो कार्यकाल काम गर्न असहज भएको उनको अनुभव छ । कानुन नहुँदा काम गर्न असहज भए पनि काम गर्दै सिक्दै अघि बढेको उनले बताइन् ।
‘सुरुमा त धेरै असहज भयो, ऐन-कानुन बनेको थिएन’ उनले भनिन्, ‘अन्योल थियो, पहिलो पल्ट भएकाले धेरै समस्या थियो, काम गर्दै कानुन बनाउँदै अघि बढ्यौं, पछि सहज भयो ।’
न्यायिक समितिमा बसेर काम गर्दा सुरुमा अप्ठ्यारो अनुभव भएको उनले बताइन् । ‘उपाध्यक्षमा रहँदा जिम्मेवारी अनुसार काम गरिरहें तर प्रचार गरिनँ’ उनले भनिन्, ‘२०४२ सालदेखि रहेका विवाद मिलाएँ, सम्बन्धविच्छेद हुन लागेका धेरै मुद्दा मिलाए, विकास निर्माणमा भएका कमसल पुल र कल्भर्टहरू भत्काएर नयाँ बनाउन लगाएँ ।’
अध्यक्ष भएर काम गरिरहँदाको अनुभव भने उनीसँग फरक छ । अपेक्षा लिएर आउने जनता धेरै छन् । त्यसमध्ये केहीको पूरा हुन्छ, कोही निराश हुन्छन् ।
‘जनताका आशा र अपेक्षा धेरै छन्, कुनै कुरा आफूले पूरा गर्न सक्ने हुन्छन्, कुनै नसक्ने हुन्छन्’ उनले भनिन्, ‘हामीले नसक्ने कुरालाई संघ र प्रदेशमा लेखेर पठाउँछौं, पालिकाले गर्न सक्ने कुरा त गर्न सकेका छौं, सीमित स्रोत–साधन भएका कारण आशा र अपेक्षा पूरा गर्न सकेको छैन ।’
नेकपा एमालेको वडा कमिटी सदस्य हुँदै काम सुरु गरेकी उनी अहिले एमालेको केन्द्रीय अनुशासन आयोग सदस्य छिन् ।‘पार्टीमा फुत्त टेकेर गाउँपालिकामा उपाध्यक्षको टिकट पाएकी थिइनँ, मैले पार्टीमा लामो समयसम्म काम गरें वडा कमिटीदेखि नै’ उनले भनिन्, ‘लामो योगदान गरेका कारण पार्टीले २०७४ मा उपाध्यक्षको टिकट दियो, जितेर काम गरेका कारण अध्यक्षको टिकट दिएको हो ।’
उपाध्यक्षमा काम गरेकै कारण अध्यक्षमा निर्वाचित भएको इङ्नामको भनाइ छ । ‘हिजो उपाध्यक्षमा राम्रै काम गरेका कारण म यहाँ आएकी हुँ, दोहोरिएर त धेरै मान्छे आउनुभएको छैन’ उनले भनिन्, ‘हिजो राम्रो काम गरेका कारण नै अध्यक्ष भए जस्तो लाग्छ ।’
प्रतिक्रिया 4