
३ असोज, पोखरा। पोखरा महानगरपालिका १३ ले अतिविपन्न तथा असहाय वडाबासीको निशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । वडाले एक सूचना जारी गरी असोज २० गतेसम्म निशुल्क स्वास्थ्य बिमाका लागि निवेदन दिन आग्रह गरेको छ ।
वडाअध्यक्ष किरण बरालले विपन्न र असहाय वडाबासीले निशुल्क स्वास्थ बिमा पाउँदा नागरिक स्वास्थ्यप्रति सजग हुने र बिमाको प्रोत्साहन हुने दाबी गरे । ‘अहिले स्वास्थ्य बिमाप्रति नकारात्मक सन्देशहरु पनि फैलिइरहेका छन् । त्यही स्वास्थ्य बिमा प्रोत्साहन गर्न पनि यो अभियान चलाइएको हो,’ उनले भने ।
नि: शुल्क स्वास्थ्य बिमा सुविधा लिन पोखरा १३ को स्थायी वडाबासी हुनुपर्नेछ । ‘बिमा गर्न चाहनेले नागरिकताको प्रमाणपत्र, टोल विकास संस्थाको सिफारिस पत्र र माइन्युट पेपर समावेश गर्नुपर्नेछ,’ वडाध्यक्ष बरालले भने, ‘बसाइँसराइ गरेको हकमा बसाइँसराइ प्रतिलिपि समावेश हुनुपर्छ ।‘
परिवारको सदस्यका लागि नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि निवेदनमा पेश गरिएको हुनुपर्ने अध्यक्ष बरालले बताए । नाबालकको हकमा जन्मदर्ता प्रतिलिपि राखिएको हुनुपर्ने वडाले जनाएको छ ।
यसअघि उक्त वडा कार्यालयले वडाबाटै वडाबासीलाई निशुल्क एम्बुलेन्सको सेवा दिँदै आएको छ । सामान्य बिरामी हुँदा उपचार खर्चसमेत जोहो गर्न नसक्ने नागरिकलाई लक्षित गरी वडाले नि: शुल्क एम्बुलेन्सको व्यवस्था गरिएको वडाध्यक्ष बरालले बताए ।
‘आकस्मिक उपचारका लागि अस्पतालसम्म जाने एम्बुलेन्सलाई तिर्ने भाडा नहुँदा महंगो ट्याक्सी लिनुपर्ने बाध्यताको अन्त्य गर्न निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएका छौं,’ बरालले भने, ‘यसले सेवाग्राहीलाई ठूलो मद्दत पुगेको छ ।’
प्रतिक्रिया 4