+
+

दमननाथ ढुंगानाले संविधान माओवादी खुशी पार्न ल्याएको भनेपछि गगन थापाले गरे प्रतिवाद

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३ गते २१:२८

३ असोज, काठमाडौं । बीपी साहित्य महोत्सव अन्तर्गत बुधबार ‘बीपीको विचार, आजको संविधान र अबको बाटो’ शीर्षक विषयमा संविधानविद् निलाम्बर आचार्य, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल थियो ।

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले सञ्चालन गरेको उक्त छलफलका क्रममा पूर्वसभामुख ढुंगानाले अहिलेको संविधानमा बीपी तत्व नभएको बताए । उनले संविधान माओवादीलाई खुशी पार्न ल्याइएको टिप्पणी गर्दै संविधान बनाउँदा कांग्रेस हाबी हुन नसकेको बताए ।

तर दर्शकदीर्घामा बसेर बहस सुनिरहेका महामन्त्री गगन थापाले ढुंगानाको भनाइको प्रतिवाद गरे । उनले आफू पहिलो र दोस्रो दुबै संविधानसभामा रहेको भन्दै पहिलो संविधानसभाको घटना सुनाए ।

‘त्यो बेलामा माओवादीको प्रस्ताव के थियो भने व्यक्तिले सम्पत्ति कति राख्न पाइन्छ भन्ने कुराको सीमा राख्नुपर्छ । अदालतको न्यायाधीश, स्वतन्त्र न्यायपालिका होइन दलले तोक्नुपर्छ भन्ने थियो’, थापाले भने ।

उनले अगाडि भने, ‘यो सबै कुरा लड्दा–लड्दा, जुध्दा–जुध्दा अन्तिममा संविधान नबने बन्दैन तर नेपाली कांग्रेसले आफ्नो फन्डामेन्टल कुरासँग कम्प्रमाइज गर्दैन भनेर पहिलो संविधानसभामा अडिएर बसेको हो । त्यसैले तिमीहरु लडेनौं भन्ने कुरालाई यहाँ बसेर टुलुटुलु स्वीकार्न सकिएन ।’

थापाले दोस्रो संविधानसभामा कांग्रेस सबैभन्दा ठूलो दल बनेका बेला एमालेको साथ लिएर संविधान जारी गरेको बताए । ‘दोस्रो संसविधानसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएको बेलामा कांग्रेस र एमाले दुईटा हुँदाखेरि हाम्रो डोमिनेसनमा बनेको हो । फ्याक्ट छ, माओवादीले यो कुरा स्वीकार गर्न नसक्दा माओवादी चिराचिरा भएको हो’ उनले भने ।

बहसका क्रममा ढुंगानाले अहिले सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्नेमा माओवादी नेतृत्वको सरकारमा सहभागी भएको भन्दै आलोचना गरेका थिए ।

महामन्त्री थापाले २०४७ सालको संविधानपछि पनि कांग्रेसले सानो दल राप्रपाका नेता सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएको स्मरण गरे ।

‘सरकार नेपाली कांग्रेसको नेतृत्वमा बन्नुपर्छ भन्ने म पनि चाहन्छु, प्रयास पनि छ । तर सूर्यबहादुरको नेतृत्वमा सरकार बनेको होइन ? सूर्यबहादुर ठूलो दलका थिए, लोकेन्द्रबहादुर ठूलो दलका थिए ?’ उनले प्रश्न गरे ।

महामन्त्री थापाले दल र नेताहरुको अक्षमताको भारी संविधानलाई बोकाउन नहुने बताए । ‘बीपी कोइरालाले के भन्नुभएको रहेछ भने संविधानको जीवन्तता शासकको मनोवृत्तिमा निर्भर रहन्छ त्यसैले संविधान बनाएर काम गर्न नसकेको भारी संविधानलाई पनि नबोकाऔं, बीपी कोइरालालाई पनि नबोकाऔं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?