३ असोज, काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप भोलि बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु हुँदै छ ।
६ टिमले भाग लिने प्रतियोगितामा नेपाल माल्दिभ्स र पाकिस्तान रहेको समूह एमा छ । समूह बीमा भने भारत, बंगलादेश र भुटान छन् ।
प्रतियोगिताको उद्घाटन खेल बिहीबार दिउँसो साढे १ बजे भारत र बंगलादेशबीच हुने छ । नेपालले भने बिहीबार नै बेलुकी साढे ५ बजे पाकिस्तानसँग खेल्ने छ ।
खेलअघिको पत्रकार सम्मेलनमा पाकिस्तान बाहेकका टिमका प्रशिक्षक र कप्तानले राम्रो तयारी गरेर आएकाले प्रतियोगितामा पनि राम्रो प्रदर्शन गर्ने दाबी गरेका छन् । प्रिम्याच कन्फ्रेन्स हुनेबेलासम्म पाकिस्तान टिम भने काठमाडौं आइपुगेकै थिएन ।
नेपाली टिमका प्रमुख प्रशिक्षक सुनिल श्रेष्ठले समूह विजेता बनेर सेमिफाइनलमा जाने र उपाधि जित्ने लक्ष्य रहेको बताए । ‘हाम्रो लक्ष्य भनेको हरेक खेल जित्दै जाने र उपाधि जित्ने लक्ष्य हो’, खेलअघिको पत्रकार सम्मेलनमा उनले भने ।
नेपाली टिमका कप्तान जियारथ शेख पनि तयारी सबै राम्रो भएकाले प्रतियोगिताको नतिजा राम्रो हुने विश्वसमा छन् ।
सन् २०१५ मा घरेलु मैदानमा साफ च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि नेपालले जित्दा श्रेष्ठ सहायक प्रशिक्षक थिए । ‘जुन किसिमको खेलाडीको आत्मविश्वास छ,’ उनले भने, ‘त्यस हिसाबले र घरेलु मैदानमा दर्शकको साथ पनि हुने भएकाले हामीले राम्रो नतिजा ल्याउँछौं भन्ने आश छ ।’

गतवर्ष जस्तै यसपटक पनि खुल्ला छनोट मार्फत यू-१९ टिम बनाइएको छ । देशभरबाट जिल्ला, प्रदेश हुँदै केन्द्रीयत्रको छनोटबाट ३५ खेलाडी चयन गरी क्याम्पमा राखिएको थियो । खुल्ला छनोटबाट आएका खेलाडी भए पनि उनीहरु टिममा घुलमिल भइसकेको प्रशिक्षक श्रेष्ठले बताए ।
‘हामीले राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्ने मौका पायौं । ४/५ वटा मैत्रीपूर्ण खेल खेल्यौं,’ उनले भने, ‘जसका कारण खेलाडीहरु टिममा घुलमिल भइसकेका छन् ।’
नेपाली टिममा ए डिभिजन लिग खेलेका २ जना खेलाडी छन् । अरु खेलाडीसँग पनी बी डिजिन र सी डिभिजन लिग खेलेको अनुभव छ । टोलीमा रहेका ९–१० जनाले त यसअघि यू–१७ टिममा पनि खेलेका थिए ।
नेपालले यू–१९ टोलीलाई सिनियर टोलीको विकासको चरण मानेको भन्दै श्रेष्ठले भने, ‘यो यू–१९ टिमका केही खेलाडीले लगत्तै राष्ट्रिय टिममा पनि मौका पाउँछन् जस्तो मलाई लागेको छ ।’
२ वर्षको तयारी गरेको भारत
यो प्रतियोगिताका लागि भारतले कति प्राथमिकता दिएको भन्ने उसको तयारीबाटै देखिन्छ ।
पछिल्लो २ संस्करणको विजेता भारत २ वर्षको तयारी गरेर काठमाडौं आइपुगेको छ । भारतीय टिमका प्रमुख प्रशिक्षक शुवेन्दु पान्डाले भने, ‘हामी गत दुई वर्षयता यहि प्रतियोगिताको तयारी गरिरहेका थियौं ।’ यो प्रतियोगिताका लागि भनेर नै भारतले २०२१ मा २०० भन्दा बढी खेलाडीहरुमध्येबाट चयन गरेर यो टिम बनाएको उनले बताए ।

काठमाडौं आउनुअघि भारतले साउदी अरबमा मैत्रीपूर्ण खेल खेलेको थियो । साउदी अरब भ्रमण निक्कै फलदायी भएको उनी बताउँछन् । ‘साउदीमा हामीले केही खेलहरु खेल्यौं,’ पान्डाले भने, ‘जुन खेलहरु हाम्रो लागि निकै सहयोगी भए ।’
कप्तान इशान सिसोडिया अनुभव बटुल्नका लागि साउदीको भ्रमण सहयोगी भएको बताउँछन् ।
उनी साफ फुटबलमा भारतले ल्याउने नतिजा दोहोर्याउने लक्ष्यसहित काठमाडौं आएको बताउँछन् । ‘साफ च्याम्पियनसिपमा भारत जहिले पनि राम्रो टिम हो,’ उनले भने, ‘हामी पनि त्यहि नतिजा ल्याउन चाहन्छौं ।’
लिग खेलेका अनुभवी खेलाडीले भरिएको माल्दिभ्स
माल्दिभ्सको टिममा ९० प्रतिशत खेलाडी लिग खेलेकै अनुभवी खेलाडी छन् । तर उनीहरु लिगमा गरेकै प्रदर्शनका कारण टिममा परेका होइनन् ।
यू–१९ युथ च्याम्पियनसिपमा राम्रो गर्ने खेलाडी र खुल्ला छनोटबाट छानिएर उनीहरु टिममा परेका प्रमुख प्रशिक्षक अहमद शकिर बताउँछन् । ‘हामीले राम्रो तयारी गरेका छौं । हाम्रा धेरै खेलाडी लिग खेलेका खेलाडी छन्,’ उनले भने, ‘त्यसैले पनि हामीलाई सहयोग भएको छ ।’

उनले यो प्रतियोगिताको लक्ष्य भनेको पाकिस्तानसँगको पहिलो खेल जित्ने रहेको बताए । शनिबार हुने पाकिस्तानसँगको खेल जितेपछि अन्य खेलहरुको बारेमा सोच्ने उनले बताए ।
माल्दिभ्सका कप्तान जहान नजिर पहिलो खेलका लागि निकै उत्साहित रहेको बताउँछन् । ‘हामी नतिजा हाम्रो पक्षमा पार्नेमा आशावादी छौं,’ प्रशिक्षकै भनाइ दोहो¥याउँदै उनले भने, ‘त्यसपछिको खेलको लागि हामी त्यसपछि मात्रै सोच्नेछौं ।’
भारतसँगको खेल जितेर सेमिफाइनल पुग्ने बंगलादेशको लक्ष्य
प्रतियोगिताको उदघाटन खेलमा बंगलादेशले भारतसँग खेल्दै छ । बंगलादेशका प्रमुख प्रशिक्षक रसिद अहमद भोलि बिहीबारका खेलपछि आफूहरूको लक्ष्य निर्धारण हुने बताउँछन् ।
भारतसँगको खेल जितेर सेमिफाइनल पुग्ने लक्ष्य रहेको भन्दै उनले सेमिफाइनलमा पुगेपछि थप सोच्ने बताए ।

बंगलादेशका कप्तान मोनिल इस्लाम मोन पनि आफूहरु भारतसँगकै खेलमा फोकस रहेको बताउँछन् । ‘हामी भोलिको पहिलो खेलमा फोकस गर्नेछौं । त्यो खेलमा सकभर राम्रो गर्ने प्रयास गर्ने छौं ।’
यो प्रतियोगिताको लागि ४ हप्ताको तयारी गरेर नेपाल आएका बंगलादेशी प्रशिक्षकले भने, ‘भोलिको खेलबाट कसले राम्रो खेल्ने भन्ने देखाउँछ ।’
समूह चरणकै प्रतिद्वन्द्वीलाई कठिन मान्ने भुटान
हामी हिजो. आइपुगेका हौं । हामी हाम्रो तयारी राम्रो भएको छ । हामीले यो प्रतियोगिताका लागि धेरै राम्रो तयारी गरेका छौं । म दुई वर्षयता भुटान आएको हुँ, त्यसपछि तयारी राम्रो गरेका छौं ।
भुटानले यो प्रतियोगिताको समूह चरणमा बंगलादेश र भारतलाई प्रतिद्वन्द्वी पाएको छ ।

भुटानका प्रमुख प्रशिक्षक हिदेनारु टाकानाशीको नजरमा यी दुई बलिया प्रतिस्पर्धी हुन् । ‘हाम्रो लागि समूह चरणको खेल नै चुनौती हुनेछ,’ उनले भने, ‘हाम्रो टिम सक्दो कम गोल खाने कोशिसमा हुनेछ ।’
भुटानी कप्तान पेमा ज्याङ्पो भने प्रतियोगिताको लागि धेरै मिहिनेत गरेको भन्दै आशावादी रहेको बताउँछन् ।
प्रतिक्रिया 4