+
+

राष्ट्रसंघीय महासभाका ६ अविस्मरणीय क्षण : चारघण्टे सम्बोधनदेखि शक्तिराष्ट्रलाई दुत्कार्नेसम्म

एजेन्सी एजेन्सी
२०८० असोज ४ गते ७:२०

४ भदौ, काठमाडौं । स्थापनाकालदेखि नै संयुक्त राष्ट्रसंघको महासभा आफ्ना राष्ट्रको प्राथमिकता पोख्ने थलो बनेको छ ।

विभिन्न मुलुकका नेता तथा कूटनीतिज्ञले आफ्ना राष्ट्रका प्राथमिकताका विषयका साथै मानवीय आवश्यकताका लागि प्रस्ताव राख्ने गर्छन् । यो महासभा एक यस्तो थलो बनेको छ जहाँ कट्टर दुश्मन पनि एकै भवनमा हुन्छन् । आफूले दुश्मन करार गरेकाप्रति आक्रोश ओकल्छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा रहेकाले अमेरिकाकै विरोधीहरु समेत सम्मेलनमा भेला हुन्छन् ।

७७ वर्षको इतिहासमा यसको वार्षिक सम्मेलनमा केही हास्यास्पद र केही अविस्मरणीय क्षण छन् । शक्ति राष्ट्रप्रतिको गद्दाफीले डेढ घण्टा ओकलेको आक्रोश, जर्ज बुसलाई हृयुगो चाभेजले राक्षस करार गरेको अभिव्यक्ति लगायतका ६ अविष्मरणीय क्षणको चर्चा यस आलेखमा समावेश छन् ।

शक्ति राष्ट्रप्रति गद्दाफीको १०० मिनेट लामो आक्रोश

राष्ट्रसंघको ६४ औं महासभामा लिबियाका शासक मुहम्मर गद्दाफीले शक्ति राष्ट्रप्रति आक्रोश ओकल्दै १०० मिनेट लामो सम्बोधन गरेका थिए । सन् २००९ मा महासभालाई सम्बोधन गर्न पुगेका उनले सुरक्षा परिषदको भिटो शक्ति खारेज हुनुपर्ने माग राखेका थिए । ‘सुरक्षा परिषद्ले हामीलाई सुरक्षा नभएर आतंक र प्रतिबन्ध मात्रै दियो त्यसैले यसको खारेजी गर्नुपर्छ,’ उनले भनेका थिए ।

त्यसलाई स्थापित गर्नका लागि उनले राष्ट्रसंघीय बडापत्र बाचन गरे । बडापत्रमा धेरै त्रुटी रहेको र यसका कमजोरी सच्याउन अन्तर्राष्ट्रिय निकाय असफल रहेको उनको जिकर थियो । उनले अमेरिकाले सन् २००३ मा इराकमा चलाएको अभियानप्रति पनि प्रश्न गरे । अमेरिकाको त्यस अभियानको अनुसन्धान हुनुपर्ने उनको माग थियो ।

सन् १९९० मा इराकले कुवेतमा आक्रमण गर्दा लागु भएको राष्ट्रसंघीय बडापत्र अमेरिकाले इराकमा आक्रमण गर्दा किन लागु नभएको भनेर उनले प्रश्न गरेका थिए । ‘राष्ट्रसंघीय वडापत्रको उल्लंघन गरेर महाशक्ति राष्ट्रलाई विना औचित्य हमलाको अधिकार हुन्छ ?’ उनको प्रश्न थियो ।

उनको अर्को प्रश्न समेत थियो, ‘राष्ट्रसंघको सदस्य राष्ट्र इराक एक स्वतन्त्र राष्ट्र हो । सदस्य राष्ट्रविरुद्ध किन आक्रमण भयो र त्यहाँ बडापत्र किन पालना भएन ?’

सम्बोधनका लागि गद्दाफीलाई १५ मिनेटको समय थियो तर त्यसको प्रवाह नगरीकन उनले १०० मिनेटसम्म शक्तिराष्ट्रविरुद्ध आक्रोश ओकले ।

जर्ज बुसलाई राक्षसको संज्ञा

भेनेजुयला र अमेरिकाबीच बढ्दो तनावको स्थितिमा सन् २००६ मा राष्ट्रपति हृयुगो चाभेज महासभालाई सम्बोधन लागि पुगेका थिए । त्यस क्रममा उनले अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसलाई राक्षसको संज्ञा दिए । आफ्नो सम्बोधनमा उनले भनेका थिए, ‘हिजो यहाँ एक राक्षस आएका थिए । यस सभामा अहिले पनि यहाँ गन्ध फैलिरहेको छ ।’

उनले बुसको नीतिविरुद्ध आक्रोश पोखे । अमेरिकाको समर्थनमा इजरायली सैन्य कारबाहीका क्रममा लेबनानमा १ हजार नागरिक मारिएको र त्यहाँका पूर्वाधार ध्वस्त बनाइएको भन्दै उनले त्यस कार्यको निन्दा गरे । ‘अमेरिकी सरकार शान्तिको पक्षमा छैन । आफ्नो आधिपत्य कायम राख्नका लागि युद्ध गराउँछ । लुटपाट मच्चाउँछ । शोषण गर्छ,’ उनले भने ।

अमेरिका शान्तिको पक्षमा नरहेको तर्क स्थापितका लागि उनले भने, ‘यदि अमेरिका शान्ति चाहन्थ्यो भने इराकमा उसले किन आतंक मच्चायो । लेबनान र प्यालेस्टाइनमा किन युद्ध मच्चायो । शताब्दी यताको अवस्था हेर्दा ल्याटिन अमेरिकाको हविगत कस्तो गरायो । सबैतिर आतंक मच्चाएको अमेरिका अहिले भेनेनजुयलालाई धम्की दिइरहेको छ । इरानलाई तर्साइरहेको छ ।’

उत्तर कोरियालाई सखाप पार्ने ट्रम्पको चेतावनी

राष्ट्रसंघको ७२ औं महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गरेका थिए । महासभाको सम्बोधनमा अन्तर्राष्ट्रिय सहकार्य र आपसी चुनौती समाधानका सवालमा बहसको अपेक्षा हुन्छ । तर सन् २०१७ मा ट्रम्पले उत्तर कोरियाविरुद्ध आक्रोश ओकले । ‘संयुक्त राज्य अमेरिकासँग शक्ति र धैर्यता छ । तर यदि कसैले अमेरिका रर यसका सहयोगी राष्ट्रलाई चुनौती थप्छ भने हाम्रो धैर्यताको बाँध टुट्ने छ । यस्तो अवस्थामा हामीसँग उत्तर कोरियालाई ध्वस्त बनाउनुको विकल्प हुनेछैन, कीम जोन उनलाई संकेत गर्दै उनले भने, ‘एक शासक आफू र आफ्ना शासनविरूद्धकै घातक अभियानमा छन् ।’

त्यसको एक वर्षमा ट्रम्पले कीम जोन उनलाई भेटे । त्यसपछि कीमसँग उनी निकै नरम भए । सन् २०१८ मा हनोइमा उनीहरुबीच वार्ता पनि भयो । तर त्यस वार्तामा वासिङ्गटन र पोङ्याङ बीचको तिक्तता मेटाउन भने उनीहरु सफल भएनन् ।

इरानको आणविक कार्यक्रममा नेतान्याहुले कोरिदिएको रातो धर्का

आठ वर्षअघिको महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आणविक हतियार प्राप्तिका लागि इरान एक महिना पर मात्रै रहेको बताए । ‘बम बनाउनका लागि कति संवर्द्धित युरेनियम चाहिन्छ र त्यसका लागि इरान कति पर्छ थाहा छ ?’ उनले प्रश्न गरे ।

आफ्नो प्रश्नको आफैंले जवाफ दिँदै उनले भने, ‘यो कुरा बुझाउनका लागि मैले एक चित्र ल्याएको छु ।’

आणविक विज्ञान निकै जटिल हुन्छ । तर नेतान्याहुले प्रस्तुत गरेको चित्र फ्युज सहितको एक गोलो बमको थियो । ‘तेहेरानले ७० प्रतिशत युरेनियम जम्मा गरिसकेको छ,’ कार्टुन चित्रमा उनले इंगित गरे । नेतान्याहु इजरायलको आणविक कार्यक्रमको प्रखर विरोधी थिए ।

यान्त्रिक बौद्धिकता चुनौतीबारे जोनसनको गम्भीर र हास्यास्पद सम्बोधन

बेलायतका प्रधानमन्त्रीका रुपमा बोरिस जोनसनले सन् २०१९ को ७४ औँ महासभामा सम्बोधन गरेका थिए । घरेलु राजनीतिमा संकट व्यहोरिरहेको समयमा सम्बोधनका लागि पुगेका जोनसनले यान्त्रिक बौद्धिकता एआईका चुनौतीका विषयमा सम्बोधन गरे । एआईले कष्टकर र अन्यायपूर्ण समाजको विकास गर्नसक्ने चिन्ता उनको थियो ।

उनले विचित्र किसिमको सम्बोधन गरेका थिए, ‘के अब एआईमार्फत जीवहरुको डिजाइन गरेर खुट्टाविहीन कुखुरा हाम्रो सामुन्ने ल्याउने हो वा कस्तो विचित्र जीव एआईले बनाउने हो ?’

यो प्रश्नमा धेरै हाँसेका थिए । उनले एआईको चुनौतीबारे मार्मिक कुरा पनि गरेका थिए । ‘अब तपाईं आफ्नो साथीभाइ आफन्त वा प्रशिक्षक समक्ष आफ्नो गोप्य कुरा लुकाउन सक्नुहोला तर गुगलसँग लुकाउनका लागि निकै वास्तविक कठिनाइ हुनेछ ।’

उनका केही प्रश्नमा धेरैजना हाँसे पनि उनले उठाएका केही मार्मिक चुनौती अहिले देखापर्न थालेको छ । एआईको प्रयोगबारे अहिले विभिन्न मुलुकमा नीति बनाउन माग उठेको छ ।

फिडेल क्यास्ट्रोको लामो सम्बोधन

सन् १९६० को राष्ट्रसंघीय महासभामा क्युबाका नेता फिडेल क्यास्ट्रोले साढे चार घण्टा लामो सम्बोधन गरेका थिए ।

अमेरिकाका प्रखर विरोधी क्यास्ट्रोले विश्वव्यापी असमानताका सवालमा लामै सम्बोधन गरे । ‘क्युबाली जनताको महासभाले कृषकलाई गरिब बनाउने र कृषी उत्पादनलाई पछि धकेल्ने गरी अघि बढ्दै गएको भूमि स्वामित्वको प्रणालीप्रति विरोध जनाउँछ,’ उनले भने ।

उनले थप भने, ‘निहीत स्वार्थपूर्तीका लागि गरिने श्रम श्रोषण असमान ज्यालाको विरोध गर्दै अमेरिकामा व्याप्त निरक्षरता, विद्यालय चिकित्सक र अस्पतालको कमी र वृद्धवृद्धाका लागि सामाजिक सुरक्षाको अभावको विषयमा पनि ध्यानाकर्षण गराउन चाहन्छ ।’

अमेरिकाको विरोधमा उनले भने, ‘अमेरिकामा महिलामाथि हुने शोषण र हाम्रा जनतालाई गरिबीमा धकेल्नका लागि हाम्रो सार्वभौमसत्ताको पूर्ण प्रयोगमा बाधा पुर्याउने कदमको क्युबाली जनता विरोध जनाउँछ ।’

त्यस सम्बोधनको एक वर्षपछि क्यास्ट्रोलाई अमेरिकाले अपदस्थ गर्न खोजे पनि सफल भने हुन सकेन ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?