
५ चैत, काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ५ जना भन्सार कर्मचारीलाई भ्रष्टाचारको कसुरमा पनि अनुसन्धान गर्न सिफारिस गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा ६० किलो सुन जाँच पासमा संलग्न जोखिम व्यवस्थापन शाखाका अधिकृत सन्तोष चन्द, भन्सार कार्यालयका भन्सार जाँच पास अधिकृत गणेशप्रसाद पौडेल, नायब सुब्बा विरेन्द्र नेपाली, कुमार ढकाल र एक्स–रे जाँचकी सरोज श्रेष्ठलाई भ्रष्टाचारमा समेत छानबिन गर्नुपर्ने निष्कर्ष निकालिएको सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले अनलाइनखबरलाई बताए ।
‘हङकङबाट गैरकानूनी रुपमा सुन भित्र्याउने संगठित अपराधमा संलग्न भएर कसुर अपराधबाट गैरकानूनी सम्पत्ति आर्जन गरेको र सरकारी कर्मचारीका रुपमा अपराधमा संलग्न भएर कसुरबाट गरेको गैरकानूनी आर्जन विभिन्न व्यवसायमा लगानी र लुकाउने उद्देश्यले लेयरिङ समेत गरेर सम्पत्ति बढाएको हुनसक्ने देखिएको छ’, उनले भने, ‘त्यसैले उल्लेखित प्रतिवादीको सम्पत्ति विवरणहरु प्राप्त हुने क्रम जारी नै रहेकाले निजहरुले आफ्नो पदीय र आर्थिक हैसियत भन्दा बढी सम्पत्तिहरु राखेको् देखिएको सम्पत्तिहरु तथा हालसम्म प्राप्त भइनसकेका थप सम्पत्ति समेत हुनसक्ने भएकाले उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन अनुसार अनुसन्धान हुनुपर्ने देखिएको छ ।’
राजश्व अनुसन्धान विभागले २ साउनमा विमानस्थल भन्सारको जाँच पास भएर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । १९ दिनसम्म अनुसन्धान गरेर प्रकरणमा संगठित अपराधको तत्व देखिएको भन्दै विभागले सम्पूर्ण अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो ।
निर्णय अनुसार, छानिबन गर्न भन्दै सरकारी वकिलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाएको छ ।
१६ जनालाई सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न सिफारिस
सरकारी वकिलले सुन प्रकरणमा संलगन दावा छिरिङसहित १६ जनामाथि शम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत छानबिन गर्न समेत सिफारिस गरेको छ ।
दावा पत्नी अमला रोकासहितलाई छानबिन गर्न भन्दै सरकारी वकिलको कार्यालयले विभागमा पत्राचार गरेको छ ।
सरकारी वकिल स्रोतका अनुसार, दावा र अमलासहित जीवन चलाउने, किशोर बस्नेत, हर्कराज राई, कृष्णकुमार श्रेष्ठ, पुस्करराज श्रेष्ठ, राजेन्द्रकुमार राई, सुदर्शन गौतम, रुकमिना सुब्बा, रामकुमार भुजेल, यादव पराजुली, दिलिप भुजेल, सुमन खरेल, शिवकुमार सरार्फ र भोला शाह सुनारलाई सम्पत्ति शुद्धिकरण अन्तरगत पनि छानबिन गर्न भनिएको छ ।
संगठित अपराधमार्फत गैरकानूनी सम्पत्ति आर्जन गरेको र त्यसलाई विभिन्न व्यवसायमा लगानी तथा लुकाउने उद्देश्यले लेयरिङ गरेर सम्पत्ति बढाएको हुनसक्ने भन्दै छानबिन गर्न सरकारी वकिलले भनेको छ ।
प्रतिक्रिया 4