+
+

पदभार ग्रहण गर्दै अर्थसचिव पुष्करले भने : लडेर-भिडेर काम गर्छु

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ४ गते १५:१३

४ असोज, काठमाडौं । ८ महिनापछि कृष्णहरि पुष्कर अर्थ मन्त्रालयमा अर्थसचिव पदमा फर्किएका छन् । गत शुक्रबारको मन्त्रिपरिषद बैठकले सरुवा गरेका उनी बेलायत भ्रमण सकेर बिहीवार अर्थमन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका थिए ।

मन्त्रालयमा अर्थमन्त्री प्रकाशकरण महत, राजस्व सचिव रामप्रसाद घिमिरेसहित मन्त्रलयका सहसचिवहरुले पुष्करको स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै पुष्करले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्र हुनसक्क्ने जति प्रयास गर्ने बताए ।

पुष्कर अर्थसचिवमा सरुवा हुनुअघिसम्म अर्जुनप्रसाद पोखरेल अर्थसचिव थिए । २० वैशाख २०८० मा पोखरेल अर्थसचिव हुनुअघि तोयाम रायाले करिब चार महिना यो जिम्मेवारी सम्हालेका थिए । तोयामअघि भने पुष्कर नै अर्थसचिव थिए ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउँदा अर्थसचिव रहेका मधु मरासिनी अनधिकृत व्यक्तिको प्रवेशबाट बजेटमा करको दर हेरफेर गराएको विवादमा मुछिएपछि सरुवा भएका थिए । त्यसपछि २६ साउन २०७९ मा अर्थसचिव बनेका पुष्करलाई २१ पुस २०७९ मा रायाले विस्थापित गरेका थिए ।

फेरि अर्थसचिव पदभार ग्रहणपछि पुष्करले कर्मचारीलाई निर्देशन दिँदै अर्थसचिव पुष्करले अर्थतन्त्रमा देखिएका चुनौती समाधान सकिने विश्वास व्यक्त गरेको राष्ट्रिय समाचार समिति (रासस)ले जनाएको छ ।

अर्थसचिवको पदभारपछि कार्य पुस्तिका हस्ताक्षरण
नवनियुक्त अर्थसचिव डा कृष्णहरि पुस्करद्वारा पदभार ग्रहणपश्चात हस्ताक्षर गर्नुहुादै । तस्बिर नवीन पौडेल/रासस

‘अर्थतन्त्रको विषम परिस्थितिमा धेरै चुनौतीका अगाडि मलाई सरकारले अर्थसचिवको जिम्मेवारी दिइएको छ । यो कुरालाई मैले निकै संवेदनशीलताका साथ मनन गरेको छु’, पुष्करले भने, ‘राज्यका अगाडि देखिएका चुनौती समाधान गर्न सक्ने छौं भन्ने विश्वास लिएको छु । लडेर–भिडेर जसरी पनि अर्थतन्त्रका चुनौती समाधान गर्नेछौं ।’
अहिले अर्थतन्त्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपबाट चुनौतीहरू देखापरेको उल्लेख गर्दै उनले दृढ विश्वासका साथ काम गरे समाधान गर्न सकिने बताए ।

‘अहिले आर्थिक स्थायित्व कायम गर्ने, राजस्व घाटा कम गर्ने, सार्वजनिक ऋणको व्यवस्थापन लगायतका विषय चुनौतीपूर्ण छन् । पूँजी बजारका विषयमा सबै सरोकारवाला मिलेर चुनौती व्यवस्थापन गर्नुपर्ने अवस्था छ’, उनले भने, ‘चुनौतीहरू बेलाबेलामा आइरहन्छन् । तिनलाई सम्बोधन गर्दै र व्यवस्थापन गर्दै जानुपर्ने हुन्छ ।’ वित्त नीति र मौद्रिक नीतिका समन्वयात्मक कार्यान्वयनबाट सकारात्मक नतिजा प्राप्त गर्न सकिने उनको भनाइ छ ।

अर्थ मन्त्रालयमा पहिले पनि काम गरिसकेकाले कर्मचारीले आफूलाई पूर्ण सहयोग गर्ने विश्वास लिएको उनको भनाइ छ । अहिलेको बदलिँदो परिप्रेक्ष्यमा विगतमा गरिरहेको भन्दा थप मेहनतका साथ काम गर्न पनि उनले निर्देशन दिएको राससले जनाएको छ ।

‘हामीले नतिजामुखी काम गर्ने भनेको ‘टिमवर्क’ बाट हो । सबै साथीहरूमा कामप्रतिको लगाव छ । त्यसको सम्मान गर्दै थप जाँगरका साथ काम गर्न आग्रह गर्दछु’, उनले भने, ‘तपाईँहरूले व्यावसायिक, जिम्मेवार र उत्तरदायी भएर कर्तव्य निर्वाह गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?