+
+

बेइजिङले पनि गर्‍यो प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ४ गते १६:५३

४ असोज, काठमाडौं । चीनको विदेश मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सात दिने भ्रमणको औपचारिक घोषणा गरेको छ ।

बिहीबार चीनको परराष्ट्र मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माओ निङले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण हुन लागेको विषयमा जानकारी दिएकी हुन् ।

नेपालले पनि बिहीबार नै परराष्ट्रमन्त्रामार्फत विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा गरेको थियो ।

चीनले भने बिना कुनै सार्वजनिक विज्ञप्ति नियमित पत्रकार सम्मेलनमा प्रचण्डको भ्रमणको विषय सार्वजनिक गरेको हो । कूटनीतिक परम्पराअनुसार भ्रमणमा जान लागेको र हुन लागेको मुलुकले एकसाथ विज्ञप्ति जारी गर्नेे भए पनि यसपटक चीनले फरक ढंगले प्रचण्डको भ्रमणबारे जानकारी सार्वजनिक गरेको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनको सुरुवातमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले प्रचण्डको भ्रमणबारे जानकारी गराएकी थिइन् ।

‘प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २३ देखि ३० सेप्टेम्बरसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले हाङझाउमा १९ औं एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ’, प्रवक्ता निङले भनेकी थिइन् ।

त्यसपछि चिनियाँ सरकारी सञ्चार माध्यम सीसीटीभीका प्रतिनिधिले ‘प्रधानमन्त्री प्रचण्डको भ्रमणबारे थप जानकारी दिन, चीनले नेपालसँगको अहिलेको सम्बन्धलाई कसरी हेरिरहेको छ भन्नेबारे जानकारी दिन र प्रचण्डको यो भ्रमणबाट चीनले के हासिल गर्ने आशा राखेको छ ?,’ भनेर प्रश्न राखेका थिए ।

सीसीटीभीका प्रतिनिधिले राखेको जिज्ञासाको जवाफमा विदेशमन्त्रालयकी प्रवक्ता माओले थप स्पष्ट पारेकी थिइन् ।

‘प्रधानमन्त्री प्रचण्डले धेरैपटक चीन भ्रमण गरी नेपाल–चीन सम्बन्धको विकासमा महत्वपूर्ण योगदान गर्नु भएको छ । आगामी भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङले उहाँसँग भेट गर्नुहुनेछ । प्रधानमन्त्री ली छ्याङ र अध्यक्ष झाओ लेजीले क्रमशः उहाँसँग वार्ता र भेटघाट गर्ने कार्यक्रम छ’, उनले भनिन्, ‘दुवै पक्षले परम्परागत मित्रतालाई प्रगाढ बनाउने, पारस्परिक लाभकारी सहयोग विस्तार गर्ने र पारस्परिक हितका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा गहिरो विचार आदानप्रदान गर्नुहुनेछ ।’

चिनियाँ प्रवक्ता माओ निङ ।

प्रवक्ता माओले चीन र नेपाल परम्परागत मित्र, छिमेकी र रणनीतिक साझेदार रहेको भन्दै ६८ वर्षअघि दुई देशबीच स्थापना भएको कूटनीतिक सम्बन्ध अन्तर्राष्ट्रिय वा क्षेत्रीय परिस्थिति जस्तोसुकै हुँदा पनि सँधै सुदृढ र स्थिर रहेको बताइन् ।

‘हाम्रा दुई देशले आ–आफ्ना मूल हितका मुद्दाहरूमा एकअर्कालाई समझदारी र समर्थन गरेका छन् । जसले यस सम्बन्धलाई विभिन्न आकारका देशहरूबीच समानता र पारस्परकि सहयोगको राम्रो उदाहरण बनाएको छ’, उनले भनिन्, ‘हालैका वर्षहरूमा दुई देशले बारम्बार उच्चस्तरीय भ्रमण आदानप्रदान गरेका छन्, आर्थिक र सांस्कृतिक क्षेत्रमा सञ्चार र सहयोगलाई बढाएका छन् । साथै, अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा घनिष्ठ हिसाबले समन्वय र सहयोग कायम गरेका छन् ।’

उनले चीन नेपालसँग रणनीतिक साझेदारी र बीआरआईमा सहकार्य गर्न चाहेको थप स्पष्ट पारिन् ।

‘पारस्परिक विश्वासलाई गहिरो बनाउन, व्यावहारिक सहयोग विस्तार गर्न, उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहकार्यलाई अगाडि बढाउन र रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पु¥याउन नेपालसँग काम गर्न चीन सँधै तयार छ’, चीनको विदेश मन्त्रालयकी प्रवक्ताले भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?