
४ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा भौतिक पूर्वाधारतर्फ केही नयाँ आयोजना बनाउन नेपालले प्रस्ताव गर्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका अनुसार चीन भ्रमणका दौरान पाइपलाइनका आयोजनासँगै सडक र सुरुङमार्गका नयाँ आयोजना चीनसँग प्रस्तावित गरिने भएको छ ।
उनका अनुसार यसरी प्रस्ताव गर्ने योजनामा सुर्खेत–हिल्सा द्रुत मार्ग, टोखा छहरे सुरुङ मार्ग, अरनिको राजमार्ग बिस्तार, खुटिया–दिपायल–उरै भञ्ज्याङ सडक र किमाथांक सडक निर्माण चीनसँग प्रस्ताव गरिने अनलाइनखबरसँगको कुराकानीमा उनले जानकारी दिए ।
उनका अनुसार यी आयोजना अनुदानमा बनाउन नेपालले प्रस्ताव गर्ने छ । त्यो सम्भव नभए सहुलियतपूर्ण ऋणमा अगाडि बढाउने गरी नेपालले प्रस्ताव गर्ने उनले जानकारी दिए ।
पाइपलाइनका आयोजनातर्फ चक्रपथ विस्तार, स्याफ्रुबेसी–टिमुरे सडक र केरुङ–काठमाडौं रेलमार्गलाई प्राथमिकतामा राखेर छलफल गरिने उनले जानकारी दिए ।
‘पाइपलाइनका आयोजना अगाडि बढाउन हाम्रो जोड रहन्छ । यसबाहेक नयाँ आयोजना प्रस्ताव गर्दैछौं,’ उनले भने ।
प्रतिक्रिया 4