
४ असोज, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको उद्योग, तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले ६ वटा संसदीय अनुगमन उपसमिति बनाएर १० असोजदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको हो ।
समिति बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले संसदीय अनुगमन उपसमिति बनाएर धनगढीबाट ६ असोजदेखि प्रदेश, स्थानीय सरकारसँग समन्वय गरी बजार अनुगमन गर्न लागेको बताए ।
उनले बजार अनुगमन नेपाल सरकारका सम्बन्धित निकायहरु, केन्द्रीय, प्रदेश र स्थानीय अनुगमन समितिबाट भए गरेका काम कारबाहीहरुका बारेमा स्थलगत निरीक्षण गरी जानकारी लिने बताए ।
सभापति खानले उपसमितिहरुले प्रदेशका मुख्य व्यापारिक केन्द्रहरु धनगढी, नेपालगञ्ज, सुर्खेत, मोरङ, पोखरा, विराटनगर र वीरगञ्ज लगायतका शहरहरुमा अनुगमन गर्ने उल्लेख गरे ।
यसै गरी काठमाडौं उपत्यकाका भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रहरुमा पनि अनुगमन गर्ने उनले बताए ।
अनुगमन उपसमितिले सरोकारवाला निकायहरुसँग संसदीय अनुगमन समितिले छलफल समेत गर्ने बताए ।
चाडपर्व लक्षित मूल्य वृद्धि, कालोबजारी, मिसावट र कृत्रिम अभाव लगायतका विषयमा अनुगमन प्रतिवेदन समितिलाई बुझाउने गरी बजार अनुगमन गरिने उनले बताए ।
प्रतिक्रिया 4