+
+

अपडेट : बाँकेको बाल सुधार गृहका एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ५ गते १०:१९

५ असोज, दाङ । बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बालसुधार गृहमा झडपमा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेका छन् ।

बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा घाइते भएकाहरुमध्ये केसीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठौरले जानकारी दिए ।

घाइते अन्य दश जनाको उपचार जारी छ । ती मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रमुख सिंहले बताए । घाइतेहरुको भेरी अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ । प्रहरीले सुधार गृह तोडफोड गर्ने २५ जनालाई नियन्त्रणमा लिएको छ ।

सुधार गृहमा लागु औषध, डाँकाचोरी, कर्तव्य ज्यान लगायत मुद्दाका २५४ जना छन् । उनीहरु १५ देखि ३० वर्ष उमेर समूहका छन् ।

उक्त सुधार गृहका लागि सिभिलमा १० जना प्रहरीहरुमात्र रहने गरेका छन् । उनीहरुले स्थिति सम्हाल्न नसकेपछि थप प्रहरी तैनाथ गरिएको छ । तर कानुनअनुसार बाल सुधार गृहमा बल प्रयोग गर्न नपाउने भएकाले प्रहरीले समस्या समाधानका लागि समन्वयमात्र गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् नारायण डाँगीले जानकारी दिए । ‘हामी सुधार गृह बाहिर छौं । स्थिति अहिले पनि असहज नै छ । बल प्रयोग गर्न नमिल्ने भएकाले समन्वय गर्ने काम मात्र भइरहेको छ,’ उनले भने ।

यसअघि प्रहरीले विवाद समाधानको प्रयास गर्न मानव अधिकारकर्मीको टोलीलाई पनि सुधार गृहमा बोलाएको थियो । तर स्थिति सम्हाल्न नसकेपछि उनीहरुले पनि फर्किएका छन् ।

सोही बाल सुधार गृहमा राखिएकाहरु २०७९ साल पुस १४ गते बिहान झ्यालको भेन्टिलेसन तोडेर भागेका थिए । सोही वर्षको माघ अन्तिम साता सुधार गृहमा आगजनीसमेत भएको थियो ।

यसअघि पर्साको वीरगञ्ज र भक्तपुरमा रहेका बाल सुधार गृहमा पनि तोडफोडका कारण स्थिति तनावपूर्ण बनेको थियो । बाँकेबाटै भक्तपुर र भक्तपुरबाट वीरगञ्ज लगिएकाहरुबाटै सुधार गृहमा विवाद र तनाव सिर्जना भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?