+
+

संसदमा एमाले एग्रेसिभ र अधैर्य छ : रमेश लेखक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ५ गते १३:२०

५ असोज, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा निरन्तर अवरोध भइरहँदा कामकारबाहीमा असर परेको बताएका छन् । संसदको अवरोधको विषयमा केन्द्रीय समितिले बोल्नुपर्ने उनको माग छ ।

शुक्रबार पार्टी केन्द्रीय समितिको बैठकमा संसदीय गतिविधिबारे ब्रिफिङ गर्दै प्रमुख सचेतक लेखकले संसदमा निरन्तर अवरोध हुने स्थिति बनिराखेको बताएका हुन् ।

‘प्रमुख प्रतिपक्ष ज्यादा एग्रेसिभ र अधैर्य भएर प्रस्तुत भइराख्या छ’ प्रमुख सचेतक लेखकले भने । उनले यस अगाडिको केन्द्रीय समितिको बैठकमा पनि संसदमा निरन्तर अवरोध हुँदा कामकारबाहीमा असर परेको बताएका थिए ।

शुक्रबार पनि दोहोर्‍याउँदै उनले भने, ‘संसदको चालू अधिवेशनमा ११ पटक सूचना जारी गरेर बैठक स्थगित भएका छन् ।’

लेखकले के कस्ता विषयमा संसद अवरोध भएको पनि ब्रिफिङ गरे । ६/७ वटा विषयमा बैठकमा अवरोध भएको स्मरण गर्दै उनले स-साना विषयलाई लिएर समेत बैठकमा अवरोध गर्ने प्रवृति देखा परेको बताए ।

यस सम्बन्धमा पार्टीले राजनीतिक रुपमा निर्णय गनै गरेर बोल्नुपर्ने पमुख सचेतक लेखकको आग्रह छ ।

‘संसद अवरोधका कारण संसदले गर्नुपर्ने काम सम्पादन गर्न सकिरहेको छैन । निरन्तरको अवरोधले संसदीय पद्धतिलाई कमजोर गर्छ । यसले राम्रो गर्दै भनेर केन्द्रीय समितिले बोल्दा राम्रो हुन्छ,’ उनले केन्द्रीय समितिको बैठकमा भनेका छन् ।

प्रतिनिधि सभाको चालू अधिवेशनमा पशुपतिनाथको मन्दिरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा चढाइएको जलहरीमा पित्तल मिसिएको भनी संसदमा सांसदले बोलेको विषयलाई लिएर अवरोध भएको थियो ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमणीकरण नगरेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको विषयलाइ लिएर अवरोध भएको थियो । सर्वोच्च अदालतमा यो विषय प्रवेश गरेपछि अवरोध खुलेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली भूमि लिएर नेपाललाई समुन्द्रसम्मको पहुँच दिन भारतलाई प्रस्ताव गरेको भन्दै एमालेले संसदमा अवरोध गरेको थियो ।साथै सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन भारत गएको प्रचण्डको अभिव्यक्तिलाई लिएर समेत संसदमा अवरोध भएको थियो ।

बजेटमा कोशी प्रदेशको नाम छुटेको, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा बजेटमा रकम उल्लेख नभएको भनेर पनि संसदमा अवरोध भए । पछिल्लो समय नेपाल भित्रिएको करिब ६१ किलो सुनको विषयलाई लिएर एमालेले संसदमा निरन्तर अवरोध गरेको थियो ।

यस सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सरकारको प्रतिवद्धतापछि सदनको अवरोध खुलेको थियो । प्रतिनिधि सभाको अर्को बैठक असोज १४ गतेका लागि बोलाइएको छ ।

कांग्रेस प्रमुख सचेतक रेखकले पार्टीले निरन्तर संसदमा अवरोध हुने विषयमा  राजनीतिक रुपमा बोल्नुपर्ने माग पटक पटक दोहोर्‍याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?