+
+

बागमती एमालेमा कमजोर बन्दै सर्वसहमतिको संभावना

प्रतिनिधि चयनमा देखिएको प्रवृत्ति हेर्दा समेत सर्वसहमतिबाट नेतृत्व टुंगिन गाह्रो पर्ने देखिन्छ । गएको २७ भदौमा प्रतिनिधि चयनको मिति तोकिए पनि झण्डै दश दिनसम्म अन्तिम नतिजा आउन समय लागेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ५ गते २१:१५

५ असोज, काठमाडौं । आगामी ८ असोजमा उद्घाटन हुने नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनका लागि प्रतिनिधि छनोट टुंगिएको छ ।

प्रदेश कमिटीले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतिनिधि छनोट टुंगिएको जानकारी दिएको छ ।

प्रदेश अध्यक्ष केशवराज पाण्डेले प्रदेश अधिवेशनका लागि एक हजार ८० जना प्रतिनिधि छनोट भएको जानकारी दिए । उनका अनुसार, छनोट भएका प्रतिनिधि मध्ये ३३ प्रतिशत महिला र ४० वर्ष मुनिका युवा १० प्रतिशत छन् ।

एमालेले प्रतिनिधि छनोटका लागि १२५ सदस्य बराबर एक प्रतिनिधि चयनको मापदण्ड तय गरेको थियो । दलित समुदायतर्फ भने ५० जना सदस्य बराबर एक जना प्रतिनिधि चयन भएका छन् । जनसंगठनहरु मध्ये महासंघतर्फ तीन र संगठनतर्फ दुई जनाका दरले प्रतिनिधि चयन भएका छन् ।

राजनीतिक प्रतिवेदन, निर्वाचन समिति, प्रतिनिधि व्यवस्थापन लगायत कामका लागि नेताहरुको विभागीय जिम्मेवारी तोकिएको समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

आकांक्षीको भीड

अरु प्रदेशमा जस्तै बागमतीमा पनि एमालेले प्रदेश संगठन कमिटीको संख्या झण्डै आधाले घटाउँदैछ । ४४७ सदस्यीय रहेकोमा यो अधिवेशनले ५ जना पदाधिकारीसहित २४० सदस्यीय कमिटी बनाउनेछ ।

पदाधिकारीमध्ये अध्यक्षका लागि बलियो दाबी देखिएको छ । प्रदेशको नेतृत्व गर्न पोलिटब्यूरो सदस्यहरुले नै चाहना राखेपनि अहिले ती नेताहरु पछि हटेको एक नेता बताउँछन् । ‘पोलिटब्यूरो तहबाटै प्रदेशको नेतृत्व लिनुपर्छ भनेर पनि छलफल चल्यो । तर केन्द्रीय सदस्य भन्दा तलका नेताहरु नै अध्यक्षको दाबेदार बन्ने भएपछि मनोविज्ञान बदलिएको छ’, ती नेता भन्छन् ।

यो प्रदेशमा पार्वत गुरुङ, आनन्द पोखरेल, महेश बस्नेत र गोकुल बास्कोटा पोलिटब्यूरो सदस्य छन् । पार्टीभित्र यसअघिबाटै अन्तरसंघर्षमा रहेकाले महेश र गोकुललाई नै अध्यक्षको दाबेदारका रुपमा हेरिएको थियो । तर जनप्रतिनिधिले पार्टी पदाधिकारी बन्न नपाउने नीति बनेपछि बास्कोटा स्वतः प्रतिस्पर्धाबाट अलग भए ।

अहिले बास्कोटा, मकवानपुरका कृष्ण दाहाललाई अध्यक्षको उम्मेदवार बनाउन लागि परेका छन् । २०४८ सालदेखि संसदीय अनुभव बटुलेका र पार्टीभित्र पुरानै नेतामा पर्ने दाहाल पनि कुनै हालतमा दाबी नछोड्ने अडान लिएका छन् ।

तर कैलाश ढुंगेल अथवा अहिलेकै प्रदेश अध्यक्ष केशव पाण्डे पनि अध्यक्ष बलियो दाबेदार हुन् । पूर्व प्रदेशमन्त्री ढुंगेललाई महेश बस्नेत लगायतका नेताहरुले साथ दिएका छन् ।

पाण्डे भने अहिलेको कमिटीमा काम गर्न धेरै समय नपाएकाले फेरि सर्वसहमत नेतृत्व पाउनुपर्ने तर्क गर्छन् । तर उनको चाहनाप्रति प्रदेश सचिव विजय सुवेदी समेत सहमत छैनन् । सुवेदी आफैं अध्यक्षको दाबेदार छन् ।

बागमती प्रदेशका पूर्वसभामुख सानु श्रेष्ठले पनि प्रदेश अध्यक्षमा दाबी गरेका छन् । श्रेष्ठ एमालेमा पुराना नेता हुन् । पाँचौं महाधिवेशनदेखि केन्द्रीय सदस्य रहेका उनी पोलिटब्यूरो सदस्य भइसकेका छन् । भूमि त्रिपाठी, खेम लोहनी, कृष्णभक्त पोखरेल लगायतले पनि प्रदेश नेतृत्वकै आकांक्षा राखेका छन् ।

एक नेताका अनुसार यदि मतदानबाटै नेतृत्व टुंग्याउनुपर्ने अवस्था आए आकांक्षी नेताहरुमध्ये कैलाश ढुंगेल वा केशव राज पाण्डेको कृष्ण दाहालसँग प्रतिस्पर्धा हुने सम्भावना बलियो छ । ‘पार्टीभित्र विकसित अवस्था हेर्दा सर्वसहमत नेतृत्व चुनिने संभावना कम छ’, एक पोलिटब्यूरो सदस्य भन्छन् ।

प्रतिनिधि चयनमा देखिएको प्रवृत्ति हेर्दा समेत सर्वसहमतिबाट नेतृत्व टुंगिन गाह्रो पर्ने देखिन्छ । गएको २७ भदौमा प्रतिनिधि चयनको मिति तोकिए पनि झण्डै दश दिनसम्म अन्तिम नतिजा आउन समय लागेको थियो । गएको ३ असोजमा ललितपुर महानगरबाट चयन हुने प्रतिनिधिका लागि मतदान नै भयो ।

पार्टी सदस्यहरुबीच भएको मतदानबाट खुलातर्फ १२ र महिलातर्फ ५ जना प्रतिनिधि चयन भए । खुलातर्फ १८ र महिलातर्फ सात जनाबीच प्रतिस्पर्धा भएको थियो । दलित तर्फ भने सर्वसहमत भयो ।

नेताहरुका अनुसार, अरुतिर पनि प्रतिनिधि चयन सजिलो भएन । ‘प्रतिनिधि चयनमा देखिएको होड र नेताहरुको दौडधुप हेर्दा बागमती प्रदेशको नेतृत्व मतदानबाट मात्रै टुंगिने जस्तो देखिन्छ’, बागमती प्रदेश कमिटीका एक नेता भन्छन् ।

केन्द्रीय सदस्य रचना खड्का, सहमति नजुटे लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुने अवस्थालाई पनि सहज मान्नुपर्ने बताउँछन् । ‘दुई महिने मिसन ग्रासरुट अभियानमा प्राप्त सुझाव पनि कार्यकर्ताप्रति उत्तरदायी हुनेगरी लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरिनुपर्छ भन्ने हो’, खड्का भन्छिन् ।

बागमती प्रदेशका पूर्वमन्त्री खड्का आफैं पनि प्रदेश अध्यक्षको दाबेदार हुन् । विद्यार्थी राजनीतिबाट नवौं महाधिवेशनमै केन्द्रीय सदस्य बनेकी खड्का आफूले प्रदेशको नेतृत्व पाउँदा देशभर सन्देश समेत जाने बताउँछिन् ।

‘युवालाई भूगोलमा जोडेर जानुपर्छ र त्यसले पार्टीमा युवा आकर्षण बढाउँछ भन्ने पार्टीको नीति छ । मैले प्रदेशको नेतृत्व गर्दा त्यो सम्बोधन हुन्छ’ खड्का भन्छिन्, ‘अरु प्रदेशलाई हेर्दा पनि महिला नेतृत्वमा पुग्ने संभावना न्यून देखिन्छ ।’

प्यानलगत प्रतिस्पर्धा गर्न नहुनेमा भने पार्टीभित्र बलियो मत रहेको उनको भनाइ छ । तर मतदानबाट नेतृत्व टुंग्याउने अवस्था आए स्वतः प्यानल बन्ने सम्भावना देखेरै शीर्ष नेताहरु सर्वसहमतिमा जोड दिइरहेका छन् । लुम्बिनीको नेतृत्व मतदानबाटै टुंगिएकाले बागमतीमा सर्वसहमतिको पहल सजिलो नरहेको एक नेता बताउँछन् ।

मतदानबाटै नेतृत्व टुंग्याउनुपर्ने अवस्था आउन सक्ने आँकलन गरेरै प्रदेश अधिवेशनको बन्दसत्रको तालिका सार्वजनिक गरेको छ । ‘सर्वसम्मत नेतृत्व छनोटको पहल गरिने, त्यसो नभएमा इलेक्ट्रोनिकल भोटिङ मेसिन (राम–लक्ष्मण) को माध्यमबाट मतदान गरिने’, नेतृत्व चयनको कार्यतालिकामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?