
६ असोज, काठमाडौं । श्रवण शक्ति नभएका र सांकेतिक भाषामा कुरा गर्नेहरुलाई रोजगारी पाउन निकै कठिन छ, त्यसमाथि महिलाहरूले रोजगार पाउन अतिरिक्त संर्घष गर्नुपर्छ ।
रोजगारी अभावमा यस्ता धेरै युवायुवती हेपिएको जिन्दगी बाँच्न बिवस पनि छन् । यस्तै श्रवण शक्ति नभएका महिलालाई रोजगारी दिँदै केएफसीले कलंकीमा नयाँ शाखा खोलेको छ ।
देवयानी इन्टरनेशनल नेपाल प्रालिले काठमाडौंको कलंकीमा विशेष केएफसी रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।
२३ सेप्टेम्बर अर्थात् अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा शनिबार विशेष रुपमा बोल्ने र श्रवण शक्ति नभएका महिलाहरुद्वारा सञ्चालित विशेष केएफसी सञ्चालनमा ल्याएको हो ।
‘रेस्टुरेन्टमा त्यस्ता फरक क्षमता भएका जोशपूर्ण र समर्पित महिलाहरुको टोली सम्पूर्ण रेस्टुरेन्ट व्यवस्थापन गर्न सीपहरुले प्रशिक्षित छ । यो पहल देवयानी इन्टरनेशनल नेपाल र केएफसीको सबैका लागि समान अवसरहरु सिर्जना गर्ने यात्रामा एक महत्वपूर्ण उपलब्धी हो’, देवयानी इन्टरनेशनलले विज्ञप्तिमा भनेको छ ।
केएफसी इन्डिया र नेपालका प्रमुख कार्यकारी अधिकृत रजत लुथराले विशेष रुपमा बोल्ने र श्रवणशक्ति नभएका महिलाहरुद्वारा सञ्चालित पहिलो केएफसी रेस्टुरेन्ट सञ्चालन भएकामा खुशी व्यक्त गरे ।
‘यो एक संस्थाको रुपमा देवयानी इन्टरनेशनल नेपालको लागि महत्वपूर्ण उपलब्धी हो र हामीलाई विश्वास छ विविधता र समावेशीताले हाम्रो समुदायलाई समान बनाउन मद्दत गर्दछ’, उनले भने ।
लेप्रोसी मिसन नेपालको समर्थनले विशेष केएफसी सञ्चालनका लागि विशेष टोली संयोजन गर्न सफल भएको सीईओ लुथराले बताए । आगामी दिनमा विशेष रुपमा बोल्ने र सुन्ने क्षमता नभएका व्यक्तिहरुका लागि थप रोजगारीको अवसर सिर्जना गर्ने र यस्ता रेस्टुरेन्टहरु थप गर्दै जाने देवयानी इन्टरनेशनलले जनाएको छ ।
केएफसी विश्वव्यापी चिकेन रेस्टुरेन्ट ब्रान्ड हो, जसको विश्वका १४५ देशमा २६ हजार भन्दा बढी रेस्टुरेन्ट सञ्चालन भइरहेका छन् ।
हेर्नुहोस् भिडियो
तस्वीर र भिडियो : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4