
काठमाडौं । झरना थापा निर्देशित फिल्म ‘एक भागवत र एक गीता’ दोस्रो सातामा चलिरहेको छ । रिलिजपूर्व धार्मिक संस्थाले शीर्षकमा आपत्ति जनाएपछि फिल्म चर्चामा थियो । चलचित्र विकास बोर्डको मध्यस्थतामा निर्माता र ती संस्थाबीच नाम परिवर्तन गर्ने सर्तमा सहमति जुट्यो ।
फिल्मलाई लिएर मिश्रित प्रतिक्रिया छ । खासगरी समीक्षक फिल्मको कथावाचन शैलीलाई लिएर क्रिटिकल सुनिएका छन् भने दर्शक र सेलिब्रिटी चाहिं फिल्मले उठाएको कथावस्तु मर्मस्पर्शी र उत्कृष्ट रहेको बताइरहेका छन् ।
यस्तोमा अभिनेत्री तथा टिभी प्रस्तोता रीमा विश्वकर्मा झरनाको प्रशंसामा खुलेकी छन् । कलाकार र चलचित्र बाँच्नको लागि निर्माता बाँच्न जरुरी रहेको बताउँदै रीमाले झरनाजस्ता इमान्दार मेकरलाई सेन्सर र समीक्षाको नाममा पिरोल्न नहुने उल्लेख गरेकी छन् ।
रीमा लेख्छिन्, ‘झरना थापा जस्तो इमान्दार मेकरलाई कहिले सेन्सरको नाममा त कहिले समीक्षाको नाममा पिरोलिरहने हो भने नेपाली चलचित्र व्यापार, व्यवसाय र करिअरको रूपमा विकसित हुन अर्को पचास वर्ष लाग्न सक्छ ।’
उनी अगाडि लेख्छिन्, ‘चलचित्र हेरेपछि मभित्रको कलाकारलाई कलाकार ‘झरना थापा’ को साह्रै माया लागेर आयो । कलाकार झरना थापाको कलाप्रतिको बुझाइ, लगाव र निर्माता निर्देशकको रूपमा देखाएको इमान्दारिता वास्तवमै प्रशंसनीय छ । यत्तिको नेपाली चलचित्र निरन्तर बन्नुपर्छ र झरना थापा जत्तिको निर्देशक, निर्माता टिमलाई हामीले बचाउनुपर्छ ।’
फिल्म समीक्षकले कलाको समीक्षा गर्नुपूर्व कला बुझ्न जरूरी रहेको रीमाले लेखेकी छन् । ‘कलाको भन्दा कलाकार, निर्माता र निर्देशन टोलीप्रति पक्षपाती भएर गरिएका समीक्षाको पछि नलाग्नुहोला,’ उनी लेख्छिन्, ‘राम्रा चलचित्रको मूल्यांकन गर्न हामी आफैं सक्षम छौं । मलाई त मनपर्यो ‘एक भागवत एक गीता’ ।’
प्रतिक्रिया 4