
८ असोज, सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका लागि नेपाली महावाणिज्यदूत दीपक खड्काले पदबाट राजिनामा दिएका छन् । यससँगै न्यु साउथ वेल्स राज्यमा आगामी १० अक्टुबरदेखि महावाणिज्य दूत पद खाली हुनेछ ।
नियुक्त वरिष्ठ इन्जिनीयर दीपक खड्का सन् २००८ मा न्यु साउथ वेल्स राज्यको महावाणिज्यदूतमा नियुक्त भएका थिए । उनले १५ वर्ष पद सम्हाले । अस्ट्रेलियामा सबैभन्दा बढी समयसम्म महावाणिज्यदूतको जिम्मेवारी सम्हाल्ने उनै रहे ।
सोमबार सिड्नीका कार्यालय खुले लगत्तै नेपाली समुदायका नाममा एक वक्तव्य जारी गरी महावाणिज्यदूत खड्काले आफूले पदबाट राजिनामा दिएको पुष्टि गरेका हुन् । उक्त वक्तव्यमा महावाणिज्य दूत खड्काले न्यु साउथ वेल्सका नेपाली समुदाय, नेपाल सरकार र अस्ट्रेलिया सरकारलाई आफ्नो कार्यकाल सफल गर्न सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् ।
उनले आफ्नो कार्यकालको १५ वर्षमा नेपाल अस्ट्रेलियाबीचको वाणिज्य तथा पर्यटन सम्बन्धी महत्वपूर्ण काम गर्ने अवसर आफूले पाएको र उक्त काममा नेपाली समुदाय तथा क्यानबेरास्थित नेपाली दूतवासको सहयोग भएको बताए ।
सिड्नीस्थित कन्सुलेट कर्प्समा हसिला पात्रका रुपमा परिचित खड्काले भावुक रुपमा भनेका छन्, ‘मैले मेरो जिम्मेवारीबाट अवकास लिए पनि मित्रताबाट अवकास लिएको छैन । मेरो देश र यहाँ भएका मित्रहरुलाई सहयोग गर्न सधैं तयार छु ।’
न्यु साउथ वेल्समा नेपाली समुदायको संख्या बढेकाले समस्या र सम्भावना पनि बढेको उनले बताए । अनलाइनखबर अस्ट्रेलियासँग कुरा गर्दै उनले भने, ‘न्यु साउथ वेल्समा नेपाली समुदायको संख्या बढेसँगै महावाणिज्य दूतावासको काम पनि निक्कै बढेको छ । नेपाल सरकारले अब न्यु साउथ वेल्समा ल्हासा, कलकत्ता, न्युयोर्कमा जस्तै महावाणिज्यदूतावासको स्तर वृद्धि गर्नुपर्ने अवस्था छ ।’
उनले न्यु साउथ वेल्सको महावाणिज्य दूतका रुपमा कार्य गर्दा कम्तिमा दुई हजार वटा सामुदायिक कार्यक्रममा भाग लिए र ४० हजार जति प्रशंशा पत्रमा हस्ताक्षर गरे । उनले २०१०मा इसिमोडको सहकार्यमा समाज शास्त्री टोनी हेगेनका ५० वर्ष अन्तरका फोटो प्रदर्शनी गरे, जसले नेपालको परिचय दिनुका साथै ग्लोबल वार्मिङबारे विश्व समुदायलाई सचेत गराएका थिए ।
प्रतिक्रिया 4