
गत वर्ष स्थानीय निर्वाचनको तीन दिन अगाडि मेरो श्रीमतीले काठमाडौं महानगरका मेयरका उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले गाएको र्याप गीत ‘गरीबको चमेली…’ शेयर गर्दै भनेकी थिइन्, ‘यो मान्छे त बबाल रहेछ, म यसलाई भोट दिन्छु।’ म काठमाडौं महानगरको भोटर नभएकोले बालेनको उम्मेद्वारीलाई खासै चासो दिएको थिइनँ। श्रीमतीको कारण बालेनले गाएको ‘गरीबको चमेली…’ र्याप हेरेपछि उनको व्यक्तित्व र उनले बोकेको दृष्टिकोणप्रति उत्सुकता बढायो। उनले राष्ट्रिय टेलिभिजनहरुमा दिएका केही अन्तर्वार्ता हेरें। उनको बोल्ने तरिका गज्जबको थियो। महानगरभित्रका समस्याको बुझाइ र तिनको समाधानका उपायहरु बालेनसँग रेडिमेड थिए। ३–४ वटा अन्तर्वार्ता हेरेपछि मलाई पनि लाग्यो, ‘यो मान्छेले मेयर जित्नै पर्दछ।’
त्यो दिन बेलुका घरमा सबैले बालेनलाई भोट दिने निर्णय भयो। म आफू काठमाडौं महानगरको भोटर नभएकोले यस्तो मान्छेलाई भोट दिन पाइएन भनेर खल्लो पनि लाग्यो। चुनावको दिनसम्म हाम्रो परिवार तथा साथीभाइको सर्कलबाट राम्रै संख्यामा अनिर्णित भोटहरु बालेनलाई दिने पक्का भयो। पुरानो राजनीतिक शैली र नेतृत्वबाट वाक्कदिक्क भएका सचेत काठमाडौंवासीको लागि बालेन एउटा आशालाग्दो विकल्प बने।
चुनावको अघिल्लो दिन आमाले स्याङ्जाबाट फोन गरेर सोध्नुभएको मलाई अहिले पनि याद छ, ‘हामीले पनि बालेनलाई लौरोमा भोट हाल्न पाइन्छ नि कान्छा?’ बालेनले जित्ने पक्का जस्तै भए पनि चुनाव प्रतिस्पर्धी हुने अनुमान थियो तर बालेनले ठूलो मार्जिनले जिते। मेयरमा बालेन अनि उपमेयरमा सुनिताले जित्नु हामी काठमाडौं बस्नेहरुको लागि मात्र नभई देशभरि नै राजनीतिक विद्रोहको सन्देश थियो।
बालेनको जितले राजनीतिमा नयाँ सम्भावनाको ढोका खोलिदियो। बालेनको जितको सन्देश माओवादीको दशवर्षे सशस्त्र विद्रोह भन्दा पनि शक्तिशाली थियो। काठमाडौं अब नमूना महानगरपालिका बन्न सक्छ भन्ने उत्साहका साथ विगत दुई दशकदेखि विभिन्न सामाजिक तथा राजनीतिक अभियानमा सहकार्य गरेका साथीहरु महानगरको टिमसँग जोडिन पुग्नुभयो। कसैको दबाब र प्रभाव विना काम गर्न सक्ने युवा मेयरको नेतृत्वले पक्का पनि काठमाडौं महानगरभित्र सुधारका धेरै काम हुनेछन् भन्ने विश्वास थियो तर केही साथीभाइ बालेनको काम गर्ने शैलीसँग असन्तुष्ट बनेर टिमबाट बाहिरिन पनि पुगे।
बालेन अहिले पनि सबैभन्दा चर्चित निर्वाचित जनप्रतिनिधि हुन्। हालसालै टाइम म्यागजिनले उनलाई विश्वका उदीयमान १०० जना नेताहरुको सूचीमा समेटेको छ। बालेनले महानगरलाई सफल नेतृत्व दिनुपर्दछ भन्ने कुरामा लाखौं नेपालीको शुभेच्छा छ। बालेनको सफलता र असफलतासँग नेपाली राजनीतिले तय गर्ने भोलिको बाटो जोडिएको छ। बालेन सफल हुँदा आम नागरिकको लोकतन्त्र प्रति विश्वास र आस्था बढेर जानेछ तर उनको असफलताले आम नागरिकहरुमा लोकतन्त्रप्रति निराशा बढाउने छ।
हुन त बालेनको सफलता-असफलता अहिले नै मूल्यांकन गर्नु अलि हतार हुनेछ तर पनि विगत १६ महिनामा उनले देखाएको काम गर्ने शैली हेर्दा हिजोको दिनमा चुनाव अगाडि अन्तर्वार्ताहरुमा महानगरका समस्या र त्यसका समाधानका उपायहरु देखाउने मेयरको उम्मेद्वार बालेन र निर्वाचित बालेनमा धेरै विरोधाभास देखिन थालेका छन्। मेयर बालेनसँग काठमाडौंवासीले बोकेका अपेक्षा तथा बालेनले मेयर बनिसकेपछि बोकेको महत्वाकांक्षामा विस्तारै फरक दृश्यहरु देखिन थालेका छन्।
बालेनको आफूलाई प्रश्नभन्दा माथि राख्न रुचाउने प्रवृत्ति देखिन्छ। परिणाममुखी राजनीतिमा ध्यान दिनुभन्दा लोकरिझाइँबाट नै राष्ट्रिय राजनीतिमा स्थापित हुन सकिने मनोविज्ञान बालेनमा विकसित हुँदै आएको छ। छिमेकी राष्ट्रहरु विरुद्ध चर्का कुरा गरेर राष्ट्रवादी नेताको रुपमा जनमत बटुल्न खोज्नु लोकरिझाइँको मनोविज्ञान हो। लोकरिझाइँको चक्रव्यूहमा रुमल्लिएको राजनीतिमा बालेन जस्तो युवा नेतृत्व समाहित हुनु भनेको हुर्कंदो लोकतन्त्रलाई दुर्घटनाको जग बलियो बनाउने काम मात्र गर्नु हो।
नेपाली समाजमा अहिले पनि कुनै शक्तिशाली व्यक्तिको उदयबाट नै हाम्रा समस्या समाधान हुन सक्छन् भन्ने मनोविज्ञान बलियो देखिन्छ। यसलाई बुझेका बालेनले आफूमा त्यो शक्तिशाली व्यक्ति बन्न सक्ने सम्भावना देखेका छन्।
बालेनलाई निर्वाचनको समयमा सघाएका र उनमा विकसित मनोविज्ञानलाई नजिकबाट चिनेका अभियन्ताहरुले केही महिनादेखि काठमाडौंमा चमेली अभियान सुरु गरेका छन्। विशेषगरी सडक मजदुरहरु जसले सार्वजनिक ठाउँ अनि सडकपेटीमा अनौपचारिक व्यवसाय गरेर आफ्नो जीविकोपार्जन गर्दै थिए उनीहरुको पक्षमा चमेली अभियान संगठित भयो। काठमाडौंका सडकपेटीहरुमा व्यवसाय गर्दै आएका २० हजारभन्दा बढी साना किसिमका व्यवसायीहरुलाई व्यवस्थित गरेर उनीहरुको व्यवसायलाई निरन्तरता दिनुपर्दछ भन्ने चमेली अभियानको प्रमुख माग हो।
चमेली अभियान वास्तवमा बालेनको गरिबको चमेली गीत बालेनलाई नै सुनाउने सुरमा सुरु भयो। नेतृत्वले गरिबको पक्षमा उभिन क्रूरता होइन, करुणा देखाउनुपर्दछ भन्ने चमेली अभियानको आवाज हो। काठमाडौं महानगरले सुरु गरेको सडकपेटी तथा सार्वजनिक स्थानमा जथाभावी ढंगले व्यवसाय गर्न नपाउने नीतिले २० हजारभन्दा बढी व्यवसायीहरुको रोजीरोटीको बाटो बन्द गरिदियो।
स्वरोजगारी सिर्जना गरेर आफ्नो र परिवारको जीविकोपार्जन गरेकाहरुलाई विना विकल्प विस्थापित गरिनु अमानवीय तथा क्रूर निर्णय हो भन्ने चमेली अभियानको मत हो। महानगरले करुणाभाव राख्दै निश्चित मापदण्ड र नीतिनिर्माण गरेर सडक व्यवसायीहरुलाई विस्थापित नगरी व्यवस्थापन गर्न सक्छ भन्दै चमेली अभियान भारत, थाइल्याण्ड जस्ता मुलुकहरुको उदाहरणबाट नेपालले सिक्नुपर्दछ भन्ने आवाज मेयर बालेनलाई सुनाउन प्रयासरत छ।
काठमाडौं महानगरको बागदरबार अगाडिबाट सुरु भएको चमेली अभियानलाई अहिले राष्ट्रिय सभाको बाहिरपट्टि ई:, चाउ, रक्षा लगायत युवाले सडकमा उभिएर निरन्तरता दिइरहेका छन्। आठ दिनदेखि सामान्य प्लेकार्ड बोकेर २४सै घण्टा निरन्तर सडकमा उभिएर यी युवाले महानगरलाई प्रश्न गरिरहेका छन्, ‘गरिबको चमेली बोल्दिने कोही छ र ?’ तर प्रश्नको घेराबाट आफूलाई माथि सम्झने बालेनलाई युवा अभियन्ताहरुले आफूप्रति सोझ्याएका प्रश्नहरुप्रति कुनै चासो छैन। उनले लोकरिझाइँको झ्यालबाट आफ्नो अगाडिको बाटो नियाल्न थालिसकेका छन्।
प्रतिक्रिया 4